भुपिनको उपन्यास ‘मैदारो’ को इलाममा चर्चा

इलाम : चर्चित कवि एवम् आख्यानकार भूपेन्द्र खड्का ‘भुपिन’ को उपन्यास ‘मैदारो’ को आइतबार  इलाममा चर्चा गरिएको छ ।

भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्द्धन समितिले ‘मैदारो संवाद’ नामक कार्यक्रम आयोजना गरी मैदारोको चर्चा गरिएको हो ।

कार्यक्रममा उपन्यासकार भुपिनले वर्षौंदेखि उत्पीडन, दलन र भेदभावमा रहेका दलित समुदायको यथार्थ विषयवस्तुमा उपन्यास तयार गरिएको बताए । उनले चित्रकारको आँखाबाट समाजलाई कसरी हेरिने गरेको छ भन्ने कुरालाई आफ्नो उपन्यासमा समेटेको बताए ।

मैदारो उपन्यास नेपाल र भारतमा सयौं वर्ष अगाडिदेखि आजसम्म जरा गाडेर बसेको जातीय छुवाछुत र विभेदसँग सम्बन्धित छ । विभेदमा रहेको अँधेरी गाउँको कथालाई भुपिनले उपन्यासमा समेटेका छन् । ‘जहाँ घाम लागेपनि सधैं अध्याँरो हुन्छ । दलितहरु मान्छे भएर पनि मान्छे हुन नपाएको अँधेरी गाउँको यथार्थ कथाचलाई उपन्यासमा समेटेको छु’ भुपिनले भने, ‘यसले दलित मुक्ति आन्दोलनलाई थोरै भएपनि बल मिल्छ भन्ने अपेक्षा लिएको छु ।’ उल्टो समाजलाई उल्ट्याएर सुल्टो बनाउन सकिने भन्दै उपन्यासमार्फत उल्ट्याउने कोसिस गरेको उनले बताए ।

२४ वर्ष अघि नै उपन्यासको रुपरेखा तयार पारेको भएपनि झण्डै २ वर्षको मेहनतमा मैदारोलाई अन्तिम रुप दिई सार्वजनिक गरिएको उनले बताए । ‘कमसेकम पनि दलित मुक्ति आन्दोलनलाई  ऐक्यवद्धताका लागि उपन्यास लेखेको हुँ’ भुपिनले भने ।

कार्यक्रममा वक्ताहरु कृष्ण बराल, बालिका थपलिया र मुनाराज शेर्माले अहिलेसम्म नेपालमा लेखिँदै आएको उपन्यास लेखनको धार भन्दा फरक शैलीले निकै मेहनतका साथ उपन्यास तयार पारेको र सो उपन्यासमा समाज परिवर्तनको दम रहेको बताए । उनीहरुले भूपिनले यथार्थवादी सामाजिक विषयवस्तुलाई कल्पना र विम्बात्मक रूपमा प्रस्तुत गरिएको मैदारोले विद्यमान विभेदपूर्ण समाजबाट मुक्तिका लागि घुमाउरो तरिकाले आन्दोलनको आह्वान गरिएको बताए ।

इलामका विशिष्ट नागरिक युद्धप्रसाद वैद्यको अध्यक्षता र कवि विमल वैद्यको संचालनमा रहेको कार्यक्रम जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहभागीले ‘मैदारो’ को विषयमा राखेको जिज्ञासा र प्रश्नको उपन्यसकार भुपिनले जवाफ दिएका थिए ।

‘मैदारो’ उपन्यास ‘बुक्सहिल’ प्रकाशन प्रालिले प्रकाशन गरेको हो । भूपिनले बलेवा क्षेत्रमा प्रचलित मैदारो प्रथालाई विषयवस्तु बनाएर उपन्यास लेखेका हुन् ।

मैदारोको विमोचन गत ३० चैतमा लेखक भपिनको जन्मदिनको अवसर पारेर लेखकहरु आहुति, नयनराज पाण्डे र महिला अधिकारकर्मी मोहना अन्सारीले संयुक्त रुपमा काठमाडौंमा गरेका थिए । ३६४ पृष्ठको उपन्यासको मूल्य ४५६ रुपैयाँ राखिएको छ ।

यसअघि भुपिनका ‘क्षतिग्रस्त पृथ्वी’ र ‘मूल सडक’ कविता सङ्ग्रह, ‘शब्दको नेपथ्यमा’ संयुक्त कविता सङ्ग्रह, ‘हजार वर्षको निद्रा’ कविता सङ्ग्रह, ‘चौबिस रिल’ निबन्ध सङ्ग्रह र ‘सुप्लाको हवाइजहाज’ कविता सङ्ग्रह प्रकाशनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार