- एक भारी बिम्बहरु बोके आँखाहरु उभिरहन्छन् ठिङ्ग्रिंगफर्किएर आकाश तिर,साउती मार्दै हावा बिउँझिन्छ कानहरुमा,खै,
बतास उसको सन्देश मेरो मुटु भित्र पुर्याउने बाटो खोज्दो हो,
माथि पहाडहरुमा ठोक्किएर झरेको बतास
मेरा अल्मलिएका,
लत्पतिएका हातका धर्साहरुम
-
कुन्नि किन हो,अझैँ
- धुलो छर्न खोज्छ,
सायद उस भित्र
मेरा बाँझिएका फक्ल्याँटाहरुमा
सिँचाउन सक्ने पानीका बुँदहरु होलान्,
सायद मेरा रूखिएका तनहरु शितल पार्न सक्ने
चिसा चिसा तरंगहरु होलान्,
तर,
हावाको बहकावमा अल्झिएर म मेरा
बिम्बहरु पर्गेल्न सक्तिनँ,
हावामा पानीका बुँदहरु निचोरेर
म मेरा अविरल तिर्खाहरु मेटाउन सक्तिनँ।
हेरिरहन्छन् आँखाहरु एकोहोरो,
क्षितिजमा अल्झिएका रक्तिम फाँटहरुमा,
बिहानी सायद कोक्रोमा चढेर आउदै छ,
सुस्त सुस्त,
मेरा अधिर, अभिशप्त पर्खाइहरुमा
मल्हम लगाउन,
पर्खिन्छु,
बिम्बहरुको भकारी अघिल्तिर, लमतन्न
आकाश ओछ्याएर,
अनि,
मडारिरहेको बादल भित्र
लुकिबसेको अनन्त घडा
सोचेर पुलकित हुन्छु यसै यसै
सोच्छु कसरी खोतलौँ म हुनुको अर्थ,
कसरी खोतलौँ म स्वतन्त्र हुनुको अर्थ,
अक्षरहरुका मखमली बिछ्यौनाहरुमा
उठाएका भिमकाय टावरहरु
अझै चुलिन खोज्छन्
आकाशै छेडूँला झै गरी,तिनका मुलायम स्पर्शहरुले
मलाई किन घोचिरहन्छन,
आफै बुझ्छु या बुझ्दिनँ अल्मलमा पर्छु,
अस्पष्ट हुन्छ आफैलाई,तिनै निर्जीव अक्षरहरुले,
तिनै मखमली विछ्यौनाहरुमा
फलाएका अक्षरी विरासतहरुले
मेरा चारै हातपाउ अठयाई दिएछन्,
तिनले मेरा स्वैरकल्पनाहरुमा निलोतुथो छर्किएर
मेरो स्वतन्त्रताको बन्ध्याकरण
गरिसकेछन्,
म घैलाभरी अमृतको मृग तृष्णामा
आकाशतिर फर्किएर
आफ्नै पाउ लर्खराइ रहेछु,
म अक्षरहरुका सकम्बरी चालहरुमा
सुनौला कथाहरु कोर्न खोजिरहेछु,
म चमत्कारिक अभिनेताको नक्कली स्वरहरुमा
आफ्ना अनगिन्ती बिम्बहरु
श्रवण गर्न खोजिरहेछु,म आफ्नै स्वतन्त्रताको बन्ध्याकरणमा
स्याम्पेनहरु फोरिरहेछु
मेरा हजारौँ सिर्जनाका बिजहरुमा
हेमलक घोलिरहेछु,
सायद मेरा यी चेतनाका घैंटाहरु
मुर्झाएका होलान्
सायद मेरा यी कल्पनाका लहरहरु
खुम्चिएका होलान्,
मैले टेक्न खोजेको माटोमा तिमीले प्रश्न गर्यौ,
मेलै छेक्न खोजेको बाटोमा तिमीले,
बलात् डोजर चलायौ,
तिम्रा शहश्र, कोटी कोटी टुना मुनाहरुमा
मेरा अमन चैनहरु पसेर घाइते भएको कथा
म कहाँ बसेर लेखूँ,
मेरा दिनरातहरु उजाड भएको ब्यथा
म कहाँ बसेर पोखूँ,
तिनका बहुरंगी सुनामी चालहरुमा
मेरो शिरमाथि फहराइएका
बेसारे, मौसमी झण्डाहरु
कहाँ लगेर फालूँ,
मलाई अब तिम्रा ती बहुरुपी
बुख्याचाहरुको नाच हेर्नु छैन,
मलाई अब परालको राँको बालेर
समसानतिर डोर्याउने तिम्रो
अभिलाशाको तिलस्मी किरो बन्नु छैन
जुन एकै झिल्कोको रापमा
आफै खरानी बनोस्,
मसॅंग तिमीले सापटी लिएका
बिम्बहरु गल्छेडाहरुमा अड्किए छन्
चिहान घारीहरुमा भड्किए छन्
तिनीहरुको खरानीमा तिम्रा लहडहरुको
हरदिन फस्टाएको खेती
म कसरी हेरिबसूँ!
अब अल्मलिएको रहर भित्र
आफ्नै बिम्बहरु लडाएर
मैले तिम्रो सपनाको सारथी बन्न छोडिदिएँ,
अब बहुलाएको सहर भित्र
बडेमानका ठेलीहरु च्यापेर
मैले तिम्रा अक्षरहरु उराल्न छोडिदिएँ,
अब बहुलाएको सहर भित्र
बडेमानका ठेलीहरु च्यापेर
मैले तिम्रा अक्षरहरु उराल्न छोडिदिएँ,
आजै, तिम्रो अभिमानको ऐना अगाडि
मेरो स्वतन्त्रताको बिगुल फुक्दै
तिम्रा साघुँरा सीमा-रेखाहरु बाहिर
मेरा बिम्बहरु स्वतन्त्र भए,
आजै, तिम्रो खरानीमाथि जन्मिएको
मेरो स्वच्छन्द फिनिक्स उडाएर
म स्वतन्त्र भएँ ।