कोरोना कहर (कविता):-“आमालाई चिठी”

  नयाँ बुलन्द  194 पटक हेरिएको

 


प्यारी आमा
मन भरिको माया
अनि मीठो सम्झना
आमा
हाल,नेपालमा कोरोना असाध्यै बढेको सुनेर
सार्है चिन्तित छु
मानिसहरु माक्स नलगाइ हिडेको
अनावश्यक आवतजावत गरेरको
समाचारमा हेरेर दु:ख लाग्छ
तिम्रो धेरै नै चिन्ता लागेको छ आमा
म बसेको ठाउँमा पनि निक्कै डर छ
तर पनि
मलाई तिम्रो बढी पीर छ
म आफू त, उमेरदार छु
जस्तो सुकै परिस्थितिको पनि
सक्छु सामना गर्न
तिमी बूढी र रोगी छौ
यहि कुराले मलाई भित्रभित्रै खाइरहेछ
पलपल यहि कुराले नै
मलाई झस्काइ रहेको छ
एक त यति टाढा छु म
अर्को कोरोना दिनानुदिन बढी रहेछ
मनको पीडा व्यक्त गर्ने शब्द नै पाइनँ
मन त मेरो
तिम्रो काखमा बस्ने छ तर
भाग्यले कहाँ दिदो रहेछ
न सोचेको पूरा हुन्छ
न त भाग्यले साथ दिन्छ
परिवारको खुसी
उनिहरुको भविष्य भन्दाभन्दै
कुन बेला उछिटिएर म
तिमीदेखि यति टाढा पुगेछु पत्तै पाइनँ आमा
ति तमाम भाग्यमानी छोराछोरीलाई
सम्झेर खुसी हुने गर्छु
जसले बुबाआमाको काखमा बस्ने
त्यो सु -अवसर प्राप्त गरेका छन्
साँझ बिहान जीवित देवताको
दर्शन गर्न पाएका छन
सँगसँगै दु:खी पनि हुन्छ
ति सन्तानलाई लिइएर
जसले आफ्ना बाआमालाई धरधरी
रुवाउँदै वृद्धाआश्रम सम्म पुराएका पनि छन् मन एकदम डराएको छ आमा
नेपालको समाचार पढेर
अनि आफन्तहरुले नै
लापरबाही गरेको देखेर
आतुर छु तिमीलाई भेट्न
तिम्रो काखमा शिर राख्न
ति हात मेरो शिरमा राखेर
तिम्रो आशिर्वाद लिनका लागि
टाढा छु तर पनि
तिमीसँगै छु जस्तो आभास हुन्छ मलाई
सधै तिम्रै वरिपरि
तिम्रै छत्र छाँयामा
आमा
म यहि टाढाबाट तिमी लगायत
ति सम्पूर्ण आमाहरुको अनि
सारा नेपालीको
सु-स्वास्थ्यको कामना गर्दछु
जसलाई कुनै पनि दु:खको हावाले
छुन नसकोस् भनेर।।

उहि छोरी
सिता पौडेल, काठमाडौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार