निषेधित सहरमा अनायसै रोकिएका मेरा कदमहरु (नियात्रा)

?

समग्रमा मेरो आधा जीवन परदेशी भूमिमा बितिसकेको छ । त्यसैले विश्वका अधिकांश मुलुकहरु घुम्ने अवसर प्राप्त भएतापनि पुनः फेरि एकचोटी चीन जाने रहरले मलाई भित्रभित्रै कुत्कुत्याउँन थालेको थियो । किनभने चीनले गर्दै गरेको अत्याधिक बिकाशको गति र त्यहाँका मानिसका रहनसहनले मलाई जिन्दगिमा ज्यादै आकर्षण गरिरहेको हुन्थ्यो । अझै त्यहाँका मानिसहरुका जिविका पार्जन गर्ने तरिका अन्य देशका तुलनामा बिलकुल पृथक लाग्ने गर्दथ्यो । सायद उनीहरुले बोल्ने भाषा संसारको सबैभन्दा अफ्ठ्यारा भाषाहरु मध्यका प्रमुख पर्छन् होला भन्ने मेरो सहज ठम्याई थियो । तर उनीहरुको खानेकुरोको बिषयमा कुरो गर्ने हो भने त्यतिको मिठो भोजनहरु सायद अन्य ठाउँमा पाउँन निक्कै मुस्किल पर्छ होला भन्ने मेरो मनमा लागिरहेको थियो ।

एक्काइसौं शताब्दीतिर आइपुग्दा चीन एउटा महाशक्त्तिशाली राष्ट्र बनेको छ । हुनत सुतिरहेको चीनलाई उठाउँन मुर्खता सिवाए अन्य केही हुने छैन नेपोलियनले पहिलै भनिसकेका थिए । भलै, त्यो शक्त्तिशाली राष्ट्र मात्र नभएर कम्युनिष्ट राष्ट्र भएको हुनाले त्यहाँका कानून नेपालको जस्तो फितलो भने पटक्कै छैनन् । कानूनका हरेक बुँदाहरु अति कडा र क्रुर छन् त्यसैले कथंकदाचित कानूनको बर्खिलाप गरि हालियो भने मृत्युदण्डको सजाँयसम्म पाउँन सजिलै सकिन्छ । त्यसैले चीनको यात्रा एक चक्कर सिलगुडी घुमेर फर्के जस्तो सहज र सरल भने पटक्कै हुने छैन । त्यो यति चुनौती र जोखिमपूर्ण छ कि अनाहकमा ज्यान पनि जान सक्छ । अझै चीन यात्रामा निस्कँदा सबैभन्दा अफ्ठ्यारो पार्ने त त्यहाँका भाषा पनि मूख्य हो । किनभने त्यहाँका मूख्य सहरहरु बाहेक अन्य गाउँघरमा मेण्डरिन भाषामा राम्रो दख्खल छैन भने यात्रा झन बोझिलो र खर्चालु हुनेमा शंका नगरे पनि हुन्छ ।

‘मानिसको जिन्दगी मात्र एउटा यस्तो चिज हो, जुन एकचोटी गइसकेपछि फेरी फर्केर आउन सक्त्तै सक्त्तैन,’ त्यसैले त्यति अमूल्य जीवनमा आफ्ना मनमा लागेका रहरहरू गुम्स्याएर के बाँचिरहने होला भन्दै मैले एकदिन ताराको कान खुसुक्कै कोट्याएको थिएँ । उनी त्यसबेला पलङ्मा मेरो बिपरित दिशातिर फर्केर नेपोलियनले सोचेको चीनजस्तै मस्तसँग निदाइरहेकी थिइन । हुनत त्यसबेला लिभरपुलको आकाशमा बिहानीको शूर्यले एकटाङ्गो पार गरिसकेको थियो । तैपनि सप्ताहन्तको समयमा झ्यालमा दोहोरो पर्दा लगाएर अध्याँरो कोठा बनाए पश्चात् अबेलासम्म तन्किरहने त्यो उनको निक्कै पुरानो आदत थियो । खै किन हो किन म चाहिँ सानैदेखि अलिक चुलबुले स्वभावको मानिस थिएँ त्यसैले हरेक दिन उनीभन्दा अलिक चाँडै उठ्ने गर्दथे ।

कसोकसो त्यसबेला मैले अलिक बेस्सरी नै उनको कान तानि दिएछु कि के हो ? किनभने मैले कान तान्ने बितिक्कै उनको चिम्सो आँखा झट्टपट्ट खोलि हालियो । उनले त्यसरी आँखा त खोलिन तर मुखले, ‘के भो ?’ भन्ने सानो प्रश्न गरि हालिन् । मैले प्रतिउत्तरमा, ‘खै ! सपनिमा ग्रेटवाल पुगेको रहेछु, फेरी चीन जानुपर्छ कि हो ?’ उनको प्रश्नको उत्तरसँगसँगै अर्को प्रश्न जोडिदिएँ ।

‘तपाई एक्लै जानुहोस,’ मेरो कुरो सुन्ने बितिक्कै उनी झोक्किइन र फेरि उतैतिर फर्किहालिन ।

‘ए ! हो र ?’ उनले नदेखे पनि म उनको कुरो सुनेर फिसिक्कै मुस्कुराएँ ।

‘आ.. तपाइलाई जे गर्न मन लागेको छ, त्यो नै गर्नु होला ?’ भन्ने प्रतिवाचन दोश्रोचोटी मैले पाएँ ।

उनको कुरो आँधा खाली गिलास हो कि आँधा भरि हो भन्ने जस्तै दोधाँरे थियो । तैपनि उनलाई फकाउनको लागि सुस्तरी बेइजिंग, शघाई, छाङ्सा, साओसान र हुनान प्रान्तका रमाइलो भ्रमण त्यसपछि सेनजन हुँदै हङकङमा यात्रा अन्त गर्ने मेरा अभिलाषा प्रकट गरें । अझै ती ठाउँहरुमा पुगेर के कस्तो खाने र कताकता घुम्ने भन्दा पनि हङकङमा पुगेर यात्रा सकिने भनेपछि उनको मन उथलपुथल हुन थाल्यो । किनभने हङकङ उनलाई अत्याधिक मन पर्ने स्थानहरुको सूचिमा अग्र स्थानमा रहेको छ । तर मैले हङकङको भन्दा पनि चीनको बिभिन्न स्थानहरुको तस्विरहरु खोजतलास गरेर कम्प्युटरमा तिनै तस्विरहरु देखाउन थालिहालें । तिनै तस्‍विरहरुमा त्यतिका मिठामिठा व्यान्जनहरु र रमणिय ठाउँहरु देखिएपछि आखिर मानिसको जिन्दगि न हो । सबैको जिब्रोमा रयाल हुन्छ उनको पनि रयाल छाउँरी कुकुरकोझैं देखा पर्न थालि हाल्यो । त्यसपछि उनले चीन भ्रमणमा जाने निधो गरिहालिन् ।

हुनत हामी त्यसबेला लिभरपुलमा थियौं र दक्षिण वेल्समा १० बर्ष ब्यतित गरेर बिटल्सको सहरमा सरेको पनि ४ बर्ष भइसकेको थियो । त्यसपछि मैले अब बसाई कता सर्ने होला भनेर अर्को स्थानको धुमधुम्ती खोजतलास गर्दै थिएँ । किनभने मलाई जिन्दगीभरी एउटै स्थानमा बसिरहन पटक्कै मन पर्दैनथ्यो । तर हामी लिभरपुलमा बस्दै आएका हुनाले चिनिया भिसा निकाल्नका लागि लण्डन धाइरहनु चाहिँ परेन । त्यसैले अर्को हप्ता भिसाको लागि म म्यानचेस्टरको चिनिया भिसा कार्यलय पुगेको थिएँ । र, भिसा निकालेपछि चीन भ्रमणको लागि हामी पूर्ण तयार भएका थियौं ।

इमराटस एअरको नयाँ ड्रिमलाइनरले बेइजिंग बिमानस्थलमा अबतरण गर्दै गरेको त्यसदिन २१ अक्टोबर २०१७ को दिन थियो । लण्डन, हिथ्रोलाई बिदाइ गरेर दुवाई हुँदै बेइजिंग अन्तराष्ट्रिय बिमानस्थलमा पुग्न हामीलाई लगभग १४ घण्टा समय खर्च गर्नु परेको थियो । यदि समयलाई पैसासँग तुलना गर्ने हो भने त्यो निक्कै महङ्गो पर्न जान्थ्यो तर हामीजस्तो सर्वसाधरण मानिसको लागि समय फालाफाल हुने भएकोले त्यो त्यति महङ्गो पर्न गएन ।

आखिर जे सुकै भएपनि हाम्रो बिमान बेइजिंग बिमानस्थलमा अवतरण हुँदा बिहानीको समय ठीक सात बजिसकेको थियो । तर बिमानस्थलमा भएको अध्यागमनमा हिडदै जाँदा त्यहाँदेखि बाहिर देखिएको मौसमले चाहिँ हामीलाई पटक्कै आकर्षण गरिरहेको थिएन । तैपनि अध्यागमन पार गरेपछि हामी सरासर बाहिर निस्क्यौं र एउटा ट्याक्सी समातेर वाङ्ग फुजिङ्तर्फ लागिहाल्यौं ।

वाङ्ग फुजिङ्, बेइजिंगको डोङ्च्याङ्ग जिल्लामा अवस्थित पर्यटकहरुको लागि निक्कै नामुद क्षेत्र रहेको छ । अझै त्यो क्षेत्र आजभोलि मात्र नभएर मिङ्ग राजवंशको कालदेखि नै ब्यापारिक दृष्टिकोणले एकदमै प्रख्यात रहँदै आएको थियो । जसले गर्दा त्यस ठाउँको वरिपरि निक्कै ठूल्ठूला होटलहरु अहिलेपनि राम्ररी देख्न सकिन्छ ।

बेइजिंग बिमानस्थललाई सँधैका लागि बिदाइ गरेपछि पेकिङ ट्याक्सीमा बसेर मज्जाले खुट्टा तन्काउन पाउदा नपाउँदा हामी मूख्य चक्रपथमा ठोकिसकेका थियौं । हुनत अमेरिका, बेलायत, फ्रान्स र जर्मनीको ठूल्ठूला सडकहरु जस्तैः- हाइ वे, एक्सप्रेस वे, मोटर वे, वा औटोभानका तुलनामा चीनका सडकहरु झन ठूला र एकदम फराकिला हुने गरेका छन् । अझै त्यस्तो छ वटा चक्रपथले बेइजिंग सहरलाई फनक्कै चक्कर लगाएको चाल पाउँदा जाबो मुस्किलले अर्काले बनाइ दिएको एउटा चक्रपथ ओकटेर बसेको काठमाण्डौ सहरलाई सम्झेर आफैलाई धिक्कार्नसम्म धिकारेको थिएँ ।

तर बेइजिंगको चक्रपथ देखेर मेरो मन जतिसुकै प्रफुल्लित भएता पनि बिभिन्न प्रकारका कलकारखानादेखि निस्केको कालो धुँवा र हुस्सुले सहर छपक्कै ढाँकेको देख्दा मेरो अनुहार चाहिँ कच्याक्ककुच्युक भएर कुच्चिएको टुम्लेट झैं भइरहेको थियो । किनभने त्यतिका धेरै धुँवा र हुस्सु मैले जिन्दगीमा ढाका, दिल्ली र काष्ठमण्डपमा पनि पहिले कहिले देखेको थिइनँ । हुनत बेइजिंगमा हुने बायु प्रदुषणको बिषयमा मलाई पूर्व ज्ञान नभएको चाहिँ हुँदै होइन । बेइजिंग ओलम्पिकको समयमा बिबिसी टेलिभिजनले सहरमा भएको कालो धुँवाको मुस्लो मात्र प्रचारप्रसार गरिरहेको मैले धेरैपटक नजर लगाइ सकेको थिएँ । तर त्यसदिन बेइजिंग पुग्ने बितिक्कै बिबिसीको त्यो हर्कतलाई मैले राम्ररी स्मंरण गरिरहें ।

ट्याक्सिमा लगभग एकघण्टा समय खर्च गरेपछि हामी वाङ्ग फुजिङ्मा रहेको प्राइम होटल अगाडि पुगेका थियौं । तिनै होटलमा एक हप्तासम्म बास बस्नको लागि मैले लिभरपुलमा छँदा अग्रिम आरक्षण गरेको थिएँ । वास्तवमा प्राइम होटल, बेइजिंग पाँचतारे होटल भएता पनि होटल निक्कै पुरानो रहेछ भन्ने कुरो त्यहाँका बातावरण हेर्दा चाल पाउँन सकिन्थ्यो । तथापि होटल पुरानो भइकन पनि त्यहाँका कोठाहरु चाहिँ लगभग हलिवुडका चलचित्रमा देखाइने होटलको कोठाहरु भन्दा मामुलि नभएको मैले त्यहाँ अनुभव गरेको थिएँ । अझै होटलको कोठामा रहेका पलङ यति ठूलो थियो कि जस्को कुरो गरेर साध्य नै थिएन । खुट्टा खप्ट्याएर एकजोडि सुत्नको लागि निर्माण गरिएको पलङ्मा दुईजोडी मानिसहरु सँगसँगै सुतेपनि अझै ठाउँ उब्रने रहेछ भन्ने मैले त्यसबेला महसुस गरिरहेको थिएँ ।

तिनै होटलमा भएको कोठाको स्नानकक्षामा हल्का मनतातो पानीले जिउँ सर्लक्कै पखालेपछि हामी तिनै बेजोड ठूला पलङ्मा केहीबेर आराम गर्न थालेका थियौ । तर सिमलको भूवाझै त्यति नरम होटलको पलङ भएतापनि कृष्ण सागरमा रहेको बोस्फोरस जलसंयोजन माथि बेस्सरी हल्लिएको बिमानको झझल्को हामीलाई त्यसबेलासम्म आइरहेको थियो । रातभरीको अनिदोले करिव ४ घण्टा जति मरेर पुनः ब्युझिएपछि हामी खानाको खोजिमा सहरतिर निस्केका थियौं ।

अब बेइजिंगमा पुगिहालेपछि बेइजिंग हास (बेइजिङ डक) को मासु नखाइ के स्वर्ग पुग्न सकिएला र ? भन्ने मेरो मनमा त्यसबेलासम्म लागिरहेकै थियो । तर ताराको अगाडि मेरा भित्री दिलबाट उकुसमुकुस हुँदै निस्किएका सबै आकाङ्क्षाहरु त्यति सजिलै पुरा हुन के सजिलो हुन्थ्यो होला र ? खानाको कुरो सुनेपछि, ‘तपाईलाई जहिले पनि भोक मात्रै लागि रहेको हुन्छ ? अरु सबैकुरो छाडेर पहिले टिनानमेन चौक घुम्न जाने हो,’ भनिन् र भुइँमा खुट्टा बजार्न थालिहालिन् । अब बेइजिंगमा उनको त्यस्तो कुरो सुनेर मेरो मुखमा सुकेको सुपाडी च्यापिएझैं भइहाल्यो । त्यसपछि थपक्कै एउटा ट्याक्सीलाई समात्यौं र त्यतैतिर लागि हाल्यौं ।

करिव ५४ एकर जमिन ओकटेर बेइजिंगमा बनेको टिनानमेन चौक पर्यटकहरुको लागि मूख्य आकर्षणको केन्द्रबिन्दु हो । त्यसैले चीनमा जाने हरेक पर्यटकहरुले यस स्थानमा गएर पाइला टेक्न पाउन स्वभाविक जस्तो नै मान्नु पर्दछ । यदि त्यस चौकमा पुगेर मस्कोको रेड स्क्वाएरसँग तुलना गर्ने हो भने पनि त्यो भन्दा कता हो कता ठूलो देखिन्छ । अथवा यो विश्वको सबैभन्दा ठूलो चौक हो भन्यो भने मात्र न्याय सङ्गत हुन्छ होला भन्ने मलाई लागिरहेको थियो ।

तर त्यति भिमकाया चौकको इतिहास त्यति पृय चाहिँ निश्चय पनि छँदै छैन् । अझै त्यस चौकले समयको बिभिन्न कालखण्डहरुमा अनेक प्रकारको घटनाहरुको सास्ती भोग्दै आएको अहिलेसम्म इतिहास साक्षी छन् । तर त्यहाँ घटेका सबै घटनाहरुलाई तुलना गर्ने हो भने पनि सबैभन्दा ठूलो घटना चाहिँ सायद तिनै ४ जुन १९८९ को नै हुनुपर्छ भन्ने मेरो ठम्याइ रहेको थियो ।

त्यो घटना घटेको समयमा म हङकङतिर बरालि हिडेको थिएँ । र, चीनको प्रजातान्त्रिक आन्दोलनमा उत्रेका बिधार्थीहरुले टिनानमेन चौक कब्जा गरेका महिनौ भइसकेको समाचार टेलिभिजनको पर्दामा समय समयमा हेरिरहेको हुन्थे । तिनताका बिधार्थीहरुले गरेको त्यो आन्दोलनको बिषयलाई लिएर चिनिया कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदश्यहरु धृविकरण भएका थिए । अन्ततः सर्वमान्य नेता देङ् सायो पिङ्ले आन्दोलनकारीहरुको नग्न छातिमाथि टैंक चलाइदिनु भनेर हुकुम गिराएपछि ४ जुनको दिन आन्दोलनकारीहरुको बिभत्स हत्या भएको थियो ।

चिनिया मुक्त्ति सेनाका बुटले टिनानमेन चौकमा परेड खेल्दा कतिजना आन्दोलनकारीको ज्यान गयो होला भन्ने सुचना आउन अहिलेसम्म बाँकी नै रहेको छ । जुन दिन चीनको धर्तीमा प्रजातन्त्रको उदय हुन्छ त्यसदिन त्यो संख्या पनि आउँन सक्ला । तर त्यहाँ भएको घटनाको दृश्य मैले टेलिभिजनको पर्दामा प्रत्यक्ष प्रसारण हेर्दा म निश्चय पनि निक्कै दुखित भएको थिएँ । अझ म त्यहाँ पुगेर पहिलेको तिनै कुरोलाई स्मंरण गर्दा मेरो आङ्ग जिरिङ्गै भएर शरिरभरी काँढा पलाइरहेको थियो

अ… हामी त्यसदिन टिनानमेन चौकमा पुग्दा त्यहाँका अबस्था बिलकुल फरक रहेको थियो र चौक ज्यादै व्यस्त देखिएको थियो । चौकको मूख्य सडक किनारहरुमा तर हरेक ५०-५० मिटरको दुरिमा तीन-तीन जना स्थल, जल र वायु वा चीनिया मुक्त्ति सेनाका सिपाहीहरु सुरिलो पोजिसनमा देखा परिरहेका थिए । उनीहरुको वरिपरि तर झुम्म भएर नगर प्रहरीहरु ठाउँ ठाउँमा उँभिरहेका बिरमाइलो दृश्यवलोकन गर्न मिल्दथ्यो । त्यति बाक्लो सुरक्षाको घेराभित्र चीनिया कम्युनिस्ट पार्टीको १९औं रास्ट्रिय कांग्रेसको महाधिवेसन चलिरहेको थियो । टिनानमेन चौकमा रहेको ग्रेटहलमा भइरहेको त्यो महाधिबेशन एकहप्ता लामो थियो । जुन महाधिबेसनमा भागलिनको लागि देशभरीको लगभग १ अरब ३ करोड जनसंख्याबाट २२ सय ८० जना चिनिया कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु त्यहाँ उपस्थिति भएका थिए ।

चिनिया कम्युनिष्ट पार्टीको महाधिबेसनले टिनानमेन चौकको कतिपय स्थानहरुमा मानिसहरु जानको लागि पूर्णतय प्रतिबन्ध गरिएका थिए । जसमध्य अध्यक्ष माओको दाहसंस्कार गरिएको स्थान मसोलियम पनि निषेधित क्षेत्रभित्र परेको थियो त्यसैले हामी त्यहाँ जान सकिरहेका थिएनौं । तर मसोलियमको छेउँमा एकजना टेलिभिजन (सिसिटिभी) मा काम गर्ने युवतीसँग हाम्रो अचानक भेट भएको थियो । उनीसँग हाम्रो भेटघाटपछि छोटो परिचय भयो र उनले टिनानमेन चौक, ग्रेट हल, मसोलियम र निषेधित सहरको बिषयमा निक्कै राम्रो जानकारी गरिदिइन् । बेलायती नभएर अमेरिकन अङ्ग्रेजी भाषामा निक्कै दख्खल भएकी जीनाले टिनानमेन चौकमा बिना पैसा सबैकुरो बताइ दिदाँ म हर्षले बिभोर भइरहेको थिएँ ।

तारा र मैले जीनालाई केहीबेरपछि सधैको लागि बिदा गरयौं । त्यसपछि एक्कैशब्द बोल्दै नबोलि खुरुखुरु निषेधित सहरतर्फ हानि हालियौं । निषेधित सहर बेइजिंग पनि चीन भ्रमणमा रहने हरेक पर्यटकको लागि त्यतिक्कै महत्वपुर्ण र आकर्षक स्थान रहेको छ । लगभग १ सय ८० एकर क्षेत्रफल ओकटेर बनेको निषेधित सहर अहिले त निषेधित अबश्य पनि छैन । तर त्यति ठूलो क्षेत्रफल ओकटेर बनेको सहरमा ९ सय ८० वटा घरहरु र ९० वटा दरवारहरुको नजर लगाउन करिव एकहप्ता समय खर्च गर्नु पर्ने हुन्छ ।

तर मलाई निषेधित सहरमा पुगेपछि जति खुसी हुनुपर्ने हो त्यसको अलवा झन असहज उत्पन्न भइरहेको थियो । किनभने त्यहाँको सम्राटहरुले घरमा कामगर्ने नोकर्नी र उपपत्नी (कनकुवाइन) हरुलाई अत्याधिक अन्याय गर्छन भन्ने हङकङमा छँदा सुनेको थिएँ । अझै उरन्ठ्याउँला सम्राट भएका बेला त्यस्तो उपपत्नीहरुको संख्या दशौं हजारसम्म पुगेका यदाकदा सुन्न सकिन्छ । अनि ती उपपत्नीहरुको उमेर लगभग १४ बर्ष पार गरिसकेको र रुप अचाक्ली किन्दरी किन्दरी हुनुपर्ने नियमहरु थिए । सम्राटहरुको मनोरन्जनको साधन बन्नको लागि त्यस्तो युवतीहरुको खोजीगर्न चिनिया सिपाहीहरु दिनहुँ गाउँका कुनाकुनासम्म पुग्ने गर्दथे । र, देशभरीबाट जम्मा गरेर कलिला युवतीहरु निषेधित सहरमा ल्याउने गर्दथे । त्यसरी खोजिएका उपपत्नीहरु दरवारमा छिरेपछि सम्राटसँग रङ्गिन रात बिताउनको लागि पालैपालो समय प्रतिक्षा गरेर बस्नु पर्ने नियम थियो ।

हुनत यस प्रकारको प्रथा संसारदेखि अहिले देखावटी रुपमा नष्ट भइसकेका छन् । तर अदेखा रुपमा हाम्रो समाजमा बर्षे च्याउँझैं जताततै छ्यासछ्यास्ति उम्रेका छन् भन्ने कुरो हाम्रो मार्गदर्शकले हामीलाई सुस्तरी सुनाएकी थिइन । उनको कुरो सुनेर म केहीबेर रणभूलमा परिरहें तैपनि उनलाई क्रमशः सुन्दै गइरहेको थिएँ । उनले बोल्ने क्रममा यो सबै आधुनिक जमानामा पैसा र भडकिलो जीवन शैलीको नतिजा हो भनेर ठोकुवा गरेकी थिइन् ।

अझै उनले आफ्नै जिन्दगीमा भोगेकी एउटा ज्वलन्त उदाहरण पनि हामीलाई त्यसबेला प्रस्तुत गरिन ।

मेरो घर छेउँमा एकजना २० बर्षे युवती बस्छिन् । ती युवतीले बिबाह नगरी ३ बर्ष अगाडि एउटा छोराको जन्म दिएकी छिन् । उनको छोरोको बाबुको उमेर र युवतीको बाबुको उमेर बराबरी जस्तै छन् । त्यसैले मेरो बाबुको दौंतरी देखिने छोरोको बाबुलाई म ‘बुढो मानिस’ भन्न रुचाउछु, ती युवती भन्छिन् । त्यो बुढो मानिसको उमेर कति भयो ? ऊ कहाँ बस्छ ? उनको श्रीमती छ कि छैनन् ? यदि छन् भने कतिजना छन् ? मलाई खास्सै मतलव छैन् ।

मलाई कुन कुरोको मतलव छ भने उनले मलाई एउटा दुई कोठे घर किनिदिएका छन् र हरेक महिना मेरो खर्चको लागि बैंकमा पैसा हालिदिन्छन् । त्यसैले ऊ सँग मेरो कुनै सवाल छैनन् । यदि त्यो तालु खुइलो बुढोले सधै मेरो बैंक खातामा पैसा खुसुखुसु हालिरहन्छ भने म एकदम खुसि हुन्छु । अनि जुनबेला मेरो कामुक शरिरको उनलाई आवश्यक्त्ता पर्छ उनले आएर मज्जाले उपभोग गरे हुन्छ र यौनाच्छे प्राप्तिपछि बिलय भए पनि मलाई खास्सै फरक पर्दैन ।

ती युवतीको जीवन कथा मार्गदर्शकको मुखबाट सुनेपछि उनी थोरै असुरक्षित छन् कि भन्ने मेरो मनमा लागिरहेको थियो । तर हरेक मानिसका आ-आफ्नै बिचारहरु हुन्छन् । कस्को बिचार सहि वा गलत छ भन्ने कुरो केवल समयले मात्र निर्धारण गर्ने गर्दछ । तथापि, ‘हुन्छ भन्ने र हुन्न भन्ने बिचारहरु दुवै सत्य हुन्,’ कन्फ्युसियसको तिनै भनाइलाई मैले निषेधित सहर बेइजिंगमा अमुक अवस्थामा रहेर निक्कै लामो समयसम्म मनन गरिरहें ।

तैपनि त्यतिका धेरै उपपत्नीहरुको सहर निषेधित सहरलाई चिनियाहरुले उनीहरुको भाषामा ‘दोश्रो स्तन’ (आर ख्याइ) भन्ने उपनामले चिन्ने गरेका रहेछन् । कसोकसो आफ्नो भाग्यले जुराएर नाइँटोसम्म झुन्डिएर झरेका कल्चौंडीमा नै भरपुर मनोरन्जन लिन सफल भएको म जाबोले दोश्रो स्तन (सेकेन्ड ब्रेस्ट) को कुनै कल्पना गर्न सक्त्तै सकिन । बरु त्यतिका बेलासम्म भोकभोकै हिडिरहने मेरा अभागि कदमहरुको चाहिँ उँच्च मूल्याङ्कन गर्दैगर्दै म सुस्तरी पाइतालाहरुलाई ट्याक्सि स्टेसनतर्फ क्रमशः खियाइ रहेका थिएँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार