कवि नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ माथि विमर्श (भिडियो सहित)

इलाम : चर्चित कवि धर्मेन्द्र नेम्वाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ माथि शुक्रबार विमर्श गरिएको छ ।

सदरमुकामस्थिम जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा नेम्बाङको कृतिमा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो ।

फरक आयामको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले कवि नेम्बाङले आफ्नो कृतिमा नेपाली साहित्यमा नयाँ प्रयोग गरेको बताए । नेम्बाङको कृतिमा नयाँ शैली, नयाँ विचार र चिन्तनको प्रयोग भएकाले नेपाली साहित्यमा बेग्लै पहिचानको रुपमा स्थापित भएको बताएका थिए ।

साहित्यकार डा. देवी क्षेत्री दुलालले कवि नेम्बाङको कृति वशुरंगी सौन्दर्य र नयाँ प्रयोगको आधारमा रचिएको कविताहरुको संग्रह भएको बताए । कवि तथा लिलालेखनका आख्यानकार कृष्ण बरालले नेम्बाङको कृतिमा विचारपरक मात्र नभएर कलाले संयोजन भएको प्रभावशाली कविताहरु भएको बताए ।

साहित्यकार प्रकाश थाम्सुहाङले कवि नेम्बाङको कविताहरु बैरागी काइलाको कवितासँग मिल्छ भन्ने आरोपको खण्डन गर्दै नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कृति भित्रका कविताहरु बैराली काइलाका कविताहरु भन्दा विल्कुल फरक भएको बताए । उनको कृतिमा नयाँपनको संयोजन भएको बताए ।

फरक आयामका अभियान्ता कवि जितेन मुस्कानले नेम्बाङको पहिलो सरल र पाठकको मनोविज्ञानसँग सहजै घुलमिल गर्ने खालको भएको बताए । उनको कृति नयाँ चिन्तन र सिर्जनशील लेखनमा चासो राख्नेहरुका लागि पढ्न अतिआवश्यक भएको बताए । उनले नेम्बाङको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ लाई फरक आयामले बोध गर्ने बताए ।

कवि नेम्बाङले लेखनको गन्तव्य इन्द्रेणी गाउँ बनाउने भएको बताए ।

कवि नेम्वाङ रंगवादी साहित्यका एक अभियन्ता मानिन्छन् । कवि धर्मेन्द्र नेम्वाङको  ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कविता कृति केही समय अघि काठमाडौंमा सार्वजनिक भएको थियो । सो कविता संग्रहमा कवि धर्मेन्द्रका नयाँ र पुराना गरेर कुल ३९ कविताहरु समावेश छन् ।

नेम्बाङको कविता कृति ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ लाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो । उनका रातो बाघ, सामान्य बहुरंगवादः एउटा ट्राभलिङ फिलोसोफीको परिकल्पना, युवा विचार युवा नेपालः आमूल परिवर्तनको एक अवधारणा आदि कृति प्रकाशित छन् ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द अनलाइन टिभीबाट भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार