मेची चेम्बरको अध्यक्षमा ललित कुमार बोहोरा पुनः चयन

 

इलाम : मेची चेम्बर अफ कमर्सका पुनःनिर्वाचित अध्यक्ष ललितकुमार बोहोराले मेचीनगर नगरपालिकासँग समन्वय गरेर धुलावारीमा सीसी क्यामेरा जडान गरिने बताएका छन् ।

संस्थाको आज धुलावारीमा अयोजित प्रथम साधारण सभामा बोल्दै अध्यक्ष बोहोराले आम व्यापारीको हितमा काम गर्ने प्रतिबद्धतासँगै धुलावारीमा सीसी क्यामेरा जडान कार्यको चेम्बरले अगुवाई गर्ने जानकारी दिए ।

लामो समयदेखि धुलावारी बजारको पुराना सीसी क्यामेरा बिग्रिएका छन् । सुरक्षाका दृष्टिदले चोक तथा बजारमा सीसी क्यामेराको जडान जरुरी भएको बेला चेम्बरले यसका लागि अगुवाई गर्ने जनाएको हो ।

चेम्बरको साधारणसभाबाट आगामी कार्यकालका लागि संस्थापक अध्यक्ष बोहोराकै अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा रविनकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा कृष्णराज भण्डारी, उद्योग उपाध्यक्षमा बालकृष्ण रिजाल, महासचिवमा नारायण प्रसाई, सचिवमा कृष्णकुमार पनेरु, कोषाध्यक्षमा मोहनकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा रुक्मिणा आचार्य पोखरेल सर्वसम्मत चयन भएका छन् ।

समितिको सदस्यमा सिर्जना पाण्डे, सुरज चौधरी, नरेशकुमार लावती, गोपीचन्द्र बराल, केशवराज दाहाल, गोकुल हुमागाई, सुवर्ण भट्टराई, पुनित गोयल र प्रह्लाद थापा चयन भएका छन् ।

गत साउन ६ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको मेची चेम्बरको प्रथम साधारणसभाको उद्घाटन सत्रको प्रमुख अतिथि चेम्बरका प्रदेश नं. १ का अध्यक्ष राजेन्द्र घिमिरे थिए ।

उद्घाटन कार्यक्रममा चेम्बर झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, चेम्बर झापाका अध्यक्ष ओमकृष्ण बिमली, महिला चेम्बरकी झापा अध्यक्ष प्रेमा भट्टराई, चेम्बर झापाका वरिष्ठ उपाध्यक्ष सुभाष भट्टराई र उपाध्यक्ष याम बिमलीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन कृष्णकुमार पनेरुले गरेका थिए । सो अवसरमा साधारणसभाको अध्यक्ष तथा चेम्बरको तदर्थ समितिका अध्यक्ष बोहोराले संस्थाको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा याम बिमलीको संयोजकत्वमा गठित धर्मानन्द खनाल र मोहन काजी सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्य समिति चयनका लागि निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो ।

निर्विरोध निर्वाचन सम्पन्न भएपछि संयोजक बिमलीले नयाँ कार्य समितिको नाम घोषणा गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष बोहोराले बुधवार धुलावारीमा एक समारोहबीच पद हस्तान्तरण तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका छन् ।-लोकतन्त्र पोस्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार