इलामको सूर्योदय नगरमा मङ्सिरमा पर्यटन महोत्सव हुने

  नयाँ बुलन्द  77 पटक हेरिएको

इलाम : पर्यटनका लागी उत्कृष्ठ गन्तव्य मानिएको इलामको सूर्योदय नगरपालिकामा आगामी मङ्सिर १४ गतेदेखि पाँच दिने सूर्योदय नगर पर्यटन महोत्सव २०७६ हुने भएको छ । पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने उद्येश्यले महोत्सव आयोजना गरेको हो ।

धेरैवटा पर्यटकीय स्थलहरू रहेको सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा बाह«ै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ । कन्याममा चियाबारीको सौन्दर्य सँगसँगै चिसो मौसम र वरिपरिको हरियालीको दृश्यावलोकन गर्न तराई तथा अन्य जिल्लाका र भारतीय पर्यटकहरू आउँछन् । महोत्सवमा स्वदेशी आन्तरिक पर्यटकसँगसँगै भारतीय पर्यटकको बढी आगमन हुने अपेक्षा सहित काम भईरहेको छ । यहाँ दिनहुँ पर्यटकको घुइँचो लाग्ने भएकाले घोडचडी, साँस्कृतिक पहिरन लगाएर तस्विर खिचाउने, साँस्कृतिक खानेकुरा खुवाउने जस्ता ब्यवसायसँगसँगै सयौँ चिया र खाजा पसलहरूको ब्यवसाय पनि फस्टाएको छ । व्यवसायलाई महोत्सवले झन टेवा पुग्ने छ । सूर्योदय दृश्यावलोकनको सिजन र यो समयमा यहाँ धेरै आन्तरिक र भारतीय पर्यटकक आउने गर्दछन । महोत्सवको माध्यमबाट सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरीको रूपमा चिनाउन प्रयास गरिने छ ।

सूर्योदय नगरपालिकामै पर्ने सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै चर्चित स्थल वडा नम्बर ४ र ५ स्थित अन्तुडाँडा र परिसरमा महोत्सवको पहिलो दिन विशेष कार्यक्रम गरिने भएको छ । अरु दिन चर्चित पर्यटकीय स्थल वडा नम्बर ७ को कन्याम चियाबगान, वडा नम्बर २ र ३ को पशुपतिनगर, वडा नम्बर १ को गोर्खे, १० को फिक्कल, ११ को करफोक, १३ र १४ को लक्ष्मीपुर जस्ता स्थानमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने छ । महोत्सव सञ्चालनका लागि नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय सूर्योदय नगर पर्यटन महोत्सव आयोजक मूल समिति गठन गरी काम थालीसकेको छ ।

अन्तुमा पनि पर्यटकको बाक्लो उपस्थितिले त्यहाँका स्थानीय बासिन्दाले घरघरमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । अहिले अन्तुमा दर्ता भएका र नयाँ गरि ५६ वटा घरमा होमस्टे सञ्चालन भइरहेका छन । होमस्टेहरूमा पर्यटकलाई स्थानीय परिकार खाने र रातमा होमस्टेमा बसेर बिहान अन्तुडाँडाबाट सूर्योदयको अवलोकन गर्न पुग्ने गर्दछन ।

महोत्सवका लागि यहाँको नगर कार्यपालिकाबाट २५ लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको छ । उक्त रकमबाहेक आवश्यक पर्ने रकम संघीय सरकार, प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित अन्य निकायहरूमा मागसहितको प्रस्ताव पेश गर्ने आयोजकको भनाई छ । महोत्सवका पाँच दिनमा विभिन्न स्थानमा अलगअलग विशेष कार्यक्रमहरू हुनेछन् ।
अन्तुडाँडाबाट देखिने भारतीय बजारहरू सिलिगुडी, खर्साङ, मिरिक लगायत नेपालका विभिन्न भागको रमणीय अवलोकनसँगसँगै रमणीय चियाबारीको बीचमा अवस्थित अन्तु पोखरी पुगेर डुङ्गा सयर गर्छन् । डुङ्गा सयरसँगसँगै अन्तुका रमणीय स्थलहरू घुमेर दोस्रो दिन पर्यटकहरू फर्किने गरेका छन् । अन्तुडाँडाबाट कात्तिक र मङ्सिर महिनामा सबैभन्दा राम्रो गरि सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार