फाकफोकथुममा मन्दिर निर्माण गर्न जुटे स्थानीय,हालसम्म ५ लाख भन्दा बढी रकम संकलन

  युद्धबहादुर बोहोरा
1k Shares

 

प्रतीकात्मक तस्वीर

इलाम : फाकफोकथुम -१ चित्रेमा ‘सिंह बाहिनी मन्दिर निर्माण अभियान’ मार्फत पाँच लाख ६३ हजार नौ सय ४४ रुपैयाँ रकम संकलन भएको छ ।

साविक आमचोक-७ स्थित चित्रेमा रहेको सिंह बाहिनी देवीथानमा मन्दिर निर्माण गर्नको लागि गत महिना देखि स्थानीयले निजी स्रोतबाट रकम जम्मा गर्न शुरु गरेको मन्दिर निर्माण तथा आर्थिक संकलका अभियानकर्ता रितेश जंग खत्रीले जानकारी दिए ।

 

यस क्षेत्रमा बसोबास गर्ने स्थानीय विशेषगरी पौडेल वंश र अन्य थरका स्थानीय बासिन्दाहरुले परम्परादेखि मान्दै आएको उक्त देवस्थल संरक्षण र भौतिक संरचनाको अभावमा ओझेलमा परेको थियो ।
देवस्थललाई व्यवस्थित बनाउन र आवश्यक पुर्वाधार निर्माण गर्ने उदेश्यले सोही ठाँउका पौडेल दाजुभाइबाट तीन लाख ७९ हजार पाँच सय ३८ रुपैयाँ जुटेको छ भने फाकफोकथुम घरभइ हाल देश तथा विदेशमा रहेका दाताहरुले एक लाख ८४ हजार चार सय छ रुपैया सहयोग गरेका छन् ।

चलचित्र कलाकार संघ,नेपाल (फान) का केन्द्रिय सदस्य समेत रहेका स्थानीय अभियानकर्ता खत्री हाल सुनसरीको इटहरीमा बसोबास गर्दै पेशामा निरन्तर दिंदै आफ्नो पुर्खौली थलोमा मन्दिर निर्माणको लागि कम्मर कसेर आर्थिक जुटाउन यतिबेला व्यस्त छन् ।
स्थानीयहरुको सहयोग र यस क्षेत्रबाट युरोप,अमेरिका,अस्ट्रेलिया,फ्रान्स,टर्की,दक्षिण कोरिया,खाडी मुलुक लगायतमा पुगेका दाजुभाइ तथा दिदीबहिनीबाट आर्थिक सहयोग उपलब्ध हुँदै गरेको साथै रकम जुट्ने क्रममा रहेको उनले बताए ।

 

स्थानीय भक्तजनलाई पुजापाठ गर्न सहज बनाउने र यस ठाँउको धार्मिक पर्यटकिय स्थलको रूपमा विकास गर्न सकिने लक्ष्य सहित हाल बद्री पौडेलको नेतृत्वमा ११ सदस्यीय मन्दिर निर्माण तथा संरक्षण व्यवस्थापन समिति गठन गरि आवश्यक प्रक्रिया अगाडि बढेको उनले बताए । देवस्थल आसपासमा रहेको जग्गा स्थानीय बालकृष्ण दहालको श्रेस्तामा भएको र उनले मन्दिरको लागि केही जमिन नि:शुल्क प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको समितिले जनाएको छ ।

स्थानीय राजनितीकर्मी तथा समाजसेवी गजेन्द्र पौडेल प्रमुख सल्लाहकार समिति रहेको यस समितिले देवस्थल आसपास थप जग्गा,बाटो,खानेपानी,धर्मशाला निर्माण तथा अन्य कुराको लागि स्थानीय सरकार समक्ष पनि पहल गरिरहेको हुँदा इच्छुक महानुभावले मोबाइल नम्बर ९८०८५५१२४७ मा सम्पर्क गरि आर्थिक सहयोग गरिदिन पनि आग्रह गरिएको छ ।

यस अभियानमा सहयोग गर्ने सबैलाई स्थानीयले धन्यवाद दिएका छन् । मन्दिर निर्माणको लागि आवश्यक रकम पुरा भएपछि तत्काल निर्माण शुरु गर्ने र आर्थिक उपलब्ध गराउनु हुने महानुभावहरुको नाम शिलामा लेखिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार