
इलाम: लोकप्रिय राष्ट्रिय गायिका अन्जु पन्त र थीर कोइरालालाई फाकफोकथुम-७ को सिंह देवी माद्यामिक विद्यालयमा भव्य स्वागत गरिएको छ ।
करिब एक हप्ता अघि विवाह बन्धनमा बाँधिएका नवजोडी काठमाडौंबाट कोइरालाको जन्म घर एकतप्पामा पारिवारिक भेटघाट गर्न आउने क्रममा विद्यालयले उनीहरुलाई स्वागत गर्दै बधाई तथा शुभकामनाको कार्यक्रम आयोजना गरेको हो ।
राष्ट्रिय स्तरका चर्चित गायिका पन्त यस ठाँउमा आउँदा र उनका पति कोइरालाले यस विद्यालयमा बाल्यकालदेखि अध्ययन गरेको हुँदा उक्त शैक्षिक संस्थाले उनीहरुलाई स्वागत गर्दै दाम्पत्य जिवनको शुभकामना सहित सम्मान गरिएको विद्यालयका निवर्तमान प्रधानध्यापक खगेन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

प्रमुख अतिथि कोइराला र विशेष अतिथि पन्तको उपस्थितिमा आयोजित सो कार्यक्रम विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टंक खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
२०४८ सालमा एसएलसी सकेपछि गाउँ छोडेका कोइराला विभिन्न संचार माध्यममा आवद्ध हुँदै करियर बनाउने क्रममा हाल पिस एण्ड रिकन्सिलेसन नेटवर्क साउथ एसियाका डाइरेक्टरको जिम्मेवारी सम्हालेका छन् ।
उनले अगुवाई गरेको संस्थाले २०७२ सालको भूकम्पमा तहसनहस भएका सिन्धुपाल्चोक र अन्य ठाँउका पीडित बस्तीमा घर निर्माण गर्न सहयोग गर्दै करिब सात सय घर निर्माण गरिसकेको जनाइएको छ ।
भौतिक संरचना निर्माण तथा शैक्षिक क्षेत्रको उन्नतिमा सहयोग गर्दै आएको उक्त संस्थाबाट अनाथ,असक्त,अपांग तथा विपन्न परिवारका बालबालिकालाई पठनपाठनमा सहयोग गरिरहेको साथै गरिब दु:खी,असहाय र महिला लगायत कृषि उद्यमीहरुलाई पनि मद्दत गर्दै आएको छ ।
यसैगरी,गायिका पन्तको नामबाट स्थापना गरिएको अन्जु पन्त फाउन्डेसनले पनि सामाजिक क्षेत्रमा काम गरिरहेको बताइएको छ ।
कार्यक्रममा निवर्तमान प्रधानध्यापक भट्टराईले यस ठाँउमा जन्म भइ हाल रिकन्सिलेसन नेटवर्क साउथ एसियाका डाइरेक्टर रहेका कोइरालाको पदिय जिम्मेवारीको हैसियत प्रति हार्दिक बधाई ज्ञापन गरेका थिए । उनको संस्था र पन्त फाउन्डेसनले अन्य क्षेत्रहरूमा संचालन गरेको कार्यक्रम यस क्षेत्रमा पनि भित्र्याइ दिन आग्रह गर्दै दाम्पत्य जिवनको शुभकामना सहितको मन्तव्य राखेका थिए ।
उनीहरुले स्थानीयको अपेक्षा अनुसार संस्था मार्फत काम गर्ने सकारात्मक सोच रहेको सो कार्यक्रममा बताएका छन् ।
विद्यालयका प्रधानध्यापक डिकबहादुर राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा बुद्धिजीवी,समाजसेवी,विद्यार्थी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।


















































