
झापा : मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ झापाको दमकमा विशेष प्रर्दशन हुने भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ काक्तिक २ गते दमक स्थित पाथिभरा चलचित्र हलमा प्रर्दशन हुने भएको हो ।
बिहिबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले दमकमा विशेष प्रर्दशन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक मौसम इम्बुङले भनेः ‘ घरजम लिम्बू समुदायको जिवन–दर्शनलाई आधार मानेर निर्माण गरिएको नेपाली कथानक चलचित्र हो । ‘घरजम’का लागि स्टार भ्याल्यु रोजाइमा पर्न सकेन ! क्यारेक्टरमै काम गर्नुपर्छ भन्ने मान्यताले ‘घरजम’ बनेको छ । क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रहरुले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ मन्ने मानक स्थापित गर्न खोजिरहेको बेला ‘घरजम’ले एउटा इटा थप्ने काम गरेको छ । हाम्रा पात्रहरुलाई मौलिक रुपमा प्रस्तुत गर्नु र सर्लक्कै समाज देखाउनु वा सुनाउनु ‘घरजम’ को विशेषता हो ।’
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता तथा कलाकार सीताकुमारी तुम्बापोले सन्ततीलाई आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग परिचित गराउँन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम रहेको मान्यताका साथ चलचित्र निर्माण गरिएको बताइन् । उनले भनिन्, ‘हामीले पहिलो पटक चलचित्र ‘थात्थलो’ निर्माण गरेका थियौ, ‘घरजम’ दोस्रो चल चित्र हो । ‘घरजम’ व्यवसायीक रुपमा समेत नेपाली चलचित्र उद्योगमा प्रतिस्पर्धी चलचित्र हो । चलचित्रले बोकेको मौलिकता हामी र आम दर्शकका तथा नेपाली चलचित्र क्षेत्रका लागि थप उपलब्धी हो ।’
चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढि चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष रहेको जानकारी गराइएको छ । साथै, विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्र्रर्दशनीको तयारी समेत गरिएको विशेष प्रर्दशन समितिका संयोजक शैलेन्द्र थेवेले जानकारी दिए । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको छ । घुम्ती प्रर्दशन अन्र्तगत इलामका १०, पान्थरका ८, ताप्लेजुङका ९, तेह्रथुमका ६, धनकुटाका ७ र संखुवासभाका १० गरी ५० वाटा स्थानी तहमा प्रर्दशन गरने संयोजक थेवेले जानकारी दिए ।
घरजम युनिटले विशेष प्रर्दशनीपछि स्थानीय स्तरमा पत्रकार, वुद्धिजिवी, साहित्यकार, समिक्षक तथा सरोकारवाला पक्षसँग चलचित्रबारे समिक्षात्मक छलफल गर्ने योजना बनाएको छ । उद्योगको रुपमा स्थापित चलचित्र क्षेत्र र चलचित्रबारे छलफलको सुरुवात गर्ने योजना रहेको घरजमका संचार सल्लाहकार मिलन लिम्बूले जानकारी दिए ।
करिब ८० लाखको लगानिमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन भने सह निर्माताको रुपमा तेज मेन्याङबो रहनु भएको छ । चलचित्रमा, बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायत कलाकारको अभिनय गरेका छन् ।
दमक विशेष प्रर्दशन समितिका संयोजक विक्रम वनेम फागोका अनुसार दमक प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको छ । दमक क्षेत्रका एक हजारभन्दा बढी दर्शकलाई चलचित्र देखाउँने योजना उले जानकारी दिए ।






















































