फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरु राई प्रहरी नियन्त्रणमा

  नयाँ बुलन्द  769 पटक हेरिएको

इलाम: फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनी पक्राउ परेकी हुन् ।

आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राईले आफैं प्रहरीमा आत्मसमर्पण गरेकी हुन। मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा उपाध्यक्ष राईले फाकफोकथुम वडा १ का कृष्णबहादुर खड्कामाथि मुक्का प्रहार गरेको आरोप छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद छ । गत १८ गते भएको वार्तापछि गाउँपालिका उपाध्यक्ष राईले असन्तुष्टमध्येका खड्कालाई कुटपिट गरेको पीडितले बताएका छन् । खड्का काँग्रेस फाकफोकथुम गाउँपालिकाका सदस्य हुन् ।

यस्तै,आफूमाथि मादक पदार्थ पिएर अश्लील शब्दसहित गालीगलौज गरेपछि आफूले हात छाड्नुपरेको उपाध्यक्ष राईले बताउँदै आएकी छिन्। फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो । गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन आह्वान गरेको थियो । कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए ।
तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । तर, त्योभन्दा बढी संख्याका युवालाई जनप्रतिनिधिले सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाएको आरोप लगाउँदै अन्य युवा आन्दोलित बन्दै आएको छ ।-टिभी अन्नपूर्ण

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार