समाजवादी विद्यार्थी फोरमको माग : पूर्ण समानुपातिक स्ववियू निर्वाचन

काठमाडौं : संघीय समाजवादी फोरम, नेपालनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरम, नेपालले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक प्रणालीबाट हुनुपर्ने मागसहित देशभरका क्याम्पस प्रशासनहरुमा ज्ञापनपत्र बुझाउन सुरु गरेको छ ।
संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत स्ववियु निर्वाचन हुने देशभरका विभिन्न क्याम्पसहरुमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेर मात्रै निर्वाचन गर्न दबाव दिँदै ज्ञापनपत्र बुझाउन थालिएको समाजवादी विद्यार्थी फोरमका केन्द्रीय उपाध्यक्ष सुवास लाबुङले जानकारी दिए ।
अभियान अन्तर्गत बिहीबार झापाको दमक बहुमुखी क्याम्पस, मोरङको उर्लाबारी बहुमुखी क्याम्पस, भोजपुरको भोजपुर बहुमुखी क्याम्पस, सुनसरीको महेन्द्र बहुमुखी क्याम्पस लगायतमा ज्ञापनपत्र बुझाइएको संगठनका उपमहासचिव विशाल आङ्देम्बेले बताए ।
विद्यार्थी फोरमले पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि कडा आन्दोलन गर्ने निर्णय गरिसकेको छ । शुक्रबारसम्ममा लिम्बुवान लगायत अधिकांश प्रदेशअन्तर्गतका क्याम्पसहरुमा ज्ञापनपत्र बुझाइने संगठनले जनाएको छ ।
यसैबीच बिहीबार नै समाजवादी विद्यार्थी फोरमलगायत वैद्य माओवादी निकट अखिल क्रान्तिकारी विप्लव माओवादी निकट विद्यार्थी संगठनलगायतबीच पूर्ण स्ववियु निर्वाचनका लागि संयुक्त आन्दोलन गर्ने तय भएको छ । शुक्रबार नै त्रिभुवन विश्वविद्यालयमा पुनः ज्ञापनपत्र बुझाइने निर्णय भएको उपाध्यक्ष लाबुङले बताए ।
स्ववियु निर्वाचन तयारीका लागि जिल्लास्तरीय अभियानसमेत सञ्चालनको तयारी भइरहेको विद्यार्थी फोरमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार