एकसठ्ठीऔं खुड्किलामा अलपत्र मरब क्याम्पसको यात्रा

अरुण नेपाल

मरबको वर्तमान अवस्था

पूर्वी नेपालको शैक्षिक धरोहरको पहिचान बनाएको महेन्द्र रत्न बहुमुखी (मरब) क्याम्पस, इलामले आफ्नो जीवनका साठी बसन्त पार गरिसकेको छ । एक हजार माइल अग्लो शैक्षिक धरोहर बन्ने शुन्दर सपना सजाएर साठी वर्ष अगाडी पहिलो पाइला चालेको मरब एक्सठ्ठिऔं खुड्किलामा एउटा खुट्टो राखेरअर्को खुट्टो समेत त्यहि खुड्किलामा सार्न जोडजुलुम गर्दैछ । त्यसका लागि भरपर्दो टेको ठम्याउन असिनपसिन भएर र्‍याल सिंगान हुँदै दुवै हातले भित्ता कोतर्दैछ । भित्ता कोतर्दाकोतर्दै लखतरान भएको मरब दुई वटा बेग्लाबेग्लै खुड्किलामा खुट्टा टेकेर सम्पूर्ण शरीरको बोझ जति भित्तैमा अड्याएर थुरथुर काम्दै खुइयखुइय गर्दैछ । अनेक प्रयास गर्दा पनि साठीऔं खुड्किलाको एउटा खुट्टो एकसठ्ठीऔंमा सार्न सकेको छैन । मरबको यो निकै मर्मस्पर्शी र कारूणिक दृश्यलाई कसैका आँखाले ओरालो त कसैकाले उकालो लागेको देख्दोरहेछ । आफ्नै आमा त्रिभुवन विश्वविद्यालय जतिकै पाको देखिने मरबले संसारकै अग्लो शैक्षिक धरोहर बन्ने सपनालाई आजका मितिसम्म त्यागिसकेको अवस्था छैन । मरबको वर्तमान यथार्थ यहि हो । मरब क्याम्पस, इलाम यस्तो पीडाजनक अवस्थाबाट गुज्रिरहेको वर्तमान समयमा मरबका बारेमा विभिन्न जोड र कोणबाट अनेक चर्चा परिचर्चा पनि भइ नै रहेको छ ।

मरबको चर्चा

हिजोआज मरबका बारेमा यो वा त्यो कोणबाट थरिथरिका चर्चा भइरहेका छन् । सञ्चार माध्यममा क्याम्पसका बारेमा विभिन्नखाले समाचार छाउने गरेका छन् । क्याम्पसको जग्गा, जागिर र सेवा सुविधालाई लिएर दशैं अगाडि निकै ठूलो खैलाबैला भयो । त्यसको लगत्तै क्याम्पसका जिम्मेवार व्यक्तिकै नेतृत्वमा क्याम्पस प्रमुखलाई धम्क्याएको कुराले थप बजार ततायो । इलाम नगरपालिकाका मेयरले पनि एक एफएफमार्फत क्याम्पसका बारेमा निकै चर्चा गरे । स्वयं क्याम्पस प्रमुखको अर्न्तवार्ता पनि त्यहि एफएमबाट सुनियो । दशैं अगाडि नै सुनिएका मेयर र क्याम्पस प्रमुख दुवैका अर्न्तवार्ता सुन्दा एमालेको कोटामा क्याम्पस प्रमुख बनेका वर्तमान क्याम्पस प्रमुखले नेकपा, इलामको निर्देशन नमान्नु नै वर्तमान समस्या उत्पन्न हुनुको प्रमुख कारक तत्व हो भने जस्तो लाग्यो । मेयर मात्र नभएर राष्ट्रिय हैसियत प्राप्त नेकपाका नेता झलानाथ खनाल र सुवासचन्द्र नेम्वाङ्लाई प्राध्यापकका विभिन्न समुहले इलाम र काठमाण्डौमा भेटेर आआफ्ना कुरा प्रस्तुत गरेको चर्चा पनि निकै सुनियो । सामाजिक सञ्जालमार्फत क्याम्पसका सम्बन्धमा चिन्ता र चासो व्यक्त गर्ने कार्य निरन्तर रूपमा भइ नै रहेको छ । पछिल्लो समयमा क्याम्पसले निर्माण गर्न लागेको एउटा भवन निर्माण स्थलमा भएका बोटबिरूवाको संरक्षण गर्ने सवालमा पनि निकै चर्चा चल्यो । शुल्कवृद्धि लगायकतका माग राखेर विद्यार्थीले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरूलाई क्याम्पस प्रमुखकै कक्षमा थुनेको पनि देखियो । त्यस पश्चात विद्यार्थी संगठनले विभिन्न माग राखेर क्याम्पस प्रमुखसमक्ष चरणवद्ध आन्दोलनमा रहेको कुरा पनि सुनिएको छ । क्याम्पसमा बन्दै गरेको क्यान्टिन र क्याम्पसमै खड्किएको खानेपानीको अभावलाई लिएर भएका बिवाद पनि सतहमै देखिन थालेका छन् । क्याम्पसमा जहिल्यै भइरहने अत्यन्त सामान्य जस्ता लाग्ने रूटिन निर्माण, समुह विभाजन र कक्षा समय जुध्नेजस्ता कुराले क्याम्पसको पठनपाठन कार्यमै प्रतिकुल असर परिरहेको छ । सतहमा देखिएका यी केहि घटनाका कारण मरब क्याम्पस, इलाम निकै चर्चामा रहेजस्तो देखिए पनि वास्तविकता चाहिँ अलिक फरक देखिन्छ ।

समस्याको अन्तर्य

सतहमा देखिएका क्याम्पस सम्बन्धी यी समस्यालाई अलि मिहिन पाराले केलाउँदा समस्याको अन्तर्यमा प्राज्ञिक भन्दा अप्राज्ञिक कृयाकलाप हावी भएको कुरा सहजै अनुभुति हुन्छ । किनकि कुनै पनि प्राज्ञिक संस्थाको जीवन मानिने प्राज्ञिक गतिविधिका बारेमा मरब क्याम्पस, इलाममा सामान्य चर्चा समेत हुन छाडेको लगभग एक दशक नै वितिसक्यो । एक दशक अघि क्याम्पसको स्वर्ण जयन्ति मनाउँदा क्याम्पसका बारेमा विभिन्न जोड र कोणबाट व्यापक चर्चा भएको थियो । क्याम्पसको विगत, वर्तमान र भविष्यका बारेमा मौखिक एवं लिखित रूपमा विभिन्न व्यक्ति व्यक्तित्वबाट अमुल्य विचार व्यक्त भएका थिए । ती अमुल्य विचारले प्राध्यापक, कर्मचारी र विद्यार्थीका मन मष्तिस्कमा एक प्रकारको झंकार उत्पन्न गरेको थियो । उर्जा प्रदान गरेको थियो । नवीन जोश, जाँगर र उत्साह पैदा गरिदिएको थियो । क्याम्पसको भविष्य निकै उज्जवल छ भन्ने सन्देश प्रवाह गरेको थियो । स्वर्ण जयन्ती भन्दा अगाडीका वर्षहरूमा समेत कम्तिमा शैक्षिक शत्रका शुरूमा पठन पाठन र प्राज्ञिक कृयाकलापका बारेमा सामान्य छलफल गर्ने परम्परा थियो । कुनै पनि परीक्षा शुरू हुनु भन्दा ठीक अघि परीक्षालाई थप मर्यादित बनाउने सवालमा प्रशस्त विचार विमर्श हुने चलन थियो । अभ्यास शिक्षणका सम्बन्धमा पनि जमेरै छलफल हुन्थ्यो । अभ्यास शिक्षणको पूरै पाठ्यक्रम परिवर्तन भएर आउँदा पनि पछिल्लो समयमा अभ्यास शिक्षणका सम्बन्धमा कुनै छलफल हुन सकेको छैन । त्यस्तै प्राध्यापक संघले पनि कम्तिमा वर्षको एक पटक साधारण भेला गरेर क्याम्पसमा देखिएका समस्याका बारेमा छलफल गर्ने गर्थ्यो । प्राध्यापक, कर्मचारी र विद्यार्थीको उपस्थितिमा क्याम्पसमा उत्पन्न समस्याका बारेमा छलफल र बहस गर्न क्याम्पस प्रशासनले समेत समय समयमा कार्यक्रम आयोजना गर्ने प्रचलन थियो । त्यतिखेर पनि यो वा त्यो मुद्दामा विवाद त हुन्थे, तर क्याम्पसको पठन पाठन, परीक्षा लगायत क्याम्पसको समग्र हितलाई ध्यान दिएर त्यस्ता विवाद एउटा तार्किक निश्कर्षमा पुर्याउन सामुहिक रूपमै छलफल गर्ने चलन चाहिँ थियो । तर लगभग एक दशकदेखि क्याम्पसका समस्याका बारेमा सामुहिक रूपमा छलफल गर्ने चलन हराएको छ । समुहमा बसेर अर्थपूर्ण छलफलमा भाग लिने रूची घट्दै गएको छ । शुभकामना वा अन्य कुनै कार्यक्रम आयोजना भइहालेमा पनि त्यस्ता कार्यक्रममा प्राध्यापकहरूको उपस्थिति निकै निराशाजनक हुने गरेको छ । यस तर्कलाई पुष्टी गर्ने उदाहरणका रूपमा क्याम्पस प्रमुखले आयोजना गरेका पछिल्ला दुईवटा भेलालाई लिन सकिन्छ ।

दुवै भेलाको सन्देश

मरब क्याम्पस, इलामले २०७६ सालको दशैं अगाडि शुभ कामना आदानप्रदान कार्यक्रम र २०७६ साल कार्तिक २८ गते हिरक जयन्ति मनाउने उद्देश्यले प्राध्यापक, कर्मचारी र विद्यार्थीको संयुक्त भेला आयोजना गर्यो । यी दुवै भेलाको उपस्थिति हेर्दा प्राध्यापकहरू स्वयं सामुहिक रूपमा एक ठाउँ बसेर क्याम्पसको भाग्य र भविष्यका बारेमा छलफल र बहस गर्न तयार नभएको निकै तितो सन्देश प्रवाह भएको छ । यी दुइ भेला मध्ये पनि दशैं अगाडिको कार्यक्रममा थोरै नै प्राध्यापक भेला भएपनि क्याम्पसका बारेमा निकै चिन्ता र चासो व्यक्त गरिएको थियो । प्राध्यापककै अप्राज्ञिक कृयाकलापकै कारण क्याम्पस दिनप्रतिदिन ओरालो लागेको कुरामा उक्त भेलामा उपस्थित सबैजसो प्राध्यापक एकमत जस्तै देखिन्थे । क्याम्पसमा हुने अनावश्यक राजनीतिक हस्तक्षेप तथा आर्थिक अनियमितता एवं अपारदर्शिता जस्ता कुरा क्याम्पसमा बन्द हुनुपर्ने कुरामा कसैको विमति देखिएको थिएन । क्याम्पसको हितलाई केन्द्रमा राखेर पत्रकारले गर्ने खोज पत्रकारितालाई सकारात्मक रूपमा लिनुपर्ने विचारप्रति पनि कसैको असहमति भए जस्तो लागेको थिएन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा त क्याम्पसलारई एउटा प्राज्ञिक थलोका रूपमा रूपान्तरण गर्न प्राध्यापकहरूको साझा संगठन प्राध्यापक संघले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने कुरा पनि राम्ररी नै उठान भएको थियो । यसरी क्याम्पसमा देखिएको संबादहिनता तोडेर क्याम्पसको भाग्य र भविष्य चम्काउने पवित्र उद्देश्यका साथ प्राध्यापकवर्गमा एउटा जागरण ल्याउने आशाको त्यान्द्रो जगाउन उक्त शुभकामना कार्यक्रम एक हदसम्म सफल भएको अनुभुति भएको थियो । दशैं अगाडि त्यति महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल सानो भेलाले जगाएको आशाको त्यान्द्रोलाई दशै पछाडि हिरक जयन्ति मनाउने उद्देश्यका साथ क्याम्पसले आयोजना गरेको वृहत भेलाले थप उत्साह जगाउने ठूलो अपेक्षा थियो । समग्र क्याम्पसकै विगत, वर्तमान र भविष्यका बारेमा व्यापक विचार विमर्श गरेर क्याम्पसलाई एउटा निश्चित दिशा प्रदान गर्न सक्ने हैसियत बोकेको उक्त भेलाले प्राध्यापक, कर्मचारी र विद्यार्थीमाझ त्यस्तो उत्साह पैदा गर्ने अपेक्षा गर्नु पनि अत्यन्तै स्वाभाविक नै होला । फेरि क्याम्पसका सबै विभागका विभागीय प्रमुखहरूकै निर्णय बमोजिम उक्त भेला आयोजना भएकाले भेलामा सबै विभागका सदस्यहरूको उपस्थिति रहने अपेक्षा थियो । तर क्याम्पसको हिरक जयन्ति मनाउने योजना निर्माण गर्न भनेर डाकिएको उक्त भेला न्युन उपस्थितिकै कारण बिना छलफल स्थगित हुन पुग्यो । यसरी दशैं अगाडि र पछाडि क्याम्पसले आयोजना गरेका दुवै कार्यक्रममा न्युन उपस्थिति जनाएर मरबका प्राध्यापक सामुहिक रूपमा एक ठाउँ बस्नै तयार नभएको निकै तितो सन्देश उक्त दुवै भेलामार्फत प्रवाह भएको छ । क्याम्पसको शुन्दर भाग्य र भविष्यका लागि यस्तो सन्देश पक्कै पनि शुभ संकेत होइन । सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण होस् ।

चुरो कुरो

जतिसुकै लम्बेचौडे कुरा गरे पनि मरब क्याम्पस, इलामको समस्या समाधान हुन नसक्नुको चुरो कुरो संवादहिनता नै हो । यस कुरालाई उक्त दुवै भेलामा देखिएको न्युन उपस्थितिले समेत थप पुष्टी गर्छ । क्याम्पसको विगत, वर्तमान र भविष्यका बारेमा अर्थपूर्ण छलफल र बहस गरेर योजनाबद्द ढंगले अघि बढ्ने इच्छा शक्तिको चरम अभाव भएरै त्यस्ता भेला प्रभावकारी बन्न नसकेका होलान् । खुल्ला एवं पारदर्शी ढंगले छलफल गरेर आआफ्ना जिम्मेवारी आफैं किटान गरी निर्माण गरिएका योजना कार्यान्वयन गर्न स्वयं प्राध्यापक, कर्मचारी र विद्यार्थीवर्ग तयार नहुन्जेल क्याम्पस कसरी उभो लाग्ला र ? क्याम्पस जस्तो प्राज्ञिक थलोमा अध्ययन, अध्यापन र अनुसन्धान जस्ता गतिविधि हावी नहुन्जेल कसरी प्राज्ञिक उन्नयन होला र ? यी र यस्ता प्रश्नको चित्तबुझ्दो उत्तर त्यतिखेर मात्र प्राप्त हुन्छ, जतिखेर क्याम्पसमा यो वा त्यो दलका गुट उपगुटका पछि लागेर पदीय र आर्थिक लाभका लागि क्याम्पसको साधन स्रोतमाथि गिद्देदृष्टि लगाउने कुप्रथाको दाहसंस्कार हुन्छ । यसका लागि पदीय र आर्थिक लाभका लागि गुट परिवर्तन गर्ने छेपारे प्रवृत्तिलाई पनि एउटै चितामा जलाउनु अर्को अनिवार्य शर्त हुनेछ । यसरी विश्लेषण गर्दा मरब क्याम्पसलाई उभो लाग्न नदिने प्रमुख बाधक तत्व भनेकै क्याम्पसको भाग्य र भविष्यलार्इ दाउमा राखेर पदीय र आर्थिक लाभमा रमाउन चाहने प्रवृत्तिलाई संरक्षण प्रदान गर्ने राजनीतिक नेतृत्व नै हो भन्ने निश्कर्ष निस्कन्छ ।

नेपाल आमाका प्रमुख अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत राज्यका हरेक तह र तप्कामा मौलाएको भ्रष्टाचार र जघन्य अपराधलाई ढाकछोप गर्दै निहित स्वार्थ पूर्ति गर्न पल्किएको भ्रष्ट राजनीतिक नेतृत्वले राष्ट्रिय स्तरमै प्रदर्शन गरेको नेपालमारा प्रवृत्तिकै एउटा सानो भंगालो मरब क्याम्पस, इलाममा पसेर उत्पात मच्चाउँदैछ । त्यो भंगालो कहिलेकहिँ क्याम्पसमा भुलुक्क उम्रन्छ । कहिले इलाम वा काठमाण्डौमा नेता बसेका कोठा कोठामा पुगेर एक अर्कालार्इ धोइपखाली गर्न भ्याउँछ । त्यो भँगालाले काठमाण्डौका टुकुचा, वाग्मती र विष्णुमतीले भन्दा चाहिँ राम्ररी नै धोइ पखाली गर्छ भन्ने जनविश्वास रहँदै आएको छ । त्यो भुमीगत भंगालो तोकिएका काम फत्ते गर्न कहाँ कतिखेर कसरी प्रकट हुन्छ भन्ने कुरा निकै रहस्यमय छ । त्यो भँगालो धेरै मानिसहरूको जमघट भएको स्थान भन्दा बढि रूख बुट्यानकै आसपासमा प्रकट हुन्छ भन्ने अर्को जनविश्वास पनि रहँदै आएको छ ।

निश्कर्ष

यसरी कुरा पर्गेल्दै जाँदा प्राज्ञिक थलोमा प्राज्ञिक गतिविधिलाई कम महत्व र गुटगत राजनीतिक दाउपेचलाई बढि महत्व दिने राष्ट्रिय रोगले मरब क्याम्पस, इलाम पनि ग्रस्त देखिन्छ । त्यसकारण जबसम्म यो दुर्भाग्यपूर्ण अवस्था उल्टिएर एउटा प्राज्ञिक थलोमा प्राज्ञिक कृयाकलाप नै हावी हुने परिस्थिति निर्माण हुँदैन, तबसम्म मरब क्याम्पस, इलाम एकसठ्ठऔं खुड्किलामै अलपत्र भइरहने खत्तरा पैदा भएको छ । प्राज्ञिक संस्थामा यस्तै अप्राज्ञिक प्रवृत्तिको बोलवाला रहुञ्जेल मरब क्याम्पस, इलाम मात्र नभएर नेपालका कुनै पनि शैक्षिक संस्थाको स्वास्थ्य सुध्रने कति पनि सम्भावना देखिदैन । यसका लागि प्राज्ञिक गतिविधिमा रमाउन चाहने प्राध्यापकवर्गले नै चुनौती मोलेरै भएपनि प्राज्ञिक कृयाकलापको बाढी ल्याउन कति पनि खुट्टा कमाउनु हुँदैन । तत्कालिन, मध्यकालिन र दीर्घकालीन योजना बनाएर ती प्राज्ञिक कार्यलार्इ कार्यान्वयन गर्न गराउन कुनै कसर बाँकी राख्नु हुँदैन । त्यस्ता कृयाकलाप कार्यान्वयन गर्ने ठोस जिम्मेवारी र उत्तरदायित्व योजनामै स्पष्टसँग किटान गर्नुपर्छ । तोकिएका जिम्मेवारी र उत्तरदायित्व के कति पूरा भए भन्ने सम्बन्धमा हरेक शैक्षिक शत्रको शुरूमै अनिवार्य रूपमा समीक्षा गर्नुपर्छ । समीक्षाबाट प्राप्त निश्कर्षको जगमा टेकेर पुरस्कार र दण्ड गर्ने कुरालार्इ पारदर्शी एवं कडाइका साथ लागु गर्नुपर्छ । क्याम्पस प्रमुखदेखि डीन, परीक्षा नियन्त्रक, रेक्टर, रजिस्ट्रार, सेवा आयोगको अध्यक्ष हुँदै उपकुपतिसम्म नेतृत्व तहमा रहने प्राध्यापकवर्ग यसरी स्पष्ट दृष्टिकोण, नीति, योजना र कार्यक्रम सहित पदीय एवं आर्थिक लाभका लागि हुने निकृष्ट खेलबाट माथि उठेर प्राज्ञिक गतिविधिमा रमाउने परिस्थिति निर्माण हुने हो भने मरब क्याम्पस, इलाम मात्र नभई समग्र शैक्षिक क्षेत्रले गुणात्मक फड्को मार्न बेर लाग्ने छैन । प्राज्ञिक गतिविधिमा रमाएर प्रतिष्ठित विश्वविद्यालय वा क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी बन्ने शुन्दर सपना सजाउनुभएका सबै तह र तप्काका व्यक्ति एक पटक जुरूक्कै जागौं । इमान्दार प्रयास गर्न कुनै कसर बाँकी नराखौं । निहित स्वार्थमा रमाएर विश्वविद्यालय वा क्याम्पसको अस्तित्व नै धरापमा पार्ने खराव प्रवृत्तिको दाहसंस्कार गरौं । अनि मात्र एकसठ्ठऔं खुड्किलामा अलपत्र मरब क्यापस, इलामले सहज ढंगले उकालो यात्रा तय गर्नेछ । सम्बन्धित सबैलाई चेतना भया । *

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार