लिम्बू समुदायको लोकप्रिय ‘धान नाच’ लोप हुँदै

  विपुल अधिकारी  114 पटक हेरिएको

पाँचथर : लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच (या:लाङ) संकटमा परेको छ । यो नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिक रूपमा नाच्ने गरिन्छ । लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । धान नाच साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दतासाथ नाचमा सरिक हुन्छन् ।

यो नाच साइनो सम्बन्ध भन्दा अलग रहेर नाच्ने गीरन्छ । नाच्नु भन्दा अधि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । यो अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलवश टेक्न पुगे पनि माफी माग्नुपर्छ । यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ । यो लिम्बू जातिको चिनारीसमेत हो ।

तर, यो नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धान नाच अहिले ‘खला’ बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुन पुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर जान लागेको याक्थुङ प्रज्ञाप्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु बताउँछन् । उनी भन्छन्,, ‘खलामा नाचिने धान नाचमा जुन मौलिकता हुन्छ, भिडियो र स्टेजमा देखाइने धान नाचमा हुँदैन । ‘खलाबाट त धान नाच हराइ नै सक्यो ।’


धान नाच्दा पालाम (एक प्रकारको छन्दबद्ध गीत) गाउनु अनिवार्य छ । पालाम् केटा र केटी पक्षबीच सवालजवाफको रूपमा चरण–चरण गरेर गाइन्छ । पालाम्मा सृष्टिको उत्पति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् । पालाम बिटमै दर्जनौँं गीतको संगीत गरेका वरिष्ठ लिम्बू संगीतकार प्रेम पन्दाक भन्छन्, ‘धान नाचको क्रममा पालाम गाउँदा गाउँदै प्रेममा परेर विवाह गर्ने दम्पति थुप्रै छन् । अहिले धान नाच र पालम दुबै खलाबाट लोप भएर जानु दुखद कुरा हो ।’

धान नाचको उत्पतिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ । ‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिसहरू कृषि युगमा प्रवेश गरेको मुन्धुममा उल्लेख छ । तर, मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थाले । तब मानिसहरूले नयाँ जुक्ति निकाले । पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा … हा …’ भन्दै धान कुल्चन थाले । चराहरू पर भागे । त्यहीँ ‘यात्लाक्’ (धान कुल्चनु) बाट अप्रभंश भई ‘यात्लाङ्’ (धान नाच) हुन गएको धान नाचबारे जानकारहरू बताउँछन् ।

पूर्वका लिम्बू बाहूल्य जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लगायत जिल्लामा यो नाच लोप हुन लागेको हो । पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवा पुस्तामा मौलिक कला–संस्कृतिप्रतिको घट्दो रुचिका कारण धान नाच पनि लोप हुन लागेको किरात याक्थुङ चुम्लुङ लिम्बूवान प्रदेश समितिका मूख्य सचिव मधु केरुङको भनाइ छ । विभिन्न जातजातिको मौलिक कला–संस्कृतिको पुनःउत्थानका लागि राज्य र सम्बन्धित समुदायको सहकार्यमा साँस्कृतिक पुनः जागरणका काम गर्न जरुरी रहेको केरुङ बताउँछन् । सौर्य दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार