नियात्रा : चुलो ढुङ्गो जस्तो देखिने स्टोनहेन्ज

  विरही काइँला
119 Shares

टाडाबाट झट्ट हेर्दा भोज-भतेरका लागि चुलो-ढुङ्गो जमिनमा गाडिएको जस्तो देखिने यी स्टोनहेन्ज विश्वको सबैभन्दा प्रतिष्ठित पुरातात्विक स्थलहरु मध्येको एक हो ।

दक्षिण इङ्गल्याण्डको सालिसबरी मैदानमा रहेको  प्रागैतिहासिक कालमा बनाइएका विशाल ढुङ्गाका संरचनाहरुले विस्मय र मोहलाई प्रेरित गर्दछ र नै बेलायत घुम्न आउने प्रायजसो पर्यटकहरु स्टोनहेन्जलाई नहेरीकन फर्कन्दैनन् । बेलायतको धरातलमा पाइला टेकेको भोलिपल्ट नै हामी पनि स्टोनहेन्ज हेर्न विल्टशायर काउन्टीमा पुग्यौं ।

स्टोनहेन्ज घुमाउने जिम्मा बर्मिंघमका प्रतिष्ठित अधिवक्ता सुश्री मोनिका हुमागाईले लिएकी रहेछिन । यसको लागि मिनी बसको बन्दोबस्तसँगै ऐतिहासिक सहर सालिसबरीबाट १० माइल उतरमा अवस्थित स्टोनहेन्जमा प्रवेश गर्नका लागि टिकट अनलाइन बुक गरिएको रहेछ । वयस्कको लागि करिव २५ देखि २८ पौण्ड सम्म प्रवेश शुल्क लाग्ने स्टोनहेन्ज बिहान ९:३० देखि बेलुका ५ बजे सम्म खुला रहन्छ ।

बर्मिंघमको यार्लीदेखि हामी (युयु, माङगेन, दिपक, आर्य, अमूल्य र म) ६ जना र हामीसँग घुम्न जानेहरु (गोकर्ण, गीता, विज्ञान, मोनिका, मनिसा, सुमन, सुनिता, स्वर्णिम र आशिष) ९ जना गरी  जम्मा १५ जनाको टोली बसमा चड्यौं । लगातार गुडेको  बसले लगभग साडे दुई घन्टापछि विल्टशायरको सालिसबरी  बस बिसाउनीमा पुरायो । त्यहाँबाट स्टोनहेन्ज टुर बसमा चढ्नु पर्दो रहेछ ।

भिजिटर सेन्टरको प्रवेश द्वारको भित्रपट्टीबाट चढेको स्टोनहेन्ज टुर बसले  स्मारक नजिक सम्म पुरायो । हामी सालिसबरी मैदानको स्टोनहेन्ज भएतिर लाग्छौं । सन् १९८६ देखि यूनेस्कोको सम्पदा सूचीमा रहेको स्टोनहेन्जलाई प्राचीन स्मारक तथा पुरातात्विक क्षेत्र ऐन १९७९ (ऐ) र स्टोनहेन्ज नियमावली १९९७ अन्तर्गत संरक्षण गरिएको छ ।

ढुङ्गाहरू टाडाबाट देखिन्थे । यी ढुङ्गाहरु १.२ माइल सम्म फैलिएको छ । स्टोनहेन्ज शायद विश्वको सबैभन्दा प्रसिध्द प्रागैतिहासिक स्मारक हो । यसको निर्माण धेरै चरणमा भयो, पहिलो स्मारक एक प्रारम्भिक हेन्ज स्मारक थियो जसको निर्माण लगभग ५,००० वर्ष पहिले भएको थियो । दोस्रो अदितीय पत्थरको घेरा नवपाषणकालको उत्तरार्धमा लगभग २,५०० ईसापूर्व बनाइएको थियो । यही समयमा यस स्थलको जग बसालिएको थियो, जुन पछि स्टोनहेन्ज बन्यो ।

स्टोनहेन्जमा दुई प्रकारका ढुङ्गाहरु प्रयोग गरिएको छ । मेगालिथिक भनेर चिनिने विशाल ढुङ्गाहरु औसत तौल २५ टन छ । तीमध्ये सबैभन्दा ठूलो ढुङ्गा ग्रेट ट्रिलिथोनको उचाइ जमिन मुनिको भाग समेत जोड्दा लगभग ३० फिट छ । तर जमिनमाथि देखिने भाग औसत १३ देखि २४ फिट सम्मको  छ । यी ढुङ्गाहरुलाई सार्सेन ढुङ्गा अनि सार्सेन ढुङ्गाहरुको बीचमा राखिएको २ देखि ५ टन तौलका ढुङ्गाहरुलाई ब्लूस्टोन ढुङ्गा भनिन्छ । सालिसबरीमा मात्र ५२ वटा सार्सेन ढुङ्गाहरु छन । यी ढुङ्गाहरु लगभग ३२ किलोमिटर टाडा मार्लबरो डाउन्सबाट ल्याइएको थियो । विज्ञहरुको अनुमान अनुसार सार्सेन ढुङ्गाहरु लग रोलर प्रणालीद्वारा स्टोनहेन्ज सम्म ढुवानी गर्न कम्तिमा एक हजार मानिसहरुलाई दश वर्ष लागेको थियो ।

ब्लूस्टोन ढुङ्गाहरु वेल्सको प्रेसेली हिल्सबाट लगभग २२५ किलोमिटर टाडा स्टोनहेन्जको साइटमा ल्याइएको थियो ।  वर्तमान स्टोनहेन्जमा  ४३ वटा ब्लूस्टोन ढुङ्गाहरु चिनिएका छन, जसमध्ये ३२ वटा मात्र जमिन माथि स्पष्ट देखिन्छन । ऐतिहासिक रुपमा यी ढुङ्गाहरुको संख्या ८० सम्म रहेको हुनसक्ने पुरातत्वविदहरुको अनुमान छ । यी बाहेक स्टोनहेन्जको बीच भागमा उत्तानो परेको अवस्थामा अल्टर स्टोन  नामले चिनिने औसत ६ टन तौलको एउटा ढुङ्गा पनि छ । यो ढुङ्गा सार्सेन र ब्लूस्टोन भन्दा फरक छ । अल्टर स्टोन  पुरानो रातो बालुवा ढुङ्गाबाट बनेको हुन्छ र यसमा अभ्रकको मात्रा बढी हुन्छ । यसै कारण यसलाई घाम लाग्दा अलिक चमक दिने  खालको देखिन्छ । इनिगो जोन्सले सन् १९२० मा स्टोनहेन्जको पहिलो विस्तृत नक्सा तयार गर्ने क्रममा यो ढुङ्गालाई अल्टर अर्थात पूजा गर्ने वेदीको रुपमा व्याख्या गरेका थिए ।

यो ढुङ्गा स्टोनहेन्जको ठीक केन्द्रमा तेर्सो परेर रहेको हेर्दा प्राचीन रोमन शैलीको वेदी जस्तो देखिने भएकोले जोन्सले यी नाम दिएका हुन । पुरातत्वविदहरुले यसलाई आधिकारिक रुपमा स्टोन ८० भनेर चिन्ने गर्छन । अल्टर स्टोन उत्तर-पूर्वी स्कटल्याणडको ओर्केडियन बेसिनबाट ल्याइएको हो । सन २०२४ मा गरिएको एउटा महत्वपूर्ण भूगर्भीय अनुसन्धानले यो ढुङगा वेल्सबाट नभइ ७५० किलोमिटर (४६६ माइल) भन्दा टाढामा रहेको स्कटल्याणडबाट ल्याइएको पुष्टि गरेको छ । यो ढुङ्गामा रहेका खनिजहरुको एज फिंगरप्रिन्ट स्कटल्याण्डको चट्टानसँग मेल खाएपछि यसको वास्तविक स्रोत पत्ता लागेको हो ।

यति टाढाबाट यी ढुङ्गाहरु ल्याउनको पछाडि यिनको आध्यात्मिक वा औषधीय महत्व रहेको विश्वास गरिन्छ ।

सामान्य भ्रमणका समय यी ढुङ्गाहरुलाई छुन वा नजिकमा जान पाइन्दैन । पर्यटकहरुले निश्चित गरिएको बाटोबाट अवलोकन गर्नु पर्छ । यदि पर्यटकहरु ढुङ्गाहरुको बीचमा जान चाहेमा विशेष स्टोनहेन्ज सर्कल एक्सेस टिकट लिनुपर्ने हुन्छ, जुन बिहान सबेरै वा बेलुकीको समयमा मात्र उपलब्ध हुन्छ । वर्षभरि यो स्मारकको घेराभित्र जान प्रतिबन्ध भएपनि गृष्म र शीतकालीन संक्रान्तिको समय सर्वसाधारणलाई ढुङ्गाहरु भएकै ठाउँमा जान र छुन दिइन्छ । गृष्म संक्रान्तिको दिन  हजारौंको संख्यामा मानिसहरु भेला हुन्छन भने जाडोको समयमा अलिक कमको उपस्थिति रहन्छ । आधुनिक डुइड र प्यागनहरु परम्परागत सेतो लुगा लगाएर आउँछन । उनीहरुले सूर्योदयको समयमा मन्त्र उच्चारण गर्ने,शंख वा विशेष बाजा बजाउने र प्रकृतिको पूजा गर्ने गर्छन । मानिसहरु ड्रम बजाउने, बाँसुरी बजाउने,गीत गाउने र सँगै नाचेर रातभर जाग्रत बस्छन । यहाँ एक प्रकारको महोत्सव जस्तै वातावरण हुन्छ । जो मानिस प्रत्यक्ष जान सक्दैनन, उनीहरुका लागि इंगलिश हेरिटेजले अनलाइन लाइभस्ट्रिमको व्यवस्था गर्छ,जसलाई विश्वभरबाट लाखौँले हेर्ने गर्छन । सम्पदाको संरक्षणकालागि यहाँ मदिरा सेवन गर्न,ठूला म्युजिक सिस्टम बजाउन र ढुङ्गामा चढ्न पूर्ण प्रतिबन्ध लगाइएको हुन्छ । यो उत्सवले हजारौं वर्ष पुरानो परम्परा र आधुनिक मानिस बीचको सम्बन्धलाई अझै जीवन्त राखेको छ।

स्टोनहेन्जको मूल संरचनामा ठाडो र तेर्सो ढुङ्गाहरुको दुई तरिकाले व्यवस्था गरिएको छ । बाहिरीको घेरामा ३० वटा ठाडो ढुङ्गाहरु थिए, जसको माथि ३० वटा तेर्सो ढुङ्गाहरु जोडेर एउटा पूर्ण गोलाकार बनाइएको थियो । भित्रीभागको बीचमा घोडाको टाप आकारमा  ५ वटा स्वतन्त्र संरचनाहरु थिए । प्रत्येक संरचनामा २ वटा ठाडो ढुङ्गा र त्यसको माथि १ वटा तेर्सो ढुङ्गा राखिएको थियो । यसलाई ट्रिलियन भनिन्छ ।

स्टोनहेन्जको मुख्य घेराभन्दा बाहिर उभ्याइएको सबैभन्दा ठूलो सार्सेन ढुङ्गाको नाम हील स्टोन हो । कुनै आकार नदिइएको प्राकृतिक रुपको ढुङ्गाको तौल करिब ३० मेट्रिक टन छ । वर्षको सबैभन्दा लामो दिन (जुन २१)-मा सूर्योदय हील स्टोनबाट हुन्छ । सूर्यको पहिलो किरण हील स्टोनको ठीक माथिबाट सिधै स्टोनहेन्जको बीच भागमा पर्छ । वर्षको सबैभन्दा छोटो दिन (दिसम्बर २१)-मा सूर्यास्त हुँदा सूर्यका किरणहरु स्टोनहेन्जका दुई वटा ठूला ढुङ्गाहरुको बीचबाट छिर्छ ।

धेरै पुरातत्वविद्हरुका अनुसार प्राचीन मानिसहरुका लागि सूर्योदय भन्दा पनि यो शीतकालीन सूर्यास्त बढी महत्वपूर्ण थियो ।  अनुसन्धानकर्ताहरुले स्टोनहेन्जले ३६५.२५ दिनको सौर्य पात्रोको रुपमा काम गर्ने दाबी गरेका छन । उनीहरुको भनाइ अनुसार स्टोनहेन्जको बाहिरी घेराका ३० वटा सार्सेन ढुङ्गाहरुले महिनाका ३० दिनहरुलाई जनाउँछन भने भित्रका अन्य ढुङ्गाहरुले अतिरिक्त ५ दिन र प्रत्येक ४ वर्षमा आउने लिप ईयर ट्रयाक गर्न मद्त गर्दछ ।

खगोलशास्त्रीहरुको भनाइ अनुसार स्टोनहेन्ज केवल ढुङ्गाको एउटा थुप्रो मात्र नभएर यो अत्यन्तै सठीक खगोलीय वेधशाला पनि हो । सूर्य  बाहेक स्टोनहेन्जको चन्द्रमासँग पनि गहिरो नाता छ । सामान्यतया चन्द्रमा हरेक महिना आकाशको एक निश्चित दायराभित्र उदाउने र अस्ताउने गर्छ । तर यो स्ट्यान्डस्टिलको समयमा चन्द्रमा क्षितिजको अति उत्तर र अति  दक्षिण विन्दुबाट उदाउने र अस्ताउने गर्छ । यस समयमा चन्द्रमा आकाशमा सूर्य भन्दा पनि माथिल्लो विन्दुसम्म पुग्न सक्छ वा एकदमै तल झुकेको देखिन्छ ।

स्टोनहेन्जको स्टेसन स्टोन्स भनिने ४ वटा ढुङ्गाहरुले यही चन्द्रमाको विशेष स्थितिलाई जनाउँछ । यो १८.६ वर्षमा एक पटक हुने दुर्लभ घटना हो । स्टोनहेन्ज जस्तो प्राचीन संरचना यही खगोलीय घटनालाई ध्यानमा राखेर बनाइएको विश्वास गरिन्छ ।

केही वैज्ञानिकहरुका अनुसार ५६ वटा ओब्रे होलको प्रयोग गरेर सूर्य र चन्द्र ग्रहणको भविष्यवाणी समेत गरिन्थ्यो । यी तथ्यहरुले देखाउँछन कि ५,००० वर्ष अघिका मानिसहरुलाई अन्तरिक्ष र समयको बारेमा अचम्मको ज्ञान थियो ।

स्टोनहेन्जका ढुङ्गाहरुको बारेमा बेलायतका दुई विश्वप्रसिध्द विज्ञहरू प्रोफेसर टिमोथी डार्भिल र ज्योफ वेनराइटले प्रस्तुत गरेका सिदान्तले यो स्मारक तीर्थयात्रा र उपचारको स्थल थियो । स्टोनहेन्जमा पहिलो पटक यी ब्लूस्टोन ढुङ्गाहरु ल्याउनुको पछाडि यिनको आध्यामिक वा औषधीय महत्व रहेको विश्वास गरिन्छ । ब्लूस्टोनहरुमा विशेष शक्ति हुने विश्वासका कारण बिरामीहरु निको हुनका लागि पनि यहाँ आउथे । उत्खनन क्रममा ब्लूस्टोनका साना टुक्राहरु प्रशस्त मात्रामा फेला परेका छन । ब्लूस्टोनहरु ज्वालामुखी चट्टान हुन । विज्ञहरुको अनुसार मानिसहरुले यी ढुङ्गाका टुक्राहरुलाई ओखती वा बुटीको रुपमा रोग निको पार्न वा सुरक्षाका लागि साथमा राख्ने गर्दथे ।

एउटा सिदान्तले सुझाव दिन्छ कि स्टोनजेन्जलाई ढुङ्गे युगको चिहान स्थल र मृतकहरुको स्मारकको रुपमा प्रयोग गरिएको थियो । औब्रे होल भनेर चिनिने साइट वरिपरिका प्वालहरुमा जलेको अवशेषहरु फेला परेका थिए, जहाँ पहिले साना ढुङ्गाहरु खडा थिए । उत्खनन कार्यमा यहाँ लगभग ५९ वटा शवदाहका निक्षेपहरु भेटिए । सम्भवत १५० मानिसहरु मूल स्टोनहेन्जमा दफनाइएको थियो । यो ब्रिटिश द्वीप समूहका सबैभन्दा ठूलो उत्तर नवपाषण चिहानघारी थियो ।

स्टोनहेन्जको रहस्यमय कथाहरु यति मात्र होइन, अरु पनि छन । १२ औं शताब्दीको किंवदन्ती अनुसार राक्षहरुले आयरल्याण्डको एउटा पहाडमा स्मारक निर्माण गरेका थिए । एकजना मर्लिन नाम गरेका जादुगरले आफ्नो जादुइ शक्तिले त्यो स्मारकलाई इङ्गल्याणडमा सारेका थिए ।

अर्को सिदान्त भन्छ कि ढुङगाहरु रोमन मन्दिरको भग्नांवशेष थिए । कोही तर्क गर्छन स्टोनहेन्ज एलियनहरुको लागि अन्तरिक्ष यान अवतरण क्षेत्र हो ।

स्टोनहेन्ज वास्तवमा के हो ? कसैलाई थाहा छैन । यो के का लागि बनाइयो भन्ने प्रश्नले त शताब्दीयौंदेखि मानिसहरुलाई अलमल्ल पारेका छन । आज सम्म पनि स्टोनहेन्जको रहस्य नखोलिनुले भ्रमणलाई अझ रोचक र रमाइलो बनाएको छ ।

१६ औं शताब्दीमा स्टोनहेन्ज एन्ट्रोबस परिवारको हातमा थियो ।  एन्ट्रोबस परिवारको अन्तिम हकदारको मृत्यु भएपछि स्टोनहेन्जलाई सन १९१५ मा लिलामीमा राखिएको थियो । सर सेसिल हर्बट एडवर्ड चबले आफ्नी पत्नीका लागि उपहार स्वरुप यो स्मारक ६,६०० पौण्डमा खरिद गरेका थिए । सर सेसिल  हर्बट एडवर्ड चबले तीन वर्षपछि २६ अक्टुबर १९१८ मा यो ब्रिटिश सरकारलाई उपहार स्वरुप प्रदान गरे । उनले  यो स्मारक जनताको साझा सम्पति हुनुपर्छ भन्ने ठानेर सरकारलाई हस्तान्तरण गरेका थिए । यो ऐतिहासिक दानका लागि सेसिल चबलाई सरकारले सर को उपाधि दिएर सम्मान गरेको थियो ।

अहिले स्टोनहेन्जको स्वामित्व बेलायती राजसंस्थासित छ, र यसको रेखदेख इंगलिस हेरिटेजद्वारा गरिन्छ । स्टोनहेन्ज आसपासका घासे जमिन नेशनल ट्रस्टको जमिन हो । यसलाई संरक्षण गरी घासे मैदान पुर्नश्थापित गर्न ट्रस्टले सन् १९२७ देखि जमिनको अधिग्रहण कार्य सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार