दिपक लिम्बुले तताए बरडाँडाको माहोल, मध्यरातसम्म दर्शकको घुइँचो (फोटो फिचरसहित)

  युद्धबहादुर बोहोरा
798 Shares

पाँचथरः राष्ट्रिय कलाकार दिपक लिम्बु चासोक तङ्नाममा पाँचथर आएपछि दर्शक उत्साही बनेका छन् । प्रथम नेपाली तारा एवं चर्चित गायक लिम्बु आउने खबरले फाल्गुनन्दको बरडाँडामा बच्चा,युवायुवती र बुढापाकाहरु दिउँसोदेखि नै उनको प्रस्तुती हेर्ने प्रतिक्षामा केन्द्रित थिए । जब उनी मंगलबार बेलुका हँसिलो मुस्कानसहित “सेवारो,नमस्कार” भन्दै मञ्चमा उक्लिए तब दर्शकहरुको भीड अगाडी तिर बाक्लियो । ‘मुटु माग्यौ तिमिले मैले बाँच्नु पर्छ’, मैले त्यही भएर मनपराको, नाइ नभन्नु ल बोलका गीत गुञ्जिन थाल्यो । एकपछि अर्को दमदार प्रस्तुतीसंगै थपिएको संगीतमय माहोलमा उनले दर्जनौं भन्दा बढी गीत गाइरहँदा शुरुवातदेखि नै दर्शकहरुको हुटिङ बढिरहेको थियो । बच्चादेखि बुढापाका दर्शकहरुलाई भरपुर मनोरञ्जनका साथमा नचाएका थिए । मध्यरातसम्म दर्शकको घुइँचोमा बरडाँडाको माहोल तताए । पहिलो पटक उनी आएको यस साँगितिक कार्यक्रममा उर्लिएको जनसागरलाई सम्मान गर्दै चासोक तङ्नामका अवसरमा सबैलाई शुभकामना  र  धन्यवाद दिए । साथमा अन्य सेलिब्रेटी मोडल तथा नायिका उपासना नेम्बाङ,गायिका निरन्ता नेम्वाङ,नृत्यकार दिलु पन्धाक र दर्जनौ स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए ।

फाल्गुनन्दको ४ नम्बर वडाको चिलिङदिनस्थित कृष्ण मावि वरडाँडाको प्राङ्गणमा चासोक तङ्नामका अवसरमा आयोजित बहुसाँस्कृतिक तथा भलिवल प्रतियोगिता पौष ८ गतेदेखि संचालन भइ १० गते सम्पन्न भएको हो । चासोक तङ्नाम मनाउन मुख्य प्रायोजक ४ नम्बर वडाकार्यालय गरेको छ । यसैगरी, आदिवासी जनजाती महासंघ,किराँत याक्थुङचुम्लुङ र नामसामी केसामी केलाङ संस्थाले आयोजकको भूमिका निर्वाह गरेको ४ नम्बर वडाका अध्यक्ष दलबहादुर नेम्वाङले जानकरी दिए । कार्यक्रम सफल बनाउन हाल दक्षिण कोरिया, जापान तथा मलेशिया लगायतमा रहेका फाल्गुनन्दबासी र स्थानीयले सहप्रायोजन गरेको आयोजकले जनाएको छ । विभिन्न जातजातीको मौलिक संस्कृति तथा पहिचान झल्किने कलाहरु समेत प्रदर्शन भएको थियो । साथै भलिवल प्रतियोगितामा इलाम,पाँचथर र मोरङका ७ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा वाराङगी मोरङले प्रथम उपाधिसहित नगद ५० हजार मेडल,ट्रफी र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने पीवासी क्लब फाल्गुनन्दले नगद ३० हजार मेडल,ट्रफी र प्रमाणपत्र हात पार्न सफल भएको हो । खेलाडी तथा कला प्रदर्शन गर्ने समुहलाई  कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे र विशेष अतिथि उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ साथै कार्यक्रम संयोजक अगम नेम्वाङले नगद पुरस्कारसहित सम्मान गरेका थिए । चासोक तङनाम मनाउन र हेर्न छिमेकी जिल्ला इलामबाट पनि बाक्लो उपस्थिति रहेको जनाइएको छ । साँगीतिक कार्यक्रम कुशल सञ्चालिकका सम्झना योङ्हाङले थप रोचक बनाउँदै संचालन गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार