रोङ : इलामको रोङ गाउँपालिकाले कार्यालयको नयाँ ठेगाना उल्लेख भएको लेटरप्याड प्रयोग गर्न सुरु गरेको छ ।
गाउँपालिकाको कार्यालय साबिक कोल्बुङ गाउँ विकास समितिको कार्यालयबाट पहरी गाउँमा सार्ने निर्णय भएअनुसारको कार्यालयको लेटरप्याड र काम काजमा पहरी गाउँ लेख्न सुरु गरिएको हो ।
गाउँपालिकाको कार्यालय पहरी गाउँमा सार्ने नेपाल सरकारले गत मंसिर ३ गते निर्णय गरी मंसिर २४ गते राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । सोही सूचनाको आधार र गत फागुन २ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रको आधारमा रोङ गाउँपालिका पहरी गाउँ इलाम लेख्न थालिएको प्रमुख प्रशासकीय अधिकृत डिकप्रसाद दाहालले बताए ।
यसअघि रोङ गाउपालिकाको गाउँसभाले गाउँपालिकाको नाम यथावत राखी केन्द्र मात्र वडा नम्बर ४ को पहरी गाउँमा सार्ने निर्णय गरेको थियो । प्रदेश १ सरकारको सिफारिसको आधारमा नेपाल सरकारले गाउँपालिकाको केन्द्र सारेको थियो ।
पहरी गाउँमा स्थानीयले करिब २० रोपनी जमिन निशुल्क उपलब्ध गराएपछि केन्द्र सार्न गाउँपालिका तयार भएको हो । केन्द्र पहरी गाउँमा कागजी रुपमा सरेपनि भवन तथा आवस्यक भौतिक पूर्वाधार तयार नभएसम्म दैनिक काम काज भने साबिककै कोल्बुङ गाबिस भवनबाट हुने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।
यस अघि इलामको पनि केन्द्र साबिक माइपोखरी गाउँपालिकाको कार्यालयबाट वडा नम्बर ३ को माबु मोड देउरालीमा सार्ने निर्णय भएको थियो । गत २०७४ साल पौष १३ गते सन्दकपुर गाउँपालिकाको केन्द्र सार्ने निर्णय भइ सोही वर्षको पौष २४ गते राजपत्रमा प्रकाशित भइसकेको थियो ।