जेन-जी आन्दोलन : इलाममा तोडफोड र आगजनीमा संलग्न १५ जना पक्राउ (नामावली)

  नयाँ बुलन्द
329 Shares

इलाम : जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते इलामका विभिन्न सरकारी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले इलामबाट १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मङ्सिर २० र २१ गते  जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका ती व्यक्तिहरुलाई जिल्ला अदालत इलामबाट अनुसन्धानका लागि म्याद थप गरि जिल्ला प्रहरी कार्यालय इलामले आज (मङ्गलबार) सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इलाम नगरपालिका-७ का ५२ वर्षीय कमलकुमार साह हलुवाई, इलाम नगरपालिका-६ का २९ वर्षीय विशाल नौभाङ, इलाम नगरपालिका-७ का ४० वर्षीय पवित्तर मल्लिक, इलाम नगरपालिका-९ का ३९ वर्षीय होमबहादुर खवास, फाकफोकथुम गाउँपालिका-३ का २३ वर्षीय आदर्श राई, इलाम नगरपालिका-४ का ३६ वर्षीय यादव तिवारी र इलाम नगरपालिका-६ का ३० वर्षीय अर्जुन त्रिखत्री रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सन्दकपुर गाउँपालिका-२ की २५ वर्षीय अन्जु राई, इलाम नगरपालिका-१ का ३० वर्षीय सागर सङ्ग्रौला, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ का ३२ वर्षीय तेजकुमार विश्वकर्मा, इलाम नगरपालिका-१२ का २८ वर्षीय अनिष राई, इलाम नगरपालिका-५ का २८ वर्षीय मोहनकुमार लिम्बू, झापाको पृथीनगरका ४३ वर्षीय सुरज गुरुङ, इलाम नगरपालिका-९ का ४३ टीकाराम चौहान र ३६ वर्षीय सबिन राईलाई पक्राउ गरी अनुसन्धान सुर गरिएको जिल्ला प्रहरी इलामका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक (डिएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए ।

आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले इलाम नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । त्यस्तै जिल्ला निर्वाचन कार्यालय, करदाता सेवा कार्यालय र चोकबजारस्थित पिपी टावरमा तोडफोड गरी कागजपत्र र फर्निचर जलाएका थिए ।

त्यस्तै जिल्लास्थित सबै राजनीतिक दलका कार्यालयहरुमा तोडफोड गरी कागजात र फर्निचरमा आगजनी गरेका थिए ।

आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न सबैलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउने प्रहरीको भनाई छ । प्राप्त फोटो र भिडियोका आधारमा व्यक्ति पहिचान गरेर कार्यवाही गरिने प्रहरीले बताएको छ ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभर ७६ जनाको मृत्यू भएको थियो भने सिंहदरबारसहित महत्वपूर्ण संरचनाहरु जलाइएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार