खाेलामै फाेहाेर: राजदुवालीका होटल र घरधनीको लापरबाही,सरोकारवाला निकाय  मौन

माईखोला : इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा घरधनीहरूले फोहोर व्यवस्थापनमा लापरबाही गर्दै आएको पाइएको छ। स्थानीयको भनाइअनुसार ती होटल र घरहरूबाट निस्किएको फोहोर तथा शौचालयको फोहोर सिधै खोलामा फ्याँक्ने गरिएको छ।
माइखोलामा विभिन्न स्थानबाट मानिसहरू भाकल बुझाउन र पूजाआजा गर्न आउने गरे पनि त्यही खोलामा शौचालयको फोहोर मिसाइँदा प्रदूषण बढ्दै गएको स्थानीयवासीको गुनासो छ।

गत असोज १८ गते राजदुवाली खण्डमा पहिरो गएपछि बाटो मर्मतका क्रममा खोलामा रोडा निकाल्ने काम गर्न पुगेका सर्वसाधारणले पनि होटल तथा घरधनीहरूले फोहोर सिधै खोलामा हाल्ने गरेको देखेका थिए।

हाल पनि त्यहाँका घरधनीहरूले दैनिक रूपमा घरको फोहोर खोलामै फाल्ने गरेका छन्। यस्तो लापरबाहीका कारण खोलाको पानी दुर्गन्धित बनेको र आसपासको वातावरणमा असर परेको स्थानीयले बताएका छन्।

पर्यावरणविद्हरूका अनुसार फोहोर खोलामा मिसाउँदा जलस्रोत मात्र होइन, त्यस वरपरको माटो र बोटबिरुवाको समेत दीर्घकालीन हानि हुने गर्दछ। स्थानीय सरसफाइ र वातावरण संरक्षणका लागि तत्काल निगरानी र कारबाही आवश्यक रहेको उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार