फाल्गुनन्दमा ११८ औं इमानसिंह जयन्ती

  युद्धबहादुर बोहोरा
7 Shares

 

पाँचथर : किराँत सम्प्रदायका बौद्धिक शंकराचार्य तथा साहित्यकार स्व. इमानसिंह चेम्जोङको ११८ औं जन्मजयन्ती घुर्बिसे पञ्चमी बजारमा भव्यताका साथ मनाइएको छ।

घुर्बिसेमा रहेको इमानसिंहको शालिकमा फुलमाला,अविर पहिराइ उनको सम्झना गरिएको हो। शालिक संरक्षण समितिका अध्यक्ष भगिरथ चेम्जोङको अध्यक्षतामा इमानसिंह चेम्जोङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अविन्द्र प्रसाद चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङको पहलमा मन्त्रालयबाट उपलब्ध पाँच र फाक्तेप गाउँविकास समितिबाट दुई लाख गरि जम्मा सात लाख रुपैयाँमा शालिक निर्माण भएको थियो । २०६७ साल पौष १७ गते संस्कृती मन्त्री डाक्टर मिनेन्द्र रिजालद्वारा उद्घाटन गरिएको चेम्जोङको शालिक स्थापना देखि जयन्ती समारोहको आयोजना गरिएको समितिले जनाएको छ ।

समारोहमा बोल्दै प्रमुख अतिथि चेम्जोङले किराँत जातिका विज्ञ व्यक्तित्व साथै वृहत शब्दकोषलाई राष्ट्रिय विभूतीमा समावेश गर्नुपर्ने बताए । आगामी दिन उनले देखाएको बाटोलाई अनुसरण गर्दै अघि बिढ्ने प्रतिबद्धता जनाए ।

ढाेलझाँकी सहितको टोलि तथा संघसंस्था र स्थानीयबासिन्दाको उपस्थितमा मनाइएको कार्यक्रमलाई प्रतिष्ठानका सदस्य केहेरसिंह चेम्जोङले संचालन गरेका थिए ।कार्यक्रममा स्थानीय शिक्षक सारानाथ पोख्रेल,बुद्ध सिं केसी,विर नरसिं चेम्जोङ, नरेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए।उनीहरुले समाजसुधारक तथा किराँत जातिका अगुवा इतिहाँसकारलाई राष्ट्रले उचित सम्मान नगरेको गुनासो गरे ।

आधा शताब्दी भन्दा लामो समय किराँत भाषा, लिपि, साहित्य, संस्कृति, र इतिहास विषयमा खोज अनुसन्धानमा लागि परेका उनी दार्जिलिङमा माद्यामिक शिक्षा अध्यनको क्रम देखिनै किराँत जाति, इतिहास, धर्म, भाषा, लिपी र साहित्यको खोज अनुसन्धान गर्दै दुई दर्जन बढी कृति प्रकाशन गरेका थिए ।

को हुन् इमानसिंह चेम्जोङ ?

सन् १९०४ जनवरी १ तारीखमा भारतको दार्जिलिङमा जन्मिएका स्व. चेम्जोङको पुर्खौलिथलो पाँचथरको फाल्गुनन्द -६ आङ्साराङ हो । उनका पिता मेघवर सिंह रोजगारीको शिलशिलामा दार्जिलिङमा रहँदा माता दावापु हाङमाको कोखबाट उनको जन्म भएको थियो । अमृतासँग विवाह बन्धनमा बाँधिएका चेम्जोङ दम्पतीका तीन छोरी र दुई छोरा छन् । किराँत इतिहासको खोज र प्रकाशनलाई निरन्तरता दिने क्रममा ७२ वर्षको उमेरमा किराँत इतिहासविद् इमानसिंह चेम्जोङको देहावसान सन् १९७६ अक्टोबर ८ का दिन दार्जिलिङमा भएकाे थियाे ।

प्रारम्भिकदेखि ‘म्याटि्रक’ तहसम्मको शिक्षा कालेम्पोङबाटै गरेपछि कलेज (आइ.ए) पढ्न कलकत्ताको सेन्ट जेभियर्समा उनी भर्ना भए । त्यहीँबाट आइ.ए पूरा गरेर बी.एको अध्ययनपछि उहाँले लन्डनबाट एम.ए.एम.आर.एस. गरे । बाल्यकालमा चेम्जोङलाई पढाउने गुरुले एक दिन ‘किराँतीहरू जङ्गली हुन्छन्’ भनेपछि त्यसको उत्तरमा उनका बुबाले ‘किराँतीहरूको आफ्नै भाषा, साहित्य, कला, संस्कृति र इतिहास छ’ भनी उनको जिज्ञासा पूरा गरिदिएको भए पनि चेम्जोङलाई बुबाको जवाफले चित्त बुझेन, त्यसैले बुबाले भनेका कुराको खोजीमा उनी लागे ।

बुबाको हौसला र प्रेरणासमेतबाट चेम्जोङले आफ्नो सम्पूर्ण जीवन किराँत भाषा, संस्कृति र सभ्यताको खोजीमा समर्पण गरेका थिए । सन् १९६१ देखि त्रिभुवन विश्वविद्यालयको एसियाली अनुसन्धान केन्द्रमा किराँत भाषा तथा संस्कृतिविद् भई उनले १५ वर्ष सेवा गरे । त्यसअघि चेम्जोङ सिक्किमको रेभेन्यू अफिसरसमेत भएका थिए । त्यस्तै उनले लामो समयसम्म शिक्षण पनि गरे ।नेपाल सरकारले २०५५ साल देखि उनको फोटो अङ्कित हुलाक टिकटको शुरु गरेको छ।

कृतिहरू किराँत मुन्धुम (वेद) लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोश किराँत इतिहास किराँत मुन्धुम खाहुन् (शिक्षा) किराँत साहित्यको इतिहास किराँत इतिहास तथा संस्कृति (अङ्ग्रेजी भाषामा) किराँत दन्त्यकथा किराँत दर्शनको सारांश लाप्चा-नेपाली-अङ्ग्रेजी शब्दकोश किराँतकालीन विजयपुरको सङ्गक्षिप्त इतिहास आदि |

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार