
१. सुन सुन हे दाजुभाइ दिदीबहिनी सुन
भन्दैछुँ कथा कलियुगको सवाइ कहन्छुँ सुन
सत्य, त्रेता, द्वापर, कलि सृष्टिको चार भाग
सिद्धिदैंछ भन्छन् आयू अन्तिम हो रे कलियुग
२. दुनियाँमा चल्छ भन्थे विज्ञानको राज
कताग यो विज्ञानको चमत्कार त्यो आज
सत्य असत्य छ यहीँ नपाल्नु भ्रम मनमा
कलियुगमा यमराज भै भयो कोरोनाको जन्म
३. एकै गाउँ एकै शहर एकै देशमा होइन
छायो सारा संसारमहा छोड्न्या कसैलाई होइन
अम्रिका, इटली, जापान, फ्रान्स नेपाल, भारत, चीन
कोरोनाको कहर जगतमा छाउँदैछ दिनदिन
४. न चिन्छ धनी गरीब उसले न चिन्छ उच निच
लैजाउँ भन्छ उपर यो सम्झ्यो काल पस्यो वीच
चिन्दैन छुट्टै राज्य यसले जान्दैन देशको सीमा
मान्छेसँग दुश्मनी छ यसको आइपुग्छ मझेरीमा
५. न चिन्छ राजा महाराजा यसले सुनको मुकुट लाउन्या
न चिन्छ जहाज सयर गरी संसार भरी धाउन्या
मन्त्री, प्रधानमन्त्रीवीच पनि मच्चाउँछ कोकोहोलो
जलबाट वायुबाट पनि सल्किन्या कस्तो अनौठो यो
६. कोरोनाको राज चल्यो जहीँतहीँ कतै
मार्न थाल्यो संसारभरी छोडेन कहीँ कतै
शान्त र स्थीर भै बस्नु दिंदैछ चेतावनी
चुलबुल गरे मानव चोला यसले भन्दैछ मेटाउनी
७. घमण्ड र रिस राग नराख्नु मनमा तिमी
जुनी पाइन्न वैभवताले न पाइन्छ चोला किनी
न फुट्छ धर्ती वम बारुदले न सिद्धिन्छ तीनै लोक
तर पनि लालचको मनुज किन यति धेरै भोक
८. न लाग्छन् काम मिसाइलहरु न लाग्छन् अणु बम
मान्छे बाँचे पो फुर्ती लाउँछौ न बााचे भन के काम
वंश बाँचे मानवको सीमा हुन्छ देशको
वंशै नरहे भू–मण्डलमा जित्छौ तक्मा कुन रेशको
९. जल, थल, नव मण्डल सबको साझा हो मान्नु
प्रकृतीलाई प्रहार गरे प्रलय निम्तिन्छ जान्नु
तेरो मेरो हुन्न भव सागर तेरो मेरो हुन्न धर्ती
तेरो मेरो भनी झगडिदा रिसाउँछिन् साह्रै प्रकृति
१०. दुनियाँमा जब हुन थाल्छ पापीहरुको राज
उद्धार गर्न आउलान् कल्की धर्मीहरुको माझ
मानव भै बाँच्नु छ भने बचाउ मानवियता
संयम भै मानव चोलाको गर उपयोगिता
-रचना/संगीत : रेशम चौधरी


















































