आजको साहित्य : कविता “त्यो पर्दैन”

  नयाँ बुलन्द  341 पटक हेरिएको

 

 

सीता आस्था ढुंगेल

तिमीलाई के के पर्छ
के पर्दैन
त्यो थाहा छैन मलाई
मलाई सिर्फ
एक मुठ्ठी श्वास थाहा छ ।
मलाई तिमीले बनाएको
बतासे रेल पर्दैन
पानी जहाजको अँध्यारो खेल पर्दैन
तिम्रो जस्तो सुविधा सम्पन्न
महलको रवाफ र अहङ्कार बोक्ने गाडी पर्दैन
पर्दैन सरकार
मलाई त्यो पर्दैन ।

मलाई त्यो पाइप लाइनको
ग्यास पर्दैन
तारे भिरमाथिको भ्युटावर पर्दैन
रातो कार्पेटमाथि उभिएको व्यभिचार पर्दैन
तिम्रो निर्वस्त्र मुस्कान र निर्लज्ज कानुन उस्तै छ
मलाई तिम्रो कुनै आश्वासन पर्दैन ।
भो ! जे जे दिएका छौ पुग्यो
अब तिमीले दिने कुनै पनि `त्यो´ पर्दैन

मैले मागेको हैन
आफ्नै गाँस काटेर बनाएको
मेरो ढुकुटीमा
मेरो अधिकार खोजेको हो आज
एक मुठी अक्सिजनसँग
एक अञ्जुली पानीसँग
आफ्नो भोक साट्न खोजेको हो मैले ।

कहिले हर्जना भनेर लुटिएँ
कहिले तिरो भनेर लुटिएँ
कहिले राजस्व भनेर लुटिएँ
कहिले जरिवाना भनेर लुटिएँ
कहिले जन्मदर्ता भनेर
मृत्युु दर्ता भनेर
कहिले घरनक्सा भनेर
कहिले लिलामी , बेरुजु र बक्यौता भनेर लुटिएँ
ढुकुटी आफ्नै हो
म पनि नागरिक हुँ भन्ने भ्रममा
धेरै पटक चुनावमा झुक्किए ।
म अब तिम्रो प्राणका निम्ति झुक्किन्न
मलाई
आज आफ्नै प्राणको अन्तिम मूल्य
अक्सिजन चाहिएको छ
तिमीहरू जे सुकै गर
मलाई मेरो साम्राज्य चाहिएको छ
मेरो लुटिएको ढुकुटी चाहिएको छ
मलाई तिम्रो कुनै पनि `त्यो´ पर्दैन ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार