यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानको प्रथम वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

  युद्धबहादुर बोहोरा  256 पटक हेरिएको

 

इलामः यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानको प्रथम वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

स्वर्गीय कवि भानुभक्त भट्टराई र वहाँको श्रीमती यशोदा भट्टराईको नामबाट उनीहरुको परिवारले गतवर्ष स्थापना गरेको प्रतिष्ठानको वार्षिक उत्सव तथा स्व.भट्टराईको ८२ औं जन्म जयन्तीको अवसरमा भाद्र २६ गते शनिबार साहित्य सहितको संगीतमय कार्यक्रमको आयोजना गरिएको हो ।

भट्टराईका माइला सुपुत्र प्रतिष्ठानका सदस्य साहित्य तथा संगीत प्रेमी नारायण भट्टराई हाल अमेरिका बस्दै आएको हुँदा क्यलिफोर्नियाको समय  ६ बजे बेलुक फ्राइडे १० सेप्टेम्बर अर्थात् नेपाली समय ६:४५ बजे बिहान जुमप्रविधि मार्फत करीब तीन घण्टाको साँगितिक तथा साहित्यिक कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानका सदस्य भट्टराईले जानकारी दिए । नेपाली साहित्य तथा संगीतको विकास र विस्तारमा सहयोग पुर्याउने उदेश्यले सेवामा समर्पित यस संस्थाको अभियानलाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको र यसलाई निरन्तर दिइने उनले बताए ।

बरिष्ठ साहित्यकार डाक्टर घनश्याम परिश्रमीको प्रमुख आतिथ्य तथा प्रतिष्ठानको अध्यक्ष शान्ता रिजालको अध्यक्षतामा सहजकर्ता साहित्यकार बालकुमारी घिमिरे र बाबु आचार्यले संचालन गरेको कार्यक्रममा अमेरिका र नेपालका विभिन्न ठाँउबाट करिब ३० जना सर्जकहरु प्रविधिमा जोडिएर उनको सम्झना,श्रद्धासुमन साथै शुभकामना र रचना वाचन गरेका थिए ।

बरिष्ठ गायक डेनी निरौलाले ‘इलामैको चिया मिठो दुई पाते सुइरो,घुम्टो हाली छोपी दिने बादल होकी कुहिरो..’ बोलको सुमधुर गीतबाट कार्यक्रमको थालनी गरेका थिए भने गायक तथा साहित्यकार देवी गौतमले कवि भट्टराईको शिक्षा,शिक्षण,साहित्यिक योगदान सहितको जीवनी साथै हारमोनियमसंगै ‘मिक्लुङको त्यो चिसो पानी… हाँसी राख नि बोली राख थाहै नपाई जाला नि जवानी’ गीत प्रस्तुत गरेका थिए  ।

कार्यक्रममा प्राज्ञ कोमल निरौला,इन्दीरा दाहाल,मिलन कुमार ढुंगाना,बाबु आचार्य,इलामका कवि तथा साहित्यकार जयनारायण भट्टराई ,युद्धबहादुर बोहोरा,खिमानन्द पोख्रेल,नदी भट्टराई,मुक्ति पोख्रेल,टीका लम्साल,मेघनाथ बन्धु धनगढी,इन्द्र नारायण सुवेदी,विन्दु दाहाल ‘मुकदर्शक’,खोलाघरे साइलो,शुशिला शर्मा,शान्ता रिमाल,विनयी एचएन अबास,विजयान्ती मिश्र,जीवन रिजाल, तुलसी निरौला,दिनानाथ भट्टराई,दुर्गा क्षेत्री,हरि भक्त फुयाल,डिबी इलामे,प्रवेश गिरी लगायतले उनको सम्झना सहितको रचना वाचन गरेका थिए । त्यस्तै,.कवि भट्टराईको धर्मपत्नी यशोदा भट्टराईले पनि श्रीमानको सम्झनामा भज गोविन्दम् भज गोविन्दम्..मूढमते…..भजन प्रस्तुत गरेकी थिइन् । प्रविधिमा उनका नातेदार र परिवारका सदस्यहरु पनि जोडिएका थिए ।

प्रतिष्ठानका सदस्य गीता भट्टराईले प्रतिष्ठानले गरेको गतिविधिमा प्रकाश पार्दै भावी योजनाबारे जानकारी गराइन् । उनका अनुसार प्रतिष्ठानले आर्थिक वर्ष २०७७-०७८ सालमा इलाम फाकफोकथुम २ स्थित राष्ट्रिय माध्यमिक विध्यालय कोल्बोटेमा एकलाख एघार हजार एकसय एघार रुपैंयाको “भानुभक्त भट्टराई स्मृती कोष” स्थापना गरिएको बताइन् । उक्त कोषबाट गरिब तथा जेहेन्दार विधार्थीलाई वार्षिक रुपमा छात्राबृत्ति प्रदान गरिने भएको छ ।

यस्तै, २०७७ साल फागुन २५ गते कबि भट्टराईद्वारा रचित कविता संग्रह “अब्वाहन”को झापाको दमकमा एक कार्यक्रम बीच लोकार्पण गरिएको थियो । यसैगरी झापा जिल्ला कमल गाउँपालिका स्थित शिध्देश्वर गुरुकुल शिक्षा मन्दिरको स्कूल भवन निर्माण गर्न तथा पठनपाठन कार्यमा सहयोग गर्न जग्गा सहित नगद प्रदान गरिएको छ । इलाम जिल्लामा कोभिड महामारीको कारण उत्पन्न संकटमा स्वास्थ्य सामग्री जुटाउन सहयोग गर्ने उद्देश्यले ” इलामका लागि इलामेली” सहयोग अभियान अन्तर्गत यस संस्थाको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराइएको थियो । इलामे गायक रोशन गुरुङको अगुवाईमा अमेरिका र क्यानडाबाट संकलन गरिएको एकमुष्ठ रकम इलाम उद्योग बाणिज्य महासंघलाई प्रदान गरिएको थियो । प्रतिष्ठानले यसवर्ष शिक्षा,सिर्जना र श्रष्टाको सम्मान र प्रबर्दनमा टेवा पुर्याउने हेतुले ” भानुभक्त भट्टराई स्मृती सम्मान” पुरस्कारको स्थापना गरेको छ । यस पुरस्कारलाई अक्षय कोषको स्थापना गरि व्यवस्थित गरिने जनाइएको छ । यसवर्ष उक्त पुरस्कार नेपाली साहित्यकार विश्व संजालले गजलकार मोतिराम भट्टराईको १५६ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको विश्वब्यापी गजल प्रतियोगितामा प्रथम र द्वितिय स्थान हाँसिल गर्ने गजलकारहरुलाई पुरस्कार प्रदान गरेको छ । यस संस्थाको ब्यानरमा यसवर्ष दुईवटा म्युजिक भिडियो बजारमा ल्याइएको छ । पहिलो गीत “बितेका दिन छुटेको माया” मा अस्मिता अधिकारीको स्वर र डेनी निरौलाको संगीत रहेको छ भने दोश्रो तीज गीतमा मेलिना राईको स्वर र कमल भट्टराईको संगीत रहेको छ । दुवै गीतमा यस संस्थाका सदस्य नारायण भट्टराईको शब्द रहेको छ । नेपाली साहित्य र संगीतको विकास र विस्तारमा सहयोग पुर्याउने उदेश्यले स्थापित प्रतिष्ठानले समकालीन इलामे कविहरुलाई सिर्जनाको एउटै मालामा बुन्ने उदेश्य स्वरुप “कविताको क्यानभासमा ईलाम” शीर्षक कविता संग्रह प्रकाशन गर्ने निर्णय गरेको छ । उक्त कविता संग्रहमा इलामेली (हाल इलाम तथा इलाम बाहिर रहेका दुबै) कविहरुका सिर्जनाहरुलाई समेटेर इलामको विविधतालाई काब्यकला मार्फत उजागर गर्ने प्रयत्न रहेको छ । उक्त कविता संग्रह स्वर्गीय कवि भट्टराईको वार्षिक पुन्यतिथिको अवसरमा इलाममा एक कार्यक्रम गरी बिमोचन गरिने जनाइएको छ । बिमोचन कार्यक्रममा यस संग्रहमा सहभागिता जनाउनु हुने सर्जकहरुलाई सम्मान गर्ने प्रतिष्ठानको निर्णय रहेको छ । यस कार्यमा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरुको खुल्ला र सिर्जनशील सहयोग र सल्लाहको प्रतिष्ठानले अपेक्षा गरेको जनाइएको छ । सामाजिक र साहित्यिक कार्यहरुमा गहन भूमिका निर्वाह गर्ने र सबैको साझा प्रतिष्ठान बनाउन संस्थाले लक्ष्य राखेको जनाइएको छ । कार्यक्रमको अन्त्यमा साहित्यकार बालकुमारी घिमिरेले मुक्तक वाचन गरेर सहजकर्ताबाट विदा लिएकी थिइन् ।

को हुन् स्व. कवि भट्टराई ?

फाल्गुनन्द गाउँपालिका-१,सुर्केनागी निवासी स्व. रघुनाथ र माता हिमादेवी भट्टराईको कोखबाट वि.सं. १९९७ सालमा उनको जन्म भएको थियो ।

उनका बुबा पण्डित भएका कारण घरैमा शैक्षिक वातावरण मिल्यो । १० वर्षको उमेर हुँन लाग्दा २००६ सालमा फिदिम थाक्ले निवासी यशोदा खनालसंग उनी विबाह बन्धनमा बाँधिए । २०१० सालमा भट्टराई परिवार स्थान्तरण भइ हाल इलाम फाकफोकथुम २ कोल्बोटेमा आएका थिए ।

उनको औपचारिक शिक्षा २०१५ सालदेखि शुरु भयो । अध्ययनको शिलसिलामा २०१५ सालमा ताप्लेजुङ पुगे । त्यहींबाट २०१८ सालमा म्याट्रिक पास गरे । त्यसपछि उच्च शिक्षा अध्ययनको लागि भारतको बनारस गए । बनारसको बारणसेय संस्कृत विश्वविध्यालयबाट शास्त्री पास गरि नेपाल फर्किए ।

विएड  पुरा गरि नेपाली विषयमा एमए अध्ययनरत हुँदा नेपाल विधुत प्राधिकरणमा नायव सुब्बाको पदबाट जागिर शुरु गर्दैगर्दा  २०३० सालमा पारिवारिक जिम्मेवारी सम्हाल्ने सिलसिलामा घर फर्किए । लामो समयसम्म घरपरिवारबाट टाढा बस्दै आएकाले पछिल्लो समय उनलाई आफ्नै गाँउघरमा केही गर्ने इच्छा जाग्यो र गाँउकै हालको राष्ट्रिय माध्यमिक विध्यालय तत्कालिन प्रथामिक विध्यालयमा विना पारिश्रमिक एकवर्ष शिक्षण गरे । २०३१ सालमा इलामको करफोक माध्यमिक विध्यालयमा नेपाली विषय शिक्षक बन्ने अवसर मिल्यो । दुई वर्षपछि सिंह देवी माध्यमिक विध्यालय आम्चोकमा स्थायी शिक्षक बनेर पदस्थापन हुन पुगे । प्रधानध्यापकको जिम्मेवारीमा रहेर २०४२ साल सम्म त्यस विध्यालयमा रहे । तत्पश्चात् सरुवा भइ चिसोपानी माध्यमिक विध्यालय मिक्लाजुङमा २०४७ साल सम्म रहे ।

२०४६ सालको राजनैतिक परिवर्तनपछि शिक्षण संस्थाहरुमा पनि प्रत्यक्ष असर देखा पर्न गयो । तसर्थ काम गर्ने वातावरण असहज बन्दै गएपछि प्रधानध्यापकको पद त्यागेर शिक्षकको रुपमा अन्तु माध्यमिक विध्यालयमा सरुवा भए । जागीरे जीवनको उत्तरार्धमा इलाम नगरपालिकामा रहेको अमर माध्यमिक विध्यालय बरबोटेबाट २०५९ सालमा लामो शिक्षण पेशाबाट निवृत भए । शिक्षण पेशालाई मुख्य कर्म बनाएका भट्टराईको साहित्य प्रति पनि उत्तिकै सोख थियो । उनले लेखका लेख रचनाहरु स्थानीय पत्रपत्रिकाहरुमा पनि प्रकाशन भएका थिए ।

छन्द कविता लेख्न्न र वाचन गर्न असाध्यै मन पराउने कवि भट्टराईका केही प्रतिनिधि कविताहरु उनको ‘आव्हान’ संग्रहमा समेटिएका छन् । उनी इलाम साहित्य सङ्गीत प्रतिष्ठानका सक्रिय सदस्यका रुपमा कार्यरत थिए साथै स्थानीय संघसंस्थाहरुमा समेत आवद्ध थिए । विभिन्न संघसंस्थाबाट सम्मानित भएका भट्टराई केही समय भारत र अमेरिकाको समेत भ्रमण गरेका थिए । त्यहाँ रहँदा पनि साहित्य सृजनामा सधैं सक्रिय रहे । यसरी इलाम जिल्लाको शैक्षिक,साहित्यिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदा रहँदै विक्रम सम्बत् २०७८ जेठ २ गते उपाचारकै क्रममा ८१ वर्षको उमेरमा उनको निधन भयो ।

साहित्य प्रति रुचि, सामाजिक योगदान,आध्यात्मिक चेतना र सबैप्रति सद्भाव राख्ने भट्टराईका हाल श्रीमति,तीन छोरा,दुई छोरी र ११ नातानातिना छन् । उनकै प्ररणाले उनका सन्तति पनि साहित्य,संगीत र सामाजिक कार्यमा अग्रसर छन् । साथै पिताद्वारा रचना गरिएका तर छरिएर रहेका अप्रकाशित कृति,लेख तथा रचनालाई संरक्षण गर्दै लैजाने प्रतिष्ठानका सदस्य नारायण भट्टराईले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार