फाल्गुनन्दमा मनाइयो चाःसोक तङ्नाम

  युद्धबहादुर बोहोरा
490 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडाको घुर्बिसे पञ्चमीमा किराँत लिम्बु जातीहरुको मौलिक चार्ड चाःसोक तङ्नाम(उधौंली)पर्व साँस्कृतिक कार्यक्रम सहित मनाइएको छ ।

पहाडमा पैंयु फुल्न थालेपछि खोलानदीमा माछा, आकाशमा चराचुरुङ्गी दक्षिणतिर लागेको ऋतुलाई उधौली याम शुरु भएको सङ्केतका रूपमा उहिले लिम्बू समुदायले मान्ने गरेको यस पर्वमा सबै जातजातीको भावनात्मक र साँस्कृतिक एकता जगाउने उदेश्यले ५ नम्बर वडाद्वारा कार्यक्रम आयोजना गरिएको संचालक तथा वडा सचिव टिकाध्वज नेम्बाङले जानकारी दिए ।

जनजाती समुदायको बाहुल्यता रहेको यस पालिकामा खसआर्य,राई,लिम्बु,मगर,तामाङ,नेवार जाती लगायतले आफ्नो पहिचान झल्कने विभिन्न नृत्यहरु प्रदर्शनी गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष अविन्द्र प्रसाद चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका संयोजक तथा लिम्बु भाषा,लिपी,खोज अनुसन्धानकर्ता मोहन सिं चेम्जोङले चाःसोक तङ्नामको संक्षिप्त परिचय सहित स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा अतिथि तुम्रोकले अगामी दिनमा पालिका स्तरबाट यस किसिमका पर्वहरुलाई उजागर गर्न सके भावी सन्ततिलाई संस्कार र संस्कृति पुस्तान्तरण र कलासीप हस्तान्तरणमा सहयोग मिल्ने बताउँदै शुभकामना व्यक्त गरेका थिए । मनोरन्जनात्क प्रस्तुतीमा सहभागी कलाकारहरुलाई प्रमुख अतिथि र वडाध्यक्षबाट प्रोत्साहन स्वरुप नगद प्रदान गरिएको थियो ।

यसै अवसरमा शैक्षिक संस्थाको तर्फबाट शान्तिबाल विकास बोर्डिंङ स्कुलका प्रिन्सिपल डिएम आङ्देम्बे(डिएम),नेकपा एमाले वडाका पार्टी प्रतिनिधि बिष्णुकुमार चेम्जोङ, नेकपा माओवादी केन्बाद्रबाट केहेरसिं चेम्जोङ,नेपाली काँङ्ग्रेसबाट मणिचन्द्र चेम्जोङ, जनप्रतिनिधि हर्क चेम्जोङ,घुर्बिसे बजार व्यवस्थापन समितिका अध्यक्ष टिका सम्बाहाम्फे लगायतले शुभकामना आदन-प्रदानसहितको मन्तव्य राखेका थिए ।

प्रकृतिपूजक लिम्बु समुदायले ऋतु परिवर्तनसँगै यसैबेला आफ्नो खेतबारीमा तीनचार महिना अघि नै बिउबिजन छरपोख गरेर फलेको, उत्पादन भएको अन्नबाली बटुल्ने र अन्नलाई सबैभन्दा पहिले भूमि र पितृलाई चढाएर रमाइलो गर्दै खाने समयलाई चासोक तङ्नाम भन्ने गरेका छन् । देश तथा विदेमा आजकै दिन विभिन्न कार्यक्रमका साथमा चाःसोक तङ्नाम मनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार