पाँचथर : कुम्मायक गाँउपालिकाका किसानले लगाएको मकै खेतीमा गतवर्ष झैं यो साल पनि फौजी किराको आतंक शुरु भएको छ ।
बन्दाबन्दीका कारण किसानले समयमै बिषादी प्रयोग गर्न नपाएपछि मकै बालीमा फौजी किराको प्रकोप वृद्धि भएसंगै बाली नस्ट हुन थालेको छ ।
पालिकाका यासोक,रानीगाँउ,स्याबरुम्बा र माङ्जाबुङका विभिन्न क्षेत्रमा किराले मकै नस्ट गरेको हुँदा उत्पादनमा धेरै गिरावट आउने स्थानीय कृषकहरुको चिन्ता छ ।
बाली लगाएको सबै क्षेत्रमा एकै साथ बिषादी छर्कनु पर्ने पालिका कृषि शाखा प्राविधिक इम कुमारी तामाङले बताइन् । बिरुवा कलिलो भएको समयमा तीन पटक सम्म औषधि प्रयोग गर्दा किरा नियन्त्रण गर्न सकिने शाखाले जनाएको छ ।
तर,कसैले बिषादी प्रयोग गर्ने र कसैले नगरेमा आसपासका बारीबाट उत्तिकै किरा पुनः फैलिन सक्ने हुँदा उक्त समस्यामा किसानले पनि चासो राख्न कार्यालयले सबैलाई सल्लाह दिएको छ ।
तीन चरण सम्म बालीमा बिषादी प्रयोग गर्न तीन लाख बजेट बराबरको औषधि खरिद गरि ५० प्रतिशत छुटमा पहिलो चरण किसानलाई घरघरमा किटनासक औषधि वितरण गरिएको र अन्य चरणलाई किसान आफैं आएर शाखाबाट लैजान सकिने जानकारी गराइन् ।