पूर्वका लोकगायक गौतम कलासंस्कृति बचाउ अभियानमा

  युद्धबहादुर बोहोरा , इलाम ।
147 Shares

 

पानी परी घाम लाग्यो बनपाखा घमाइलो,
हाँसी खेली ए! नि रिमै जिन्दगी रमाइलो “

रेडियो नेपालद्वारा पूर्वेली लोकगीतहरु संकलन गर्ने क्रममा लोक गायक देवी प्रसाद गौतमले धरानमा गाएको उक्त गीत २०४८ सालमा रेडियो नेपालमा रेकर्ड भयो । त्यसपछि यो गीत बच्चा देखि वृद्ध सम्मको मन जित्न सफल भएको थियो।

पूर्व क्षेत्रमा लोक गायकका नामले परिचित गौतम अहिले पुरानो कलासंस्कृति,इतिहाँस,साहित्य र परम्परा बचाउ अभियानमा लागि परेका छन् ।

हालसालै इलामबाट छायांकन भएको इन्द्रेणी कार्यक्रम मार्फत चर्चित गायिका कल्पना दाहालसंग २६ वर्ष पछि लोकदोहोरी गाएर पुनः चर्चित बनेका छन् । देउमाइ नगरपालिकाको धुसेनिमा स्व.तिलचन र आमा मनमायाको कोखबाट कान्छो पुत्रका रूपमा २०११ साल पुषमा जन्म भइ हाल नगरपालिकाको वडा नम्बर -४, मंगलबारे स्थायी बसोबास गर्दै आएका उनको मुख्य शिक्षण पेशा हो ।

मध्यम वर्गीय किसान परिवारमा जन्मिएका उनी हरेक परिस्थितिका बाबजुद जीवनमा संघर्ष गर्दै निरन्तर कला संस्कृतिको जगेडा तर्फ लम्किरहे ।
शिक्षण पेशा,सामाजिक कार्य संगै लोक संस्कृतिको क्षेत्रमा लोकदोहोरी गायकका नामले पनि चिनिएका छन् ।
लोक संस्कृति बचाउनु पर्छ भन्ने अभियानमा लागेका गौतम आफुले जानेको सिप ,कला र ज्ञान आफ्ना अनुजहरुलाई पस्कने जमर्कोमा ग्रामीण बस्तिका युवाहरू र पुराना बुढापाकाहरुको घरदैलोमा घुम्न थालेका छन् ।

२०३५ साल साउन १९ गते देखि शिक्षण पेशामा आवद्ध भएर करिब ३४ वर्ष सम्मको लामो सेवा पछि पेशाबाट अवकाश भएका उनले जितपुर माद्यामिक विद्यालयबाट शिक्षण पेशामा प्रवेश गरे ।
चिसोपानी माद्यामिक विद्यालय बाँझोका प्रधानध्यापक,भानुभक्त उच्च माद्यामिक विद्यालय मंगलबारेका शिक्षक तथा प्रधानध्यापक, प्राथमिक शिक्षा परियोजना लागु भएको बेला इलाम जिल्लाको पहिलो श्रोत व्यक्ति,मंगलबारे बहुमुखी क्याम्पसका संस्थापन क्याम्पस प्रमुख हुँदै निवर्तमान नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभापति समेत भएका उनले सोसाइटीको दुई कार्यकाल सभापतिको कार्यभार सम्हाले ।

२०४२ साल देखि रेडियो नेपालको लोकगीत सम्मेलनमा भाग लिंदै २०४५ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेपछि गीत रेकर्ड शुरु गरे । ‘जाँउ है चेली’, ‘लेक बेंसीका सुसेलि’ एल्बम तयार गरेका उनले ‘पर्खि बसेछु नि’ र ‘रुँदै बसेछु जस्ता एल्बममा पनि साथ दिएका छन् ।दर्जनौं गीत रेकर्ड गरिसकेका गौतमले इतिहाँस र नेपाली लोकसाहित्यमा स्नातकोत्तर अध्ययन पुरा गरेका छन् । हाल ज्ञानपुञ्ज सिर्जनशील प्रतिष्ठान, इलामका सदस्य साथै इलाम साहित्य संस्कृति कला प्रतिष्ठानका अध्यक्ष समेत छन् ।

आजभोलि जेष्ठ नागरिक विशेष कार्यक्रम र लोक सुसेलि गरी दुईवटा कार्यक्रम नेपाल बाणी एफएम,इलामबाट संचालन गर्दै आएका छन् ।


ख्यातिप्राप्त गायिका कोमल ओली संग पनि गीत गाएका गौतम २०४९/०५० सालमा लोकदोहोरी सम्मेलनमा उत्कृष्ट पुरस्कारद्वारा सम्मानित भएका थिए । त्यसपछि आफ्नो कार्य व्यस्तताका कारण संगीतमा कम समय दिन थाले । २०५४ सालमा पूर्वेलि संस्कृतिको नेतृत्व गर्दै साँस्कृतिक संस्थानमा धाननाच (केलाङ्ग नाच) र बालान नाचको टोली लिएर काठमाडौं जाँदा उक्त टोली उत्कृष्ट बन्न पुग्यो त्यस बेला उनको योगदानलाई सर्वत्र कदर गरियो । हरेक जातिका संस्कृति र परम्पराको जानकार रहेका लोकगायकले मगर जातिको हुर्रा,राइको साकेला सेली,लिम्बू जातिको (केलाङ,पालाम र धाननाच) ,बाहुनक्षत्रीको बालन र सङ्गिनी,तामाङको डम्फु सेलो लगायतमा उत्तिकै रुचि राख्दछ्न् ।

पछिल्लो समय शिक्षण पेशाबाट अवकाश लिएपछि समाजिक कार्य र कला संस्कृतिको रक्षा गर्नुपर्छ भन्ने भावना सहित सिप हस्तान्तरणको पहलमा सकृय छन् । उनि भन्छन्,’पुर्वेलि जगतको पालाम अत्यन्तै ठुलो सम्पत्ति हो,सबैले मिलेर बचाउनु पर्छ ।’
कोरोनाले बन्दाबन्दी भएको समयमा घरमै बसेर पनि आफ्नो फेस्बुक पेजबाट संगीतको माध्यमबाट लाखौं दर्शक श्रोतलाई मनोरञ्जन दिलाए।

उनका तीन छोरा मध्ये जेठ्ठा विदुर गौतम नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय फिडे आर्विटर छन् । माइला छोरा वासुदेव निर्माण व्यावसायि हुन् भने कान्छा राष्ट्रिय गायक छन् । छोरी कोपिला गौतम राष्ट्रिय लोक तथा दोहोरी गयिका छिन् ।


शिक्षण पेशामा समकालीन गौतमका सहयात्री जयनारायण भट्टराई पनि पेशाबाट अवकाश पछि सोही अभियानको साथमा छन् । कविता तथा गीत सृजनामा निरन्तर लाग्दै साहित्य क्षेत्रमा कलम चलाइरहेका उनी साहित्य प्रतिष्ठान इलामका सचिव छन् । प्रतिष्ठानले हरेक क्षेत्रमा कला साहित्य र संस्कृति सम्बन्धि प्रशिक्षण गर्दै आएको सचिव भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार