निशुन क्लबका रङ्गहरु (जीवन/अनुभूति)

भीम राई

जङ्गलका राजा शिहँको अनुहार जस्ता आकृति देखिने चट्टानका पर्बत छिचोलेर बनाइएको सुरुङ मार्ग ‘लाइन रक टनल’ पार गरेपछि कोलाहलमय काउलुन सहर हङकङ हारबरसम्म लम्पसार परेको छ । चौबिसै घण्टा उस्तैगरि चम्किरहने काउलुन सहरमा दिन र रात छुट्याउन हरेक मानिसहरुलाई हम्मेहम्मे पर्ने गर्दछ । तिनै अलौकिक सहरको घना बस्ति चिम सा चुईमा अबस्थित क्यान्टोन रोड एक्कासी स्टार फेरीमा पुगेर मृत्युबरण गर्दछ । क्षण क्षणमा ब्यस्त भइरहने क्यान्टोन रोडले दाहिने किनारमा स्टार हाउसदेखि स्टार फेरिसम्म भिमकाय हारबर सिटी निर्माण गरिदिएका छन् । तिनै हारबर सिटीभित्र करिब ७ सय दोकानहरु ५० रेस्टुँराहरु ३ वटा होटलहरु र २ वटा ठूल्ठूला सिनेमा हलहरुका सुकोमल अनुहार देख्न सकिन्छन् ।

तीनताका ९० को दशक थियो । दुश्मनको छाँती गोलीले उडाइदिन्छु भन्दै बेलायती गोर्खा सेनामा भर्ति भएतापनि म तिनै सेनाका सैनिक ट्रक चालकसम्म भइ टोपलेका थिएँ । तर कसोकसो चन्द्रमा दाँहिने भएको बेला सैनिक ट्रकको स्टेरिङ्ग बटार्न नपरेको दिन कार हाक्न पाउँदा मेरा हृदय सबेरै फूल्ने सुन्दर गुलाफका फूलझै फुलेर फक्रने गर्दथे । जुलाई महिनाको एकदिन मैले कार चलाउने अबसर पाउँदा हर्षले गदगद भएको थिएँ । र, कारमा एकजना बेलायती सैनिक अधिकृतलाई लिएर काउलुन सहरमा अबस्थित हारबर सिटीमा पुगेको थिएँ ।

म पुर्वी नेपालको ग्रामिण भेकदेखि आएको एकजना अल्लारे ठेटना थिएँ । र, त्यसबेला मेरो जिन्दगी पनि एकदम अजिबकै थियो । केहिबर्ष अगाडी हङकङ आएर त्यहाँ भेटिएका आधुनिक सहरहरुलाई राम्ररी पढदै थिएँ । किनभने सहरमा देखिएका हरेक चिजहरु मलाई एकदम नौलो र अनौठो लाग्ने गर्दथ्यो । अझ त्यसदिन हारबर सिटिमा पुगेर बिशाल कङ्क्रिट द्वारा निर्मित बडेमाका महलहरु देखेर म चकित परिरहेको थिएँ । त्यहाँ भएका सुन्दर महलहरुको दृश्य आँखा थाकिन्जेल हेरेपछि टाउकोलाई सर्लक्कै घुमाएर सडक किनारमा लगेर पछारेको थिएँ । त्यसपछि सडक किनारमा सगर्ब खडा भएर उँभिरहेका हारबर सिटीको पेटिबाट हिडिरहेका अशख्याँ चाइनिज मुलका मानिसहरुको रमिता हेरेर आनन्दित भइरहेको थिएँ ।

त्यसबेला क्यान्टोन रोड अति ब्यस्त थियो । बिना आवाज सडकमा अबिरल गुडिरहेका मटरहरु आ-आफ्नो उदेश्य पुरा गर्न आतुर आतुर देखिन्थे । जुन र जुलाई महिनाहरु हङकङमा अत्याधिक गर्मीका महिनाहरु हुन । त्यसदिनको मौसम पनि गर्मीदेखि अछुतो हुन सकेका थिएन । तैपनि कसोकसो स्टार फेरीदेखि सरर बहदै आएको हावाको मन्दमन्द गतिले मेरो अनुहारसँग लुकामारी खेल्दा म थोरै आनन्दित भइरहेको थिएँ । तर जे सुकै मरोस है भनेर मौसम प्रति चासो राख्न छाँडेको थिएँ । त्यसपछि मुन्टो निहुर्याएर हाते घडिलाई एक झलक हेरे । घडिको मूख्यकाँटा कोल्टो परेर त्यसदिनको तेर्ह्र बजिसकेको थियो ।

हुनत म त्यसबेला एकदम तरल, कमजोर र निहत्था थिएँ । बेलायती सेनामा बिताउदै गरेका मेरा ती दिनहरु स-साना शावक चराका बच्चा जस्तै थिएँ । ‘मानिस स्वतन्त्र जन्मन्छ र जन्मेपछि चारैतर्फ बन्धनमा पर्दछ,’ भन्ने अर्धपागल रुशोको बिचार झै म सुस्तरी बन्धनमा पर्न थालेको महसुस गरिरहेको थिएँ । दिउसोको खाना खाने समयले बिदा लिएपछि मलाई असाध्यै भोक लागिरहेको थियो । तर के गर्ने ? कर्तब्यपथमा थिएँ । त्यसैले क्यान्टोन रोडको एउटा कुनामा उँभिएर आफ्नो सैनिक जीवनको दिनचार्यलाई मज्जाले स्मंरण गर्न थालेको थिएँ ।

मैले बेलायती गोर्खा सैनिकको आधारभूत रिक्रुट तालिम मलाया लाइन्स, सेकङ्मा लिएका थिएँ । आधारभूत तालिम सकेपश्चात् नजिकै रहेको सैनिक छाउनी बोर्नियो लाइन्समा सरेको थिएँ । त्यसपछिको मेरो कर्मक्षेत्र त्यँही बोर्नियो लाइन्स भएको थियो । तालिम केन्द्र मलाया लाइन्सदेखि बोर्नियो लाइन्स लगभग एक-दुई किलोमिटरको दुरिमा पर्दथ्यो । तैपनि सैनिकको सेतो कोच चँढेर त्यँहा पुग्दा मलाई अर्को लोकमा पुगेको जस्तो अनुभूति भएको थियो । त्यसरी बसाई सरेपछि केहिमहिना नयाँ छाउनीको २ नम्बर भवनमा बसेर मटर चालकको तालिम गरेको थिएँ ।

म पुर्णरुपमा सैनिकको ट्रक चालक भइसकेपछि केहि उत्साहित पनि भएको थिएँ । किनभने कुरा चालकको मात्र थिएन । त्यो भन्दा अगाडी मलाई कुनै पनि कुरोको सिप, ज्ञान र अनुभव केहि थिएनन् । अन्तत चालकको सिप जानि सकेपछि एकजुनी बाचिन्जेलसम्म पुग्नेछ भन्ने मनमनै लागिरहेको थियो । र, त्यँही सिपलाई अहिलेसम्म जीवन जिउने क्रममा पटकपटक प्रयोगमा ल्याइरहेको छु ।

हामी बसेको भवनको ठीक सामुन्ने अर्को ३ नम्बर भवन थियो । प्रत्येक बर्ष नयाँ सिपाहीहरु आउने त्यस भवनमा हामी बोर्नियो लाइन्स पुगेको तीन महिनापछि सरेको थियौ । हामी त्यहाँ सरेपछि बिबाह बन्धनमा नबाँधिएका वा बिबाह बन्धनमा बाँधिएतापनि आफ्ना प्राणपृय नेपालमा छाडन बाध्य भएका निराशलाग्दो सिपाहीहरु सँगसँगै बस्न थालेका थियौ । हुनत ‘कुनै पनि पदार्थ कहिले पनि नामेट हुन सक्त्तैनन् केबल रुप मात्र बदली रहन्छ,’ एङगेल्सले भनेझै तत्कालिन समयमा म रिक्रुटे जीवनदेखि रुप बदलेर जिटिआरको दुईवटा स्क्वाड्रनहरु मध्ये ३१ स्क्वाड्रनमा चालकको रुपधारण गरिसकेको थिएँ ।

बेलायती सैनिक छाउनी बोर्नियो लाइन्सको ती दुईवटा बिशाल भवनहरु यातायात पल्टन, गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट ‘जिटिआर’ को अधिनमा थियो । जिटिआर बाहेकका अन्य मानिसहरुले ती भवनहरुलाई ‘होमगार्ड’ हरुको वासस्थान भनेर साङ्केतिक भाषामा चिन्ने वा जान्ने गरेका थिएँ । हुनपनि त्यसबेलाको समय एउटा ढुङ्गे युगको समय जस्तै थियो, आजभोलीको समय जस्तो पटक्कै थिएनन् । त्यसैले यातायात रेजिमेन्टमा काम गर्ने धेरैजसो सदश्यहरुले आफ्नो १५ बर्षे सैनिक जीवनको समय त्यँही ब्यतित गरेर सेवादेखि निबृत हुनेगरेका थिएँ ।

ती दुईवटा भवनहरु मध्ये २ नम्बर भवनका कोठाहरु चाँही ‘ब्रिग्रेड अफ गोर्खाजका’ चालक तालिम गर्न आउनेहरु बस्दथे । म भर्ती भएपछिको बोर्नियो लाइन्स मेरो दोश्रो गन्तब्य थियो र तिनै स्थानमा बसेर मैले पनि तालिम लिएको थिएँ । चालक तालिमको समयमा लगभग ३५ बर्ष अगाडी बिताएका त्यस कोठाको यादहरु मेरा मस्तिष्कमा अहिलेसम्म ताजै अभिलेख भएर बसेकाछन् । त्यस भवनको सबैभन्दा आकर्षण पक्षचाँही मुनिको तलालाई मानिन्थ्यो । किनभने त्यहाँ एउटा सानो तर जीबित भट्टि पशल थियो । र, हरेक बेलुकी थुप्रै मानिसहरुसँग रमाइलो भेटघाट हुने त्यो भट्टि पशलको प्यारो नाम ‘निशुन क्लब’ भनेर राखिएको थियो ।

‘निशुन शब्द त्यस्तो शब्द हो, जसले हाम्रो पल्टनको एउटा सगौरव इतिहास बोकेको छ,’ सेताम्मे जुङ्गा पाकेका गुरुजीहरुदेखि मैले त्यसबेला सुनेको शब्दहरु हुन । उहाँहरुको भनाई अनुसार गोर्खा ट्रान्सपोर्ट रजिमेन्ट सन् १९५८ मा मलायामा खडा भएको थियो । त्यसबेला ट्रान्सपोर्ट रेजिमेन्ट खडा गर्नको लागि अन्य गोर्खा इन्फेन्ट्री बट्टालियनहरु बाट अधिकृत तथा जवानहरु ‘भोलन्टियर’ आएका थिएँ । त्यसको अर्कोबर्ष १ जुलाई १९५९ मा निशुन, सिङ्गापुरमा ३१ स्क्वाड्रन खडा भएको थियो । तीनै स्क्वाड्रन खडा भएको स्थान निशुनको सम्झना स्वरुप त्यस भट्टिपशलको नामाङ्कन ‘निशुन क्लब’ राखिएको थियो ।

मेरा भौतिक शरिर त्यसबेला हङकङमा भएतापनि सिङ्गापुर बाट आयतित त्यो शब्द मलाई किनकिन एकदम पृय लागिरहेको थियो । मौसमको परिवर्तन सँगसँगै समय समयमा त्यस क्लबले बिभिन्न थरिको रङ्ग बदल्ने गर्दथ्यो । किनभने त्यहाँ पृय र अपृय दुवै प्रबृतीका घटनाहरु घटने गर्दथ्यो । त्यहाँ बर्षभरी हुने बिभिन्न खेलकुद र चाँडपर्वको बेला बृहत भोजको पनि ब्यबस्था हुन्थ्यो ।

यदाकदा भोजको बेला प्रदर्शन हुने नाँच गानले ठूल्ठूला होहल्ला र बिकृती पनि ल्याउने गर्दथ्यो । होहल्लाको बाबजुद एक आपसमा पेय पदार्थले मोलमाल र भाइबन्धुको छलफल कुनाकुनामा लामै समयसम्म चल्ने गर्दथ्यो । आक्कल झुक्कल फलाना र ढिस्का मात्र आफ्नो मान्छे हुन र बाँकी सबै शिकार हुन भन्दै गरेको गुह्य कुरो सुनेर कसैकसैले बखेडा पनि झिक्ने गर्दथे । अनि त्यस्ता बखेडा र ल्याङल्याङको बिजारोपणले बिकशित रुप लिदा झगडासम्म हुने गर्दथ्यो ।

सबैको लागि अति प्यारो तिनै क्लबको बाहिरी पर्खालमा एउटा जिउँदो सुचना पार्टी रहेको थियो । आफ्ना मानिसहरुको पदोन्नती भएको सुचना बेला वा कुबेलामा त्यहाँ टाँसिने गर्दथ्यो । त्यस्तो बेमौसमी समयमा गरिएको पदोन्नतीले बढुवा नभएका मानिसहरुको हृदयलाई निक्कै ठूलो असर पुर्याउदथ्यो । त्यसरी सुचना टाँसिएको बेलुकी भयाबह मध्यरात पार गरेर बिकराल अबस्थामा पुगेको बेला क्लब बाहिर सामुन्द्रिक आँधीबेरी टाइफुन ८ ले ल्याउने आवाज झै एक्कासी ठूल्ठूलो आवाजहरु ल्याउँदथ्यो ।

त्यस्तो मेचक अध्याँरो पापी रातले सबैभन्दा ठूलो अन्याय त क्लबको वरीपरी रहेका फूलका गमलाहरुलाई पर्न जान्थ्यो । हामी त्यसबेला पल्टनघरको सबैभन्दा स-सानो भाल्टाङ भुल्टुङ बच्चाहरु जस्तै थियौ । र, सैनिक घरभित्र हुने त्यस्तो जघण्य राजनैतिक अपराधका बारेमा हामीलाई केहि अत्तोपत्तो हुदैनथ्यो । तर हरेक बिहान क्लबको वरीपरी सफा गर्ने उत्तरदायित्व केबल हामीलाई मात्र रहेको थियो । मानौ त्यो कर्म हाम्रो कर्तब्य भित्र पर्दथ्यो ।

सबैभन्दा खेदको कुरो चाँही के हुन्थ्यो भने अध्यारो रातमा सारा गमलाहरु टुटेफुटेका हुन्थे । त्यसरी अनायसै फक्रनका लागि शरद ऋतु पर्खेर बसेका कोमल फूलका गमलाहरु त्यसबेला किन टुटछन् वा फुट्छन् होला भनेर नम्बरीहरुसँग एकअर्कामा शङ्कास्पद सवाल गर्दथ्यौ । तैपनि निशुन क्लबमा यदाकदा हुने तीनै आपराधिक घटनाहरु मेरा लागि एउटा अबिस्मरणिय क्षण भएर अहिलेसम्म म सँगसँगै बाँचीरहेकै छन् ।

साच्चै संसारमा घटना त्यसै नघटने रहेछन् । अलिक पछि बुझ्दै जाँदा, ‘आफ्ना जति राम्रा मान्छे, र पदोन्नती जति आफ्नोले मात्र पाउनु पर्छ,’ भन्ने युक्ति त्यसबेला पल्टन घरमा क्यान्सर रोगझै फैलिएका रहेछन् । शाब्दिक अर्थमा भन्नुपर्दा क्रुर राक्षसहरुको पन्जामा रहेको निशुन क्लब एउटा ऐतिहासिक पापिष्ट स्थान रहेछ । किनभने त्यहाँ उत्पन्न हुने कुनैपनि प्रकारको भाइरसले हरेक सिपाहीको सैनिक जीवनको उज्वल भबिश्य निर्धारण गर्ने गर्दथ्यो । त्यति खराब स्थान भएतापनि एकजना अभागी सिपाहीले त्यहाँ बारम्यानको काम गर्नुपर्ने हुन्थ्यो । मैले किन यहाँ अभागी शब्दको प्रयोग गरे भनेर मेरा पाठकहरुलाई संक्षेपमा दर्शाउन चाहन्छु ।

‘खै किन हो किन ?’ मलाई पल्टन घरमा बारम्यान र बाख्रा गोठाला गर्न पटक्कै छुद्दे जागेर आउदैन थियो । रातभरी मादक पदार्थ सेवन गरेका गुरुजीहरुले छाडने गरेको राक्षसी भाषासँगको समय कटाउन मलाई जीवनमा सगरमाथा बिजय प्राप्त गर्नु जस्तै कठिन लाग्दथ्यो । अनि बाख्रा गोठालोको कथा चाँही अलिक छुट्टै थियो । किनभने भर्तीहुन अगावै अनगिन्ती डाँडापाखा र बन जङ्गलमा बाख्रा चराइ सकेको अनुभव म सँग जीवितै रहेको थियो ।

पुनः पल्टनघरमा भर्ती भएर एक हातमा एउटा लट्ठी र अर्को हातमा एक बोतल पानीको साथमा रङ्ग खुइलिने मात्रै होइन तन्केर छाँती बङलङ्गै देखिने सरकारी रातो टिसर्ट, घरिघरी इन्जार चुँडिने निलो बेलायती जाङ्गे र जङ्गली रङ्गको छत्रे टोपी लगाएर सेकङ बिमानस्थलको वरीपरी, ‘आ… लाखे लाखे तलाई,’ भन्दै बाख्राहरुलाई ढुङ्गा हान्दै हिडदाको बिरमाइलो क्षणलाई सम्झदा जिन्दगी एकदम बिरक्त्त लाग्ने गर्दथ्यो ।

अ, फेरी कुरो तिनै क्लबमा काम गर्ने एकजना गुरुजीको गरौ । तर अहिले नै उनको नाम उल्लेख नगरी हालौ । उनले हरेक बिहान कुक हाउसदेखि एउटा ठूलो भाडोमा (टि अर्न) चिया लिएर भट्टि पशलको अगाडी सजाइ दिने गर्दथे । आफ्नो परिवारलाई साथैमा राख्न पाउने अधिकार पाएका हाकिमहरु उठने बितिक्कै घरबाट चिया नपिइ सिधै सरकारी चिया पिउनको लागि प्रत्येक बिहान त्यहाँ उपस्थित हुने गर्दथे । ‘खै कुन्नी के हो ?’ आफ्नो श्रीमतीको कोमल हातले बनाएको चिया नपिइ काममा आउँदा के कति पैसा बँचाउन सकिन्थ्यो होला, त्यो चाँही मलाई यकिन हुन सकेको थिएन ।

तर हाकिमहरुको निशुनमा उपस्थित हुन अगावै चिनिया पत्रिका ब्यापारी चिकाउले झिसमिसेमा खबर कागज ल्याएर छाडी दिएका हुन्थे । यसो क्लब बाहिर सफा गर्दैगर्दा छडके दृष्टिगोचर गर्ने हो भने तत्कालिन समयका गोर्खाली हाकिमहरुले दिमाग बृध्दि गर्ने बिषयहरु कला, शाहित्य, भाषा, धर्म, राजनीति, इतिहास, भूगोल र यात्रा सम्बन्धिका समाचार कहिलै अध्यान गरेका देखिदैनथ्यो । त्यसको सट्टामा त्यसबेलाका प्रख्यात घोडीहरु रिभर भर्डनदेखि रिभर साइरनसम्म र जक्किहरु बार्ट लेस्सरदेखि लेस्टर पिक्केटसम्म कण्ठस्त बनाउने गर्दथे । किनभने हङकङको हरेक बुधबार बेलुकी ह्याप्पी भ्याल्ली र शनिबार दिउँसो सातिनमा कुनकुन घोडाहरु क-कस्ले दगुराउदैछन् र कुन घोडाले कति वजन बोक्दैछन् भनेको मात्रै आध्यान गर्दथे ।

चिया परेड सकिएपछि हाकिमहरु आ-आफ्नो कार्यलय तिर रमाना गर्नुहुन्थ्यो । निशुन क्लबलाई कर्मक्षेत्र बनाउनु भएका बिचरा गुरुजी रातभरी उधाँरो बेचेको पेय पदार्थको पैसा उठाउन खाता र पेन्सिल बोकेर ग्राहकहरुको खोजीमा मटर पार्कतिर जानु हुन्थ्यो । त्यसपछि निशुन सुनसान मरूभूमीमा परिणत भएर एउटा उजाँड स्थल बन्ने गर्दथ्यो । क्लबको सिधै अगाडी बाँच्ने इच्छा शक्त्ति अतिकम भएका एकजोडी दुर्बल बुढो बयसका रुखहरु थिएँ । प्रथम अफिम युध्ददेखि निरन्तर बाँचीरहेका तिनै बयसका रुखमा एकजोडि ढुकुरले हरेकबर्ष गुँड लगाउने गर्दथ्यो । तिनै जोडी ढुकुरहरुले खाना खोज्ने क्रममा दिनभरी निशुन क्लबलाई पहरा दिइरहने गर्दथे ।

निरही ढुकुरहरु आफ्नो गुँडमा बास बस्न पसेपछि बेलुकीको ठिक ७ बजे ठूलो घण्टिको साथमा पुनः भट्टि पशल खोलिने गर्दथ्यो । सुस्तरी सुस्तरी भट्टिले आफ्नो गति लिदैगर्दा बरफ भित्र मज्जाले आराम गरिरहेको कार्ल्सबर्ग, टाइगर्स र सानमिगेल बियरहरु धमाधम बिक्री हुन थाल्दथ्यो । बियरको साथसाथै जलसेनाहरुले खाने ‘नेभी रम’ पनि समय समयमा त्यहाँ बिक्रि बितरण हुने गर्दथ्यो । पल्टन घरभित्र नेभि रमले निक्कै लामो कीर्ति बोकेको एउटा इतिहास थियो । किनभने बेलायती सेनाहरुले सन् १६५५ देखि हरेक बेलुकी एक-एक गिलास (टट) रम सित्तैमा पाउँने गरेका थिएँ । तर कालान्तारमा गएर सन् १९७० को दशकमा त्यो सुबिधाले सदा सर्बदाका लागि बिदा लिएर गइसकेको थियो ।

भट्टि पशलभित्र बियर र रम बाहेक चिसो कोकाकोला, फ्यान्टा, क्रिमसोडा र केहि बदामका गेडागुडी पनि बेच्ने चलन थियो । क्लबको बायाँ दिशामा मझौला प्रकारको कोठा थियो । त्यस कोठामा एउटा ठुलो टेलिभिजन र केहि आरामदायि कुर्सिहरु पनि राखिएका थिएँ । तर जो कोहिले ती कुर्सिहरुमा बस्नको लागि आफ्नो कुखुरे छाँती खोलेर आँट गर्न सक्तैनथे । धेरै लामो सेवा गरेर निबृत हुन लागेका र लामालामा जुङ्गा पालेका बरिष्ठ गुरुजीहरुले मात्र कुर्सिमा मज्जाले आसन गर्ने गर्दथे ।

हरेक बेलुकी टेलिभिजनमा आउने समाचार हेर्नको लागि हामीले पनि त्यो सुबिधा प्राप्त गरेका थियौ । अति भद्र एबम शालिन भएर त्यस कोठामा पुग्दा आरामदायी कुर्सिमा आसन ग्रहण गरिहाल्ने आँटचाँही गरिहालेका थिएनौ । किनभने जता फर्केपनि सिनियर गुरुजीहरुको डरलाग्दो अनुहारहरु मात्र देखा परिरहेका हुन्थे । त्यसैले परजिवी किर्ना झै कोठाको भित्तामा लपेसिएर सास नफेरी उँभिरहने गर्दथ्यौ । अङ्ग्रेजी भाषामा प्रशारण हुने समाचारलाई मैले केहि बुझ्दिन थिएँ । तर उर्लदो बैशमा चढँदै गरेको एउटा जवान ठिटा भएकोले टेलिभिजनका चिनिया समाचार बाचीका मे वङको सुन्दर अनुहार हेरेर प्रफुल्लित हुने गर्दथे ।

अ, क्लबको दाहिनेतिर अर्को एउटा कोठा पनि थियो । जहाँ एउटा स्नुकर टेबल पनि राखिएको थियो । समुन्द्रमा ठूलो माछाले सानो माछालाई खप्लक्कै खाने प्राकृतिक नियम भएझै त्यहाँपनि ठूलोले सानोलाई सर्लक्कै खाने नियम लागु हुन्थ्यो । ती नियमहरु सम्झदा अहिले पनि मेरो आङ्ग सिरिङ्गै हुने गर्दछ । त्यसैले कुनै कुनैबेला यस्तोसम्म लाग्थ्यो । सायद पल्टन घरमा, ‘मानव सेवा नै धर्म हो’ भन्ने कुरो एकदम बिरलै मात्र पाइन्छन होला ? तैपनि अतितका ती पानाहरु एकचोटी सरर पल्टाउने हो भने त्यसबेला बितेका समयहरु मेरा लागि अलिअलि त रोमान्चकारी नै थिएँ ।

मेरो मूख्य काम सैनिक चालक भएपनि हरेक दिनको गतिबिधीहरु फरकफरक हुने गर्दथ्यो । यधपि दिनभरी जस्तोसुकै काम गरेको भएतापनि बेलुकीको ठिक ६ बजे भोजनघर (कुक हाउसमा) खाना खोलिन्थ्यो । कारखानामा प्रयोग हुने कुनै मेशिन झै खाना निश्चित समयमा खोल्ने र निश्चित समयमा बन्द हुने गर्दथ्यो । यदि कुनै कारणबस खाना छुटन गयो भने भोलीको दिनसम्म कुर्नु पर्दथ्यो । अथवा सुकेर बाँसी भएका चाउचाउ वा केहि अन्य उपाय अपनाएर रात काटनु पर्दथ्यो ।

बोर्नियो लाइन्सको भोजनघर हामी बस्ने भवनदेखि ढुङ्गा फाल्दा पुग्ने दुरीमा थियो । छाउनीदेखि बाहिर अन्त कतै जान नसकेता पनि आँखा चिम्लेर भएपनि भोजनघर सजिलै पुग्न सकिन्थ्यो । त्यहाँ हरेक बिहान बेलायती खाजा उपलब्ध हुने गर्दथ्यो । दिउँसो र बेलुकीको खाना चाँही दाल, भात, सब्जी र बिभिन्न प्रकारको मासुहरु पाक्दथ्यो । भोजनघरमा पाइने मासुहरु मध्ये जिरे खुर्सानी मिसिएको दुम्बाको मासु निक्कै प्रख्यात थियो । मैले पल्टन घरलाई सधैको लागी छाडेदेखि अहिलेसम्म त्यस्तो स्वाद अहँ कतै पाउन सकेको छैन ।

बेलुकीको खानापछिको समय मेरो लागी अलिक कठिन समय रहेको थियो । किनभने म हतारहतार अधिकृतहरुको ब्यक्त्तिगत घरमा चपरासीको (अर्डली) काम गर्नु जानु पर्दथ्यो । हामी जहाँ बसेका थियौ । त्यस भवनको नजिकै उहाँहरु आ-आफ्ना परिवारहरु सँगसँगै सरकारी आवासगृहमा (फेमिली लाइन्स) बसोबास गर्नुहुन्थ्यो । म तिनै गोर्खा अधिकृतहरुको आधिकारिक निवास स्थानमा बिरालोको चालमार्दै चपरासीको कामगर्न पुग्दथे ।

त्यहाँ पुगेर मालिकले दिनभरी लगाउनु भएको कपडाहरुलाई इस्तिरी लगाइ दिने गर्दथे । त्यसबेला जङ्गी पोशाक मात्रै नभएर सर्लक्कै आफ्नो अनुहार देखिने गरेर हाइल्याण्डर बुट पनि चम्काइ दिन्थे । तर खेदको कुरो के थियो भने कुनैबेला बुट टल्काउनको लागी घण्टौघण्टा समय खर्च हुने गर्दथ्यो । हुनत पल्टनघरमा हुने ती सबै नियमित कामहरु मेरा लागी सामन्य नै भइसकेका थिएँ ।

समय समयमा भान्जाभान्जीले दिनभरी खेलेर पशिनै पशिना बनाएका एकभारी स्कूले कपडा ल्याएर, ‘मामा’ भन्दै मेरो अगाडी थपक्कै थुपारी दिदा मेरो हृदय कताकता जलेर खरानी हुने गर्दथे । त्यसबेला कहि नभएको जेब्राघोडाले जस्तो जोरलात्ती उँचालेर उनीहरुको पानीपेटमा हिर्काइ दिउँकी जस्तो भान पर्दथ्यो । तर, खै मैले भोगेका तीनै ऐतिहाशिक अन्यायहरु सैनिक जीवनका कर्तब्य भित्र पर्छन कि पर्दैनन् होला भनेर अहिलेसम्म छुट्याउन सकिरहेको छैन । सायद मरोणोप्रान्त छुट्याउन पनि सक्त्तिन होला ? त्यसैले बहुत धर्मशङ्कटमा परिरहेकै छु ।

छाँतीमा दायाँ हात राखेर भन्ने हो भने मलाई चपरासीको काम गर्न निक्कै कष्टकर जिन्दगी झै लागेको थियो । तै पनि मैले त्यसबेला उज्वल भविश्यको आशा गर्दै खुरुखुरु नुनको सोझो गरिरहेको थिएँ । चपरासीको काम सकेपछि ठीक ११ बजे आफ्नो कोठामा पुगेर सुत्नै पर्ने सैनिक नियम थियो । खै ! त्यस कोठालाई आफ्नो कोठा भनौ कि के भनौ ? किनभने एउटा कोठामा लमतन्न परेर सत्र भिरङ्गी अठार धातुका ८ जना सिपाहीहरु सुत्ने गरेका थियौ ।

मलाई अहिले सम्म राम्रै सम्झना छ । हरेक रातको ठीक ११ बजे सिपाहीहरु आ-आफ्ना पलङ्मा सुतेको छ वा छैन भनेर छडके जाँच गर्नको लागि गुरुजीहरु कोठाकोठामा आउने गर्नु हुन्थ्यो । उहाँहरुले समयमा नसुतेको सिपाहीहरुको नाम र चार अङ्क सैनिक नम्बर ड्युटी सार्जन्ट सामु पुर्याउनु हुन्थ्यो । त्यसरी अनुपस्थित सिपाहीहरुको नाम टिप्नको लागि चम्किलो मुद्रामा ड्युटी सार्जन्ट खाता र पेन्सिल लिएर निशुन क्लबमा तयार भएर बसिरहनु हुन्थ्यो ।

आफ्नो पलङ उदाङ्गो छाडेर ‘निशुन क्लबको’ सट्टा ‘पुसिक्याट क्लब’ पुग्ने सिपाहीले भोली बिहानै दुई नम्बर जङ्गी पोशाक सिउरेर सुरिलो पोजिसनमा सार्जन्ट मेजरलाई भेटनु पर्दथ्यो । पुसिक्याट क्लबमा के कस्ता गतिबिधि हुन्थ्यो भनेर जानकारी दिन मैले यहाँ त्यति उपयुक्त्त ठानिन । तर गोर्खा ब्रिग्रेडका हरेक सदश्यहरु आ-आफै जानिफकार नै हुनुहुन्छ ।

जे होस, त्यसपछि सार्जन्ट मेजरको आदेशमा टोपी र पेटी खोलेर ‘लेफ्ट राइट’ गर्दै अफिसर कमाण्डिङको (ओसी) टेबल समक्ष पुग्नु पर्थ्यो । त्यस समयमा ओसी साहेब बेलायती अधिकृतहरु मात्र हुने गर्दथे । अहिलेको जस्तो छ्यासछ्यास्ती गोर्खालीहरु हुने थिएनन् । तिनै ओसी साहेबले, ‘समयमा नसुत्ने तिमी सार्है नराम्रो मान्छे रहेछौ । ब्रिग्रेड अफ गोर्खाज स्टान्डिङ इन्स्ट्रक्सनको (बिजिएसआई) धारा २७ को उपधारा २ बमोजिम म तिम्रो ७ दिनको तलब काटिदिन्छु । र, अब उप्रान्त तिम्रो पदोन्नती नहुने रिपोर्ट पनि लेखिदिन्छु, भन्दथे ।

तिनै बिचित्रको स्मंरण सहित म एकाध क्यान्टन रोड किनारमा उँभिरहेको थिएँ । बिहान सबेरै भोजन गरेको ससेज, रोटी र उसिनेको अण्डाले समयमा नै बिदा गरिसकेको थियो । यदी त्यसबेला सैनिक क्याम्पमा हुँदो हुँ त भोजनघरमा पुगेर पहिलो गाँस घाँटीमुनी पठाइ सकेको हुन्थे । तर दुर्भाग्यबश शक्त्तिहिन सिपाही भएर हारबर सिटीको ठिक सामुन्ने उँभिरहेको थिएँ । र, त्यहाँ देखिएको झिलिमिली दृश्यले थोरै भोक र प्यास मेटने प्रयत्न गरिरहेको थिएँ ।

त्यस दिनको मध्यान्हको मौसम ज्यादै राम्रो थियो । म सिधै माथिको नाङ्गो आकाश सर्बाङ्ग निलो देखिन्थ्यो । शून्य आकासमा बादलका टुक्राहरु कतै देखापरेका थिएनन् । हङकङ पिकदेखि लजाउदै लजाउदै आएको सूर्य दुईटाङ्गो कोल्टे परिसकेको मेरो छाँया देखेर चाल पाएको थिएँ । त्यसबेलासम्म बेलायती सैनिक अधिकृतको नाकमुख देखापरेका थिएनन् । म भित्रभित्रै भोकले रन्थनिएको भएतापनि घरिघरी सडक किनारमा देखापरेका जोडी ढुकुरहरु जस्ता देखिने चाइनिज युबायुबतीहरुको खेल हेरेर प्रफुल्ल हुने गर्दथे ।

अनि मनमनै सोच्दथे, ‘सबै मानिसहरुको अहोभाग्य कहाँ एकै प्रकारका हुनेरहेछ र ? म त त्यसै दुःखी छु ।’

अक्सफोर्ड, बेलायत ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार