
नरेन्द्र नाथ भट्टराई
म आगो हुँ—
राप, ताप र अडिग संकल्पबाट बनेको।
जहाँ विलम्ब पराजय हो,
गति स्वयं अस्त्र हो।
म बोल्दा शब्दहरू आगो बनेर उठ्छन्,
आराममा थन्किएका विचारहरू
सुविधाजनक हैसियत जोगाउन
तर्क खोज्दै भाग्छन्।
म माटोबाट उठेको हुँ—
तर अब माटोले मेरो सीमा तय गर्दैन,
समुद्र मेरो मैदान,
जहाँ छाल अभ्यास र शक्ति हो, डर होइन,
गहिराइ बाधा होइन, चुनौती हो।
अब मानिस
किनारामा उभिएर इतिहास हेर्दैन—
हाम फाल्छ।
म आगो हुँ—
सन्तुलनको गीत होइन,
गति बनाउने साहित्य।
लेखन अब शान्त आश्रय होइन,
अग्रपङ्क्तिको अस्त्र हो।
कविता सुन्दर भएर होइन,
शक्तिशाली भएर बाँच्छ।
भविष्य तातो छ,
काँचो पनि छ,
जो यो ताप सहन सक्दैन,
पग्लन्छ।
विकास अब कल्पनाको पछि दौड्दैन—
कल्पनासँगै दौडिन्छ।
कल्पना थुन्नेहरूलाई समयले आफैँ जलाउँछ।
म आगो हुँ—
यसकारण प्रतीक्षा गर्दिन,
दिशा दिन्छु।
सभ्यता ढुङ्गाबाट होइन,
ऊर्जाबाट उठ्छ।
साहित्य स्मृतिको सङ्ग्रह होइन,
भविष्यको घोषणा हो।
यहाँ सम्झौता छैन,
शिष्टाचार छैन,
छ त ऐतिहासिक स्पष्टता मात्र।
म आगो हुँ—
व्याख्या गर्ने कुरा होइन, अनुभूतिको मार्ग।
भोलि यही तापमा पुरानो संसार ढल्नेछ,
यही रापमा नयाँ संसार उभिनेछ।


















































