बच्चालाई टिफिन खुवाउनेको चिन्ता……

  नयाँ बुलन्द
6.7k Shares

 

(लेखक :- दुर्गा खनाल)

नयाँ प्रविधिको युगले फड्को मारेसंगै हरेक कुरामा परिवर्तन भित्रिएको छ । यसको प्रभाव झनै स्कुलमा पढ्ने विद्यार्थीहरु र तिनका अभिभावकमा देखिन थालेको छ ।

करिब दुई दशक अगाडिका विद्यार्थी र आजभोलिका विद्यार्थीमा मेहनत गर्ने,आफैं अध्ययन गर्ने,घरको व्यबहारमा सहयोग गर्ने,संस्कार सिक्ने जस्ता कुरा भन्दा मोबाइल,ल्यापटपमा गेम खेल्ने प्रति ध्यान बढ्दो छ अन्य कुरामा त्यति रुचि देखाउँदैनन् । खानपानका विषयमा समेत उनीहरुको भिन्नै स्वभाव पाइन्छ ।
यसै प्रसङ्गमा मैले आफ्नो बच्चालाई पुरानै खानपिनमा बानी पार्न कोशिश गरेता पनि साथीभाइको हेलमेलले प्याकेजका खाना तिरै आकर्षित हुने गरेको पाएँ । यस प्रतिको मेरो अनुभव र बुझाइलाई पस्कने जमर्को गरेकी छु ।

म एउटी संचारकर्मी महिला साथै एक सन्तानकी आमा पनि । बच्चाको आमा हुनुमा गर्व छ । अनि आमा बन्न हरेक महिलाले धेरै कष्ट बेहोर्नुपर्छ । यो प्राकृति नियममा म पनि अछुतो छुइन । म केही समय अगाडि देखि निजि अफिसमा नोकरी गर्दै आएकी छु । आमा बनेपछि कामसंगै बच्चा हुर्काउन निक्कै कठिनाई झेल्नुपरेको मेरो अनुभव छ । मेरो बच्चा दुई महिना हुँदा देखि मैले अफिसमा लिएर गएँ ।

अफिसको ड्युटी सम्हाल्दै बच्चा हुर्काउने क्रममा बच्चा दुई वर्षको भइसकेको थियो । सानो बच्चा अनि अफिसको नोकरी निकै चुनौतीपूर्ण बन्यो । त्यो जिम्मेवारी अनि संघर्ष त म जस्तै व्यावहारिक धेरै महिलालाई थाहा छ नै ।

सानै उमेर भए पनि मेरो बच्चा मनटेस्वरीमा भर्ना गरिदिए । त्यस पछि मलाई केही फुर्सद त भएको थियो तर आमा बनेपछि बच्चा साथमा नहुँदा के खायो ,विरामी पो भयो कि, खेल्दा लड्ने पो हो कि ? भन्ने चिन्ताले मनमा पिरोलि राख्थ्यो । उसलाई केही हुन्छ कि भन्ने डरले हरेक पलमा बच्चाको यादले मलाई सतायो । पक्कै हरेक आमालाई मलाई जस्तै चिन्ता नहुने त कुरै भएन । भनिन्छ, आमा बच्चाको पहिलो पाठशाला हो । उनीहरुको भविस्यको चिन्ता प्रत्येक आमालाई हुने गर्दछ । तैपनि आफ्नो साथमा राखेर सिकाएकोले मात्रै त कहाँ हुन्छ र ! आफुबाट अलग राखेर पढाउनु त पर्‍यो तर सहजै पढ्न पठाउन पनि कहाँ सकिन्दो रहेछ त ?

निकै मुटु मिचेर बाबुलाई स्कुलमा जाने बानी त लगाइयो तर त्यसमा पनि मेरो बच्चाको रगतमा हेमोग्लोबिन कमी भएको डाक्टरले बताउनु भएकोले प्रायः बिरामी भइरहने,खानपानमा ध्यान दिनु पर्ने लगायतका कुरामा मन्टेश्वरी भर्ना गर्दा सम्पूर्ण कुरा स्कुल प्रशासनलाई जनाएकै थिएँ ।
मन्टेश्वरीमा केही दिन सम्म अलगअलग गरेर स्वस्थकर परिकार बनाउने र खुवाउने वातावरण मिलाएकोले मलाई केही हद सम्म सन्तोष मिलेको थियो । बच्चा पहिला भन्दा कम बिरामी हुन थाल्यो ।
म पनि खानपिन तथा अन्य सरसफाइमा सचेत थिएँ । प्याकेटका खानेकुरा खान दिएको थिइन । बाल्यकाल देखिनै जङ्क फुडबाट अलग्याउँदै चार वर्षको बनाएँ ।
मेरो चाहाना थियो,बजारमा पाइने चिजबल,कुरमुरे,चाउचाउ जस्ता खानेकुराको भरसक नामै थाहा नपाओस् । ताकि यी चिजबाट वञ्चित राख्न सके मेरो बच्चाको स्वास्थ्य एकदम निरोगी बन्छ । हरेक समय बच्चा विरामी हुँदा डाक्टरको सल्लाह पनि त्यही पाइन्थ्यो । जो कोही आमाबुबालाई आफ्नो बच्चा स्वास्थ भइदियोस् भन्ने अवस्य हुन्छ ।

यसैबीच,मेरो बच्चाको नर्सरी फाइनल परिक्षा समाप्त भए लगत्तै गत साल कोरोना संङ्क्रमण बढ्दै गयो । लकडाउन सुरु भयो अब भने मलाई छोरासंग समय बिताउने फुर्सद मिल्यो । पौष्टिक आहार,फलफूल पर्याप्त मात्रामा खुवाएँ । संगै खेल्न र प्राकृतिक वातावरणना घुमफिर गर्न शुरु गरे । यो कोरोनाको कहरले लाखौंको जिवन बर्बाद त गर्‍यो तर कतिपय कुरा फाइदाहरु पनि भए । त्यस मध्ये मलाई भने मेरो छोराको स्वास्थ्य स्थितिमा चाँहि धेरै फाइदा भएको महसुस गरे ।

खानपानले गर्दा बच्चा बिरामी भएन, हेमोग्लोबिन बढेको डाक्टरले बताउनु भयो । समय सधै एकनास रहेन पुन: अफिस शुरू भयो । म र मेरो श्रीमान दुबै जना अफिस जान थाल्यौ ।
बिस्तारै स्कुल पनि संचालन हुन थाल्यो । छोराको मन्टेश्वरी भने सुरु भएको थिएन। हामी दुबै जनाले बच्चा प्रति सोचे जस्तो समय दिन नपाइ रहेको बेला नजिकैको एक निजी बिद्यालयका शिक्षकले बच्चाको पढाई प्रति चासो राख्दै भन्नु भयो,लामो समय बच्चाको पढाइ ग्याप रहँदा पढाइमा उनीहरुको चासो घट्ने र मानसिक असर समेत पर्न सक्छ भन्ने सल्लाह दिनु भयो । त्यस पछि अर्कै विद्यालयमा पठाउँन शुरु गर्‍यौं ।
त्यसपछि, फेरि बाबुलाई खाजा खुवाउने कुराले तनाव बढ्यो । पहिलो दिनको खाजा अण्डा र म:म लिएर बिद्यालय पुग्दा मलाई खाजा त्यति उचित नभएको महसुस गरे । मलाई पहिलो दिन अन्य बालबालिकाले खाजा के खान्छन् भन्ने याद भएन । दोस्रो दिनपछि घरबाटै जाउलो,कहिले गेडागुडीको रस र अण्डा,खिर,खिचडीका साथमा फलफुल लिएर जान थालेँ ।
बच्चालाई टिफिन खुवाउँदै गर्दा अर्को बेन्चमा साथीले खाइरहेको चिजबल देखाउँदै मरो बच्चाले भन्यो ,”मलाइ पनि यस्तै किन्दिनुन ममी ” म बच्चाको चाहाना सुनेर झसङ्ग भएँ ।

शुरुमा त यो पिरो हुन्छ, यस्तो खाँदा बिरामी भइन्छ भन्दै सम्झाएँ तर एकैछिन् पछि बच्चाको जिद्दी त हो झन अरु साथीहरुले खाएको चटपटे,चाउचाउ,चकलेट, कुरमुरे देखाउँदै मलाई पनि यस्तै ल्याइदिनु भन्दै झन धेरै जिद्दी गर्न थाल्यो ।
साथीहरूको देखेर त्यस्तै माग्न थाल्यो ।अनि मलाई दिनदिनै बच्चालाई टिफिन खुवाउन विषयमा चिन्ता बढ्न थाल्यो ।

अफिसको कामले गर्दा कतिपय समय म उसको टिफिन अवधिमा बस्न सक्दिनथे । म गएपछि साथीसँग मागेर प्याकेटका खानेकुरा खान थालेछ । प्याकेटका खाने कुराको स्वाद थाहा पाउन थाल्यो । यसअघि यस्ता खानेकुराबाट अपरिचित भएको बच्चा अब भने मामु यो कति मिठो हुन्छ, साथीहरु यो खाँदा बिरामी हुँदैनन त भनेर प्रश्न गर्ने भइसक्यो ।
आजभोलि बच्चाहरुको जिद्दी कै कारण होला ८० प्रतिशत भन्दा बढी अभिभावकहरु बच्चालाई विद्यालय जाने बानि पार्न उनीहरुको माग अनुसारका खानेकुरा किनिदिने,उनीहरुको इच्छा पुरा गर्न होस् या बाध्यताले महँगो प्याकेटका खानेकुरा लिएर बालबालिका स्कुल पुर्‍याउन बाध्य छन् ।
यति सम्म कि एक जना अभिभावक घरबाट बनाएर ल्याएको खाना कसैले नदेख्ने गरी लुकाएर बच्चालाई खुवाउँथिन तर बजारका प्याकेजका कानेकुरा भने कक्षा कोठाको अगाडि राखेर खुवाएको पाए ।
यसको अर्थ,घरायसी खानेकुरा भन्दा बजारको प्याकेजको खाना स्तरीय हो त ? कदापि हु सक्दैन तसर्थ,म आजभोलि अफिस मै ल्याएर खाजा खुवाउन थालेकी छु किन कि साथीहरूले खाएको प्याकेजको खानेकुराबाट बच्चा अलग भइदियोस् ।
मैले जङ्क फुडको लतबाट मेरो बच्चालाई जसरी टाढा राख्ने कोशिश गरे । यदि तपाईले पनि अलग्याउन प्रयास गर्नु भए तपाईं हाम्रा नानिहरुको स्वास्थ्यमा सुधार पक्कै हुन्छ र आम अभिभावक यस कुरामा संवेदशिल बन्न जरुरी रहेको ठानेकी छु ।

बच्चाको स्वास्थ्य र उसको शारिरिक बिकासको लागि स्वाथ्य,सफा,ताजा र पौष्टिक आहारको जरुरी हुन्छ । हामी अभिभावकलाई पनि यस्ता कुरामा सजग बनौं भन्ने मेरो आसय हो । विद्यालयमा प्याकेटका खानेकुरा मात्र बन्द गर्ने हो भने पनि बालबालिकाको लागि राम्रो हुन्थ्यो । सरकारले लागु गरेको दिवा खाजा पनि सबै क्षेत्रमा लागु गराउन सके राम्रो हुने थियो ।
सरकारले सरकारी बिद्यालयमा दिवा खाजाको व्यवस्थापन गरेर राम्रो काम गरिरहँदा निजी विद्यालयका बिद्यार्थीलाई प्याकेटका खानेकुरा खुवाउन होडबाजी नै चलेको को कि जस्तो भान हुन थालेको छ ।

अनि प्रायः अभिभावकले बच्चाको लागि महँगो पर्ने प्याकेटका खानेकुरा किन्दा म्याद गुज्रिएको खानेकुरा भएपनि हेर्ने चलन नहुँदा कतिको हानिकारक होला? तर एक किलोग्राम फलफुल किन्न भने महँगो भयो,ओइलिएको रहेछ, कहिले ल्याएको हो ? जस्ता बहाना र प्रश्न व्यापारीलाई सोध्न हिचकिचाउँदैनौ ।

बच्चालाई रेडिमेड खाना खुवाउनुको साटाेमा आफ्नै हातले बनाएको घरायसी खानेकुरा र फलफूलमा अनिवार्य गरान सके हाल विश्वमा देखा परिरहेका महामारी र विभिन्न रोग संग जुध्न सक्ने प्रतिरोधात्मक क्षमता समेत विकास हुने थियोे कि? यसबाट आम बालबालिकाको स्वास्थ्य राम्रो बन्ने थियोे कि ? एक पटक सबैले मनने गरौं,सम्बन्धित निकायको पनि ध्यान पुगोस् ।

फिदिम नगरपालिका,पाँचथर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार