कविता : फकिर र यात्रा

कविता : फकिर र यात्रा
-सन्जित फलाना
समयको रित्तो चौतारिमा बसेर
एउटा फकिर
सम्झिरहेछ
जिन्दगिको डिलबाट छुटिगएको उसको बिगत
सम्झिरहेछ
स्मृतिको सुदुर बस्ती हुँदै
हिड्दै हिड्दै आएको सुनसान बाटाहरु
र पाइतालाले नाप्न नसकेको मनको दुरि
सम्झिरहेछ
बाल्यकालको धुलौटे गोरेटो हुँदै
छिचोल्दै आएको घुम्तिहरु
र घुम्तिहरुमा छेलिएको एकजोर आँखा
सम्झिरहेछ
सबै सबै छोडेर मोडहरुमै
कसरी एक्लै आइपुग्यो उ यहाँसम्म?
बिहानिको उदास सितजस्तो
कहाँनेर खस्यो उसको हृदयको डोब?
बतासमा उडिरहेको पतिङ्गरजस्तो
कहाँनेर हरायो उसको सपनाहरुको एल्बम?
सम्झिरहेछ
कसरी हरायो उसले
हिड्न अघि आमाले
जतनले सिउरिदिएको राहदानिजस्तो आशीर्वाद?
कसरी हरायो
आँगनिमा उभिएर
आफन्तहरुले थमाइदिएको फुलमालाजस्तो कामना?
सम्झिरहेछ
कसरी छाडिए अपरिचितजस्तो
बिदाइमा हात हल्लाइरहने रुखहरु?
फुलपाती बोकेर उभिरहने देउराली?
मुन्टो निहुराएर क्षितिजसम्म हेरिपठाउने पहाडहरु?
सम्झिरहेछ
आस्थाको सबै गाडी छुटेर
कसरी रित्तो भएको छ जिन्दगिको स्टेसन ?
आफ्नै ठेगाना बिर्सिएको एउटा फकिर
समयको रित्तो चौतारिमा बसेर सम्झिरहेछ
यहाँबाट
हिड्न बाँकी सुन्यतामा हिडुँ ?
या पार गरेको सुन्यतामा फर्किउँ ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार