जीवनाथ लामिछाने ‘मह खाने प्रतियोगितामा’ प्रथम

  नयाँ बुलन्द
126 Shares

 

पोखरा:  सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका- ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेकाे व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ।

विसं २०६० मा रु तीन/तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उहाँसँग अहिले भने तीन सय ५० मौरीका घार पुुगिसकेका छन्। आफ्नो अनुहारभरि मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुुभव छन्।

अनुहारभरि मौरीलाई राखेको उनको तस्बिर सन् २०१६ मा राष्ट्रिय समाचार समिति (रासस) मार्फत् विभिन्न सञ्चारमाध्यममा स्थान पाएको थियो।

आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनु नपर्ने बताए।

बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २० औं वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन्।

प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका–२३ का जीवनाथ लामिछाने प्रथम भएका छन्। त्यस्तै, द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल  र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बने।

पोखरा–३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत ब‍नेकी थिइन्। कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुुई  मिनेट आठ सेकेन्ड र दुुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी भएका थिए।

विजयीलाई महानगरको वडा नंं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरुपमा मह प्रदान गरी पुरस्कृत गरेका थिए।

प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो।

नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले गण्डकीमा नै पहिलोपटक यस्तो प्रतियोगिता राखेको जनाउँदै उनले यसलाई भाइबन्धु तथा साथीभाइलाई मह चखाउने अवसरका रुपमा समेत लिएको बताए। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार