हार्दिक श्रद्धाञ्जली सागरिका

  नयाँ बुलन्द
2.8k Shares

सोमबार बेलुका एउटा खबर आयो । विध्यालयबाट घर फर्कर्दै गर्दा फाकफोकथुममा एक बालिकालाई खोलाले बगायो । राती अबेर भएकोले सबै जानकारी लिन सकिन । भोलीपल्ट मंगलबार घटनाको बारेमा जानकारी लिन इलाका प्रहरी कार्यालय मंगलबारेमा फोन गरे । विध्यालयबाट घर फर्कदै गर्दा ९ बर्षीया सागरिका मगरलाई मैदाने खोलामा आएको बाढीले बगाएको रहेछ । खोज्दै जाँदा सागरिकाको शवलाई स्थनियले कही तल फेला पारेछन् ।

पोष्टमार्टमका लागि उनको शवलाई इलाम अस्पताल ल्याईदैछ भनेपछि म इलाम अस्पताल तिर लागे । करिब ३ बजे अस्पताल परिसरमा सागरिकाले पढ्ने फलाटे माविका प्रअ राजेन्द्र बहादुर राई र सागरिकाका बुबा गणेश मगरलाई भेंटे ।अस्पतालले पोष्टमार्टम ४ बजे मात्र हुनेभनेपछि उनीहरु निकै मलीन अनुहारमा यता उता हेर्दै थिए ।

सागरिकाका बाबु गणेशले भने ‘सर छोरा भनेनी छोरी भनेनी यही एउटी थिइ ।यस्ले पनि छाडेर गई ।आमा पनि विदेशमा छे ’ । यति भन्दैै गर्दा उनको आँखाभरि आशु भरियो । छोरीको मृत्यु भएको खबर सुनेपछि उनी बिहानै ताप्लेजुङबाट अस्पताल आएका थिए । संखुवासभा घर भएका उनले छोरीलाई पढाउन दिदीसासुकोमा राखेका थिए । स्काभेटर चलाउने उनी छोरीलाई पढाएर जागीरे बनाउन चाहान्थे । तर उनको सपनालाई मैदाने खोलामा आएको एकै छिनको खहरेले बगाएर लग्यो ।

फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिकाको सिमानामा मैदाने खोला छ । उक्त खोला पार गर्दै देउमाई नगरपालिका– १ बाट धेरै विद्यार्थी अध्ययनका लागि फाकफोकथुम– ६मा रहेको फलाटे माविमा आउँछन् । पानी पर्दा मात्र सो खोलामा बाढी आउँछ । अरु बेला प्राय खोला सुकेको हुन्छ । घटनाको दिन माथिल्लो भेगमा पानी पर्दा एकाएक बाढी आएको थियो । स्कूल छुट्टी भएपछि साथीहरु सहित सागरिका घर फर्कदै थिइन् । अन्य साथी खोला तरे तर सागरिका भने तर्न सकिनन् । उनलाई हेर्दा हेर्दै खोलाले बगायो । आज सागरिकाको मृत्युभएको छ दिन भएछ ।

उनको तस्विर अझै पनि मेरो आँखा वरिपरि घुमिरहेछ । स्कूल पठाएकी छोरीको घर आउँने बेलामा मृत्युको खबर आउँदा परिवारलाई कति पिडा भयो होला । सागरिकालाई मैले कैले पनि देखिन तर पनि यो खबरले मलाई हरेक पटक झस्काइरहन्छ । कक्षा ५मा अध्यनरत उनी पढाईमा निकै अब्बल रहेको शिक्षक बताउँछन् ।

एउटा भनाई छ । आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैनथ्यो । सागरिकाको मृत्यूलाई हामीले टार्न सक्थ्यौं । तर हामी चुक्यौं । हाम्रै कमजोरीले एउटी छोरीलाई गुमायौं । यसमा हामी सबैले कमजोरी स्वीकार्नै पर्छ । सायद त्यो ठाउँमा सामान्य पुल भइदिएको भए यो घटना हुने थिएन । खोलालाई सामान्य रुपमा लिदा अकल्पनिय घटना भयो ।

अहिले पनि धेरै बालबालिका जोखिम मोलेर पढ्नका लागि फलाटे मावि जाँदै छन् । घटना भएको स्थानमा अब पनि पुल नबन्ने हो भने कुनै पनि बेला अर्को दःुखद घटना हुन सक्छ । यो घटनाबाट पाठ सिकेर उक्त स्थानमा पुल बनाउन सबैले पहल गर्न जरुरी छ । स्थानिय निकायका जनप्रतिनिधिहरुको यसमा विषेस ध्यान जाओस् । हार्दिक श्रद्धाञ्जली सागरिका ।

गोपाल निरौला ,इलाम ।–

लेखक इलामका पत्रकार हुन । उनि ग्यालेक्सी फोर के  टेलीभिजनमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार