रुद्र पाहिम र चापेतीको आमाको मिक्‍वा चुरु चुरु सार्वजनिक (भिडियो सहित)

ललितपुर : तमोर फिल्म्स प्रा.लि. र यल्लिउड इन्डस्ट्रीजको प्रस्तुतिमा निर्माण भएको ‘मिक्वा चुरु चुरु….’ (आँशु तपतप) सार्वजनिक भएको छ ।

ललितपुरको नखिपोटस्थीत रेष्टुरेन्ट युङ्चामा एक कार्यक्रम गरी गीतको भिडियो सार्वजनिक भएको हो ।

कार्यक्रममा हङकङबाट उपस्थित भएका किरात याक्थुङ चुम्लुङ हङ्कङका पूर्वअध्यक्ष त्रिभुवन लुम्फङ्वा, समाजसेवी लोक आङ्बुहाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापो, चलचित्र निर्देशक दिनेश लिङ्देन, कियाचु हङकङका सदस्य कुन्सा योक्पाङ्देन, पत्रकार लेखक देवेन्द्र सुर्केली, चलचित्र निर्देशक तथा सञ्चारकर्मी सागर सुब्बा, गायनक्षेत्रमा सक्रिय जेपी नेम्बाङ, सुमन लिम्बू, जीवन केदेम, सबिना योङहाङ, दीपा सुहाङ, कलाकार बबि नेम्बाङलगायत भिडियोसँग सम्बन्धित कलाकारहरूको उपस्थिति थियो ।

भिडियो सार्वजनिकसँगै कियाचु हङ्कङका पूर्वअध्यक्ष लुम्फङ्वाले भिडियोले परदेशिनुपर्दाको वियोगलाई राम्ररी समेट्न सकेको बताए । लोक आङ्बुहाङले यस्ता राम्रो कामको लागि हङ्कङबाट राम्ररी सहयोग गर्न सक्ने बताए । त्यसैगरी दिनेश लिङ्देनले केही प्राविधिक पक्षमा सुधार्नुपर्ने भए पनि समग्रमा भिडियो अत्यन्तै राम्रो रहेको बताए । लेखक÷पत्रकार देवेन्द्र सुर्केलीले चलचित्रले दृश्यसँगै भाषा विश्वभर पु¥याएको प्रसँग उक्काउँदै यस्ता भिडियोहरूले लिम्बू भाषालाई प्रचार गरेको तर लिम्बूहरूले प्रयोग गर्ने लिपि हुँदाहुँदै प्रयोग नगरेको प्रसँग ल्याएको बताए ।

कियाचु, नेपालका महासचिव निरन्ती तुम्बापोले लिम्बू गीतहरूमा बेप्रसँग लिम्बू गरगहनालाई प्रयोग गरेको आरोप आइरहेको बताउँदै यस भिडियोमा सुहाँदिलो प्रयोग गरेको बताएकी थिइन् । लिम्बू जातिले यस्ता क्रियाकलाप गर्नु समुदायको सम्पत्ति हो, तुम्बापोको थप भनाई थियो । निर्देशक सागर सुब्बाले राम्रो कार्यलाई सँधै शुभकामना दिने बताएका थिए भने भिडियोका कलाकारहरू रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेन, गायक एकान्त आङ्देम्बे र निर्देशक हाङ चेम्जोङले काम गर्दाका अनुभव सुनाएका थिए ।

एकान्त आङ्देम्बे र सुनिता थेगिमको स्वर रहेको गीतको रचना र संगीत पविन आङ्देम्बेले गरेका हुन् । टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको भिडियोको लागि सुमन शंकरको श्रृङ्गार, मेघराज मगरातीको छायांकन, उत्सव दाहालको सम्पादन रहेको छ । त्यसैगरी बालकलाकारमा एसेप्ट तिगेला छिन् ।

भिडियो तमोर फिल्मसको च्यानलबाट हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार