फाकफोकथुमका सामुदयिक विद्यालयमा दिवा खाजा प्रभावकारी बनाइदै

  युद्धबहादुर बोहोरा
1k Shares

 

इलामः सरकारले सञ्चालन गरेको दिवा खाजा कार्यक्रम अन्तर्गत फाकफोकथुम गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा थप प्रभावकारी बनाउन लागिएको छ ।

पालिकामा रहेका ४१ वटा विद्यालयमा बालविकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने एक हजार आठ सय भन्दा बढी विद्यार्थीलाई यस कार्यक्रमबाट बालबालिकाको वृद्धि, विकाससँगै विद्यालय शिक्षामा टेवा पुर्याउने उद्देश्य राखिएको छ । बुधबार शाखाले आयोजना गरेको ४१ वटै विद्यालयका प्रधानध्यापकहरुको उपस्थितिमा फलाँटे माध्यमिक विद्यालयका प्रधानध्यापक राजेन्द्र राईको अध्यक्षतामा दिवा खाजा सम्बन्धि एक दिने अभिमुखीकरण छलफल सम्पन्न गरेको छ । समय समयमा स्थलगत अनुगमन गरि दिवा खाजा प्रभावकारी बनाउन लागिएको पालिका शिक्षा शाखा प्रमुख मताप सिं लिम्बुले जानकारी दिए ।

सरकारले जारी गरेको निर्देशिका अनुसार सफाइ,खुवाइ,पढाइ र सिकाइलाई मध्यनजर गर्दै सबै विद्यालयले नियम पालन गर्न र बालबालिकाले पोषणयुक्त खानेकुरा खान पाउन भनेर स्थानीयस्तरमा उत्पादित खानेकुरा मात्र खुवाउन अभिभावकहरुले पनि उतिकै जिम्वेवारी वहन गर्न वैठक मार्फत अनुरोध गरिएको छ ।

दैनिक प्रतिविद्यार्थी १५ रूपैयाँ बराबरको खाजा दिने गरिएको छ । विद्यालयले बुझाएको तथ्याङ्कका आधारमा उक्त रकम शिक्षा शाखा मार्फत पालिकाले उपलब्ध गराउँदै आएको हो । कतिपय विद्यालयले भने घरबाटै खाजा ल्याउन लगाउने गरेका छन् । विद्यालयमा खाजा खुवाउन थालिएपछि विद्यार्थी नियमित हुन थालेको र विद्यार्थीले नियमित कक्षा लिएसँगै उनीहरूको सिकाइ उपलब्धि पनि सुधार भएको वैठकमा सहभागी शिक्षकहरूले जनाएका छन् । छलफलमा विभिन्न विद्यालयले पेश गरेका गुनासा,समस्या र कठिनाईलाई आगमी दिनमा हल गर्न कोशिस गरिने शाखा प्रमुख लिम्बुले बताए ।

 

धार्नेखोप आधारभूत विद्यालयका प्रधानाध्यापक शान्तिराम भट्टराईले यसभन्दा पहिले कतिपय विद्यार्थी खाजा खाने पहिलेनै घर जाने गरेको बताए । उनी भन्छन्, ‘आजभोलि खाजा कार्यक्रम सुरू भएयता विद्यार्थी कक्षामा नियमित हुने र पुरै समय कक्षामा बस्ने गरेका छन्’,‘खाजा कार्यक्रमकै प्रभावका कारण विद्यालयमा बालबालिकाको संख्या बृद्धि भइरहेको छ’ उनले भने ।

सरकारले विगत वर्षदेखि नै देशव्यापीरुमा यस कार्यक्रमको शुरुवात गरेको भएतापनि कोरोना महामारीका कारण विद्यालय सञ्चालनमा बाधा पुगेको थियो । हरेक गतिविधिहरु निरन्तर हुन नसक्दा विद्यार्थीका क्रियाकलापहरु समेत ओझेलमा परेका थिए । पछिल्लो समयमा दिवा खाजा र निरन्तर विद्यालय सञ्चालनले आफ्ना बालबालिकामा उत्साह बढेको विद्यार्थीका अभिभावकहरु बताउँछन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार