
पाँचथर : फिदिम नगरपालिका-७,नाङ्लपा स्थित रानीटारमा निर्माण सम्पन्न गरिएको महागुरु फाल्गुनन्द युमा माङ्हिम (मन्दिर) अनौपचारिक उद्घाटन गरिएको छ ।
किराँत धर्मका प्रवर्दक महागुरु फाल्गुनन्द लिङ्देन गाउँघर हिड्ने क्रममा विक्रम सम्वत १९८६ सालमा उक्त ठाँउमा रहेको ओढारमा एक रात बास बसेका थिए । त्यसपछि यस स्थानलाई पवित्र भूमि मानेर पूजा गरिन्दै आएको हुनाले यस स्थानमा हाल मन्दिर निर्माण गरिएको निर्माण समितिका अध्यक्ष बलबहादुर नेम्वाङले जानकारी दिए ।
मन्दिर निर्माण गर्न ७ नम्बर वडा कार्यालयबाट उपलब्ध ५० हजार रुपैयाँ र स्थानीय बासिन्दाबाट संकलन गरिएको एक लाख ५० हजार रुपैयाँ गरि जम्मा दुई लाख रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको हो ।
स्थानीय किराँत पुरोहित मनकुमार फेजुङ नेम्बाङद्वारा थेवाथान स्थापना गरी एक सय आठ बत्ती बालेर पूजापाठ गरी विधिवत रूपमा मन्दिर उद्घाटन गरिएको उनले बताए ।
यस ठाँउमा हरेक महिनाको ५ गते स्थानीय धार्मिक आस्थावनहरुले पूजा गर्ने गरेका छन् भने प्रत्येक वर्ष जेठ महिनामा ठुलो पूजा समेत हुँदै आएको स्थानीयहरु बताउँछन् ।


















































