लिम्बू जातिको मौलिक संकृती ‘धान नाच’ लोप हुँदै

  लोकेन थेवे
0 Shares

इलाम : शुभकार्य होस् या धेरै समयपछि हुने भेटघाट र टाढाटाढाबाट आउने पाहुनाहरुसँग बोलचालसँगै चिनजान गर्न लिम्बू सामुदायमा धान नाच (या:लाङ) नाच्ने चलन छ । एक आपसमा केटाकेटी हात समाई गोलो घेरामा धान नाच्ने गरिन्छ । यसरी धान नाच्ने क्रममा चिनजान गर्दै लिम्बू भाषामा धान नाच्दै जाँदा कोही कसैसँग साइनो लागेमा १ बोतल रक्सी राखेर माफी माग्नु पर्दछ । धाननाच साइनो लाग्नेसँग नाच्न पाइदैन । यो नाच लिम्बू जातिको मौलिक पहिचान र संस्कार हो ।

१०/१२ वर्ष पहिले स्थानिय गाउँघरमा विभिन्न अवसरमा लाग्ने मेलापातमा जताततै देखिने लिम्बूहरुको मौलिक संस्कार आजभोली देखिन छाडेको छ । पश्चिमी संकृतिले लिम्बू समुदायमा पनि प्रभाव पार्न थालेसँगै धाननाच लोप हुन थालेको छ ।

माओवादी सशस्त्र द्वन्द्व सुरु हुन अगाडी हरेक मेला,  हाटबजार र पवहरुमा देखिने धान नाच अहिले देख्न छाडिएको माईजोगमाई ६ का भिम थेबे बताउँछन् । ‘३ दिन ३ रातसम्म धान नाच्ने गर्थे यसरी नाच्ने क्रममा केटा हारे ३ बोतल रक्सीसँग माफ माग्ने र केटाले जिते लिएर आउने तथा विवाह गर्ने चलन थियो’ थेवे भन्छन्, ‘अहिले दन्त्य कथा जस्तो भइसकेको छ ।’

थेवेले लिम्बू संस्कार जगेर्ना गर्नकै लागि माइजोगमाई गाउँपालिका ६ को प्याङ माध्यमिक विद्यालयमा पनि कक्षा १ देखि ५ सम्म ६ महिना अध्यापन गराए । तर आर्थिक अभावको कारण विद्यालयले तलब दिन नसकेपछि उनले छोडे । ६ महिना सिकेका धेरैले अहिले भाषा समेत बिर्सेका कारण धाननाच संकटमा परेको उनको दावी छ ।

अहिले हरेक लिम्बू समुदायमा शुभकार्य हुँदा पश्चिमी शैलीको महँगो बाजाहरुमा नाच्ने चलनको विकास भएकोले धाननाच लोप हुने स्थितिमा पुगेको हो । लिम्बूको मौलिक संस्कार च्याब्रुङ नाच (केःलाङ) र धाननाच हो । तर धान नाच अहिले लाग्ने मेला बजारमा पनि देख्न छोडिएको छ ।

अहिलेका युवाहरुमा आफ्नो संस्कारको पहिचान नहुनु र आफ्नो भन्दा अरुको संस्कार राम्रो देख्ने प्रवृत्तिका कारण पनि धान नाच हराउँदै गएको सोयाङ लोक्साङका भुपेन्द्र ताम्लिङ बताउँछन् । धान नाचमा पालाम उकाली, ओराली, घाँस, दाउरा, दु:खसुख र माया प्रेमको शब्दलाई केलाएर लिम्बू भाषामा गाईने गरिन्छ । यतिमात्र होइन यसमा लिम्बू जातिको उत्त्पती र यसको मरण समेत यहाँ आउने हुँदा यो धान नाचको जगेर्ना गर्नु आवश्यक रहेको अगुवाहरु बताउँछन् ।

अहिले पाँचथर र ताप्लेजुङमा थोरै मात्रमा धान नाच देखिएपनि केहि वर्षमा त्यहाँ लोप हुने निचित देखिन्छ । इलामको सबैभन्दा ठूलो र धेरै दिन लाग्ने माईबेनी मेलामा धान नाच्न र हेर्न ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको सिक्किम, दार्जिलिङ, सूखिया पोखरी र भुटानबाट समेत आउने गरेको बुढापाका बताउँछ्न । तर यो पटकको माईबेनिमा एक हुल पनि धान नाच थिएन । लिम्बू सामुदायको यो मौलिक संस्कार धान नाच जगेर्ना गर्न सरोकारवालाहरु चनाखो हुन जरुरी छ । नत्र धान नाच केही वर्षदेखि इतिहासमा मात्र सीमित हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार