प्रकाश थाम्सुहाङको अध्यक्षतामा ‘याक्थुङ लेखक संघ’ गठन (घोषणापत्र सहित)

  नयाँ बुलन्द  208 पटक हेरिएको

झापा : संसारभरी छरिएर रहेका लिम्बू लेखकहरुको भेलाले “याक्थुङ लेखक संघ” गठन गरेको छ । बुधबार झापाको विर्तामोडमा भएको लिम्बू लेखकहरुको भेलाले थाम्सुहाङको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा अप्सरा लावती र संगम सुहाङ, महासचिवमा टंक सेलिङ, उपमहासचिवमा मधु केरुङ, सचिमा मनिष हेल्लोक र  कोषाध्यक्षमा जितेन पन्धाक मुस्कान चयन भएका छन् ।

सदस्यहरुमा सेसेमी से नाल्बो, अभागी थेगुवा, प्रकाश आङ्देम्बे, सुन्दर कुरुप, मुनराज सेर्मा, राज माङ्लाक, सेसेहाङ फियाक, चन्द्रबीर तुम्बापो, केजि सुब्बा, सागर केरुङ, पुष्पहाङ लोवा, मंगल बेघा, सन्तोष थेबे, इक्साहाङ चेम्जोङ, वनेम बिक्रम फागो, सिङ्जाङ चेम्जोङ, पेलिहाङ माबोहाङ, रोहित आङ्बो, दिलदुखी जन्तरे, सन्देश सुब्बा, सन्त थलङ र डिल्ली मुसाहाङ रहेका छन् ।

भेलाले याक्थुङ लेखक सङ्घको घोषणापत्र २०१९ समेत जारी गरेको छ ।

यस्तो छ घोषणापत्र

याक्थुङ लेखक सङ्घको पहलमा वि.सं. २०७६ जेठ १५ गते तदानुसार सन् २०१९ मे २९ तारिख गणतन्त्र दिवसका दिन विर्तामोड लिम्बुवानमा आयोजित प्रथम ऐतिहासिक भेलामा भएको छलफल र सोको उपयोगिता बारेका कुराहरूलाई मनन गर्दै, त्येअङ्सी सिरिजङ्गा, इमानसिंह चेम्जोङ, लालसोर सेन्दाङ, खड्गबहादुर नेम्बाङ, काजीमान कन्दङवा, महाकवि थाम्सुहाङ पुष्प सुब्बा आदिको याक्थुङ साहित्यिक विरासतलाई ध्यानमा राख्दै, याक्थुङ भाषा, साहित्य, इतिहासको विकासका खातिर सन् १९२५ मा कालेबुङमा गठित याक्थुङहाङ चुम्लुङ, किरात याक्थुङ चुम्लुङको पहलमा २०५९ मा चारपाने विर्तामोड झापा लिम्बुवानमा गठित लिम्बु भाषा साहित्य प्रतिष्ठानलाई स्मरण गर्दै, याक्थुङ लेखकहरूको प्रथम ऐतिहासिक भेलाका सहभागीहरूबाट व्यक्त विचारहरूलाई मनन गर्दै याक्थुङ लेखक सङ्घ तदर्थ समितिद्वारा याक्थुङ लेखक सङ्घको घोषणापत्र २०१९ जारी गर्दछौँ :

(१) लिम्बुवान मुक्तिका खातिर कलम चलाउने ।

(२) लिम्बुवान राज्य प्राप्तिका लागि चालिने जुनसुकै आन्दोलनहरूलाई सहयोग र समर्थन गर्ने ।

(३) लिम्बुवान सौन्दर्यशास्त्र, मुन्धुम, याक्थुङ लोक वाङ्मयहरूको पुनरजागरणका निम्ति याक्थुङ लेखकहरूलाई पुनरजागृत गर्ने ।

(४) याक्थुङ भाषा, सिरिजङ्गा लिपिमा सिर्जना गर्न, याक्थुङ साहित्यलाई सिद्धान्तपरक र विशिष्टीकरण गरी सिर्जना गर्न सर्जकहरूलाई उत्प्रेरित गर्ने ।

(५) विविध वाद र वैचारिक समूहमा रहेका याक्थुङ लेखकहरूलाई एकताबद्ध गराई लिम्बुवानी राजनैतिक चेतनामा ध्रुवीकरण गर्ने ।

(६) सबैखाले राजनैतिक विचारमा आवद्ध याक्थुङ लेखकहरूको साझा चौतारीका रूपमा याक्थुङ लेखक सङ्घलाई अगाडि बढाउने ।

(७) लिम्बुवानका मुन्धुमी, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक स्थलहरू पर्यावरणीय साहित्यक दृष्टिविन्दुले संरक्षित गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार