‘श्रम तथा उत्पादन अभियान’ सुरु: वाइसीएलको १ नं. प्रदेशमा वृक्षारोपण र सरसफाइ

ललितपुर : नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले बिहरुबारदेखि देशव्यापी रूपमा ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान सुरु गरेको छ । ललितपुरको बालकुमारीस्थित सुनाकोठी चौरमा आयोजित कार्यक्रममार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बृक्षारोपण, इँटा लगाउने, नाली सफा गर्ने, घास काट्ने कार्यमार्फत अभियानको औपचारिक उद्घाटन गरे।

वाईसीएलको असार १७ र १८ गते सम्पन्न पदाधिकारी बैठकको निर्णयअनुसार साउन र भदौ महिनाभर सञ्चालन गरिने यो दुई महिने अभियान कृषि, उद्योग र डिजिटल व्यापारजस्ता उत्पादनमुखी क्षेत्रमा केन्द्रित रहनेछ ।

अभियानको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले श्रम र उत्पादनसँगै राष्ट्रिय अर्थतन्त्र निर्माणमा वाईसीएलले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

यस्तै, अभियानअन्तर्गत वाइसीएल नेपाल १ नं. प्रदेश समितिले सुनसरीको धरान उपमहानगरपालिका अन्तर्गत कालिखोला सामुदायिक वन क्षेत्रमा बृक्षारोपण र सरसफाइ गरी प्रदेशस्तरीय उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा संविधानसभा सदस्य किरण राई, पार्टी केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बो (मुकेश), सुनसरी जिल्ला इन्चार्ज अनिता परियार, वाईसीएल केन्द्रीय सचिव करण राई, प्रदेश उपाध्यक्ष दिलबिक्रम लिम्बू, सचिव शुभलाल राई (आदेश), केन्द्रीय सदस्य अरुण पुन (मोहित), सह-सचिव उषा परियार लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रदेश १ अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, उदयपुरसहित १० जिल्लामा विविध कार्यक्रममार्फत अभियानको उद्घाटन गरिएको प्रदेश समितिले जनाएको छ।

वाईसीएल इलामको आयोजनामा माई नगरपालिका–२ र ४ का नमुना सामुदायिक वन उपभोक्ता समितिहरूमा बृक्षारोपण, सरसफाइ तथा बेसार रोपण जस्ता श्रमकार्यहरू सम्पन्न गर्दै अभियानको सुरुवात गरिएको वाइसीएल इलामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार