शिशिरको नाङ्गो बोट (कविता)

  सन्जित फलाना   101 पटक हेरिएको

हिउँदमा उजाड भएको
शिशिरको नाङ्गो बोट
हाँगाबाट खसालिरहन्छ फुलहरु
र हृदय बिच्छ्याइरहन्छ बाटोहरुमा

सिरेटोको धारिला पाइतालाहरु
परेडको सिठ्ठि फुक्दै
कुल्चँदै हिँड्छ कोपिला ओँठहरु

तुँवालोको सिग्रेट पिएर
धुँवा उँडाउदै हिड्छ हावाहरुमा

बतासहरु आँखामा पट्टि बाँधेर
ताण्डव नाँच्दै हिड्छ पतिङ्गरहरुमाँझ

आकासको चोरबाटोमा
धिपधिपे टर्चलाइट बाल्दै
नदेखेझैँ हिड्छ घाम अपराधिजस्तो

उप्किएर समयको न्यानो प्वाँख
चिसो भएपछि सम्झनाहरुको हाँगा
ओइलिएर आयुको थुङ्गा
फिक्का भएपछि जिन्दगिको अनुहार
सायद समर्पण नै अन्तिम सर्त हुँदो हो

शिशिरको नाङ्गो बोट
आफ्नै उचाइबाट खसेको सौन्दर्यहरु बिच्छ्याएर
हिँडाइरहन्छ आफ्नो छातिमाथि
बसन्तको कलिलो बालक

साँझपख
काँडाहरुमा अन्तिम इच्छापत्र लेखेर
आत्महत्या गरिरहन्छ शितहरु।

– सन्जित फलाना 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार