इलाम : युएईमा व्यवसाय गर्दै आएका चितवनका ओम उप्रेती अकालमा ज्यान गुमाउनेहरुको संख्या घटाउने अभियानमा जुटेका छन् । भौगोलिक विविधता भएको नेपालमा प्राथमिक उपचारको ज्ञान अभावका कारण धेरैको अकालमा नै मृत्यु भएको छ । यो मृत्युदर घटाउन नेपालका विभिन्न जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम प्रदान गर्दै उपे्रती शनिबार इलाम आइपुगेका छन् ।
प्राथमिक उपचार प्रदान गर्ने दुवईको कम्पनी डिस्कभरी रोयल स्पोर्टस (एलएलसी) का प्रोप्राइटर उप्रेतीले प्रति जिल्ला ७० देखि एक सय जनाको सहभागीतामा तालिम दिदै आएको बताए । उनले प्रथामिक उपचार अभावका कारण नेपालमा अकालमा ज्यान गुमाउने संख्या बढेको देखेर दुःख लालेको बताए । आफ्नो केही सहयोगले मृत्युदर घटाउन सकिन्छ भन्ने उद्देश्यले देशका विभिन्न जिल्लामा निःशुल्क तालिमको आयोजना गर्दै सचेतना जगाएको उप्रेतीको भनाई छ । ‘विदेशमा आफूले सिकेको ज्ञानलाई नेपाल भरीका सचेत नागरिकलाई समेत सिकाउन पाएकोमा खुशी लागेको छ’ उनले भने ।
तालिममा छारे रोग, अंगभंग भएमा, करेण्ट लागेमा, सर्पले टोकेमा, रक्तस्राव भएमा, आगोले पोलेमा, बिष सेवन गरेमा, हृदयघात, किराको टोकाइ, दम, श्वासप्रश्वास लगायत गरी १५ प्रकारका समस्या आइपरेमा प्राथमिक उपचारबाटै जीवन रक्षा गर्न सकिने उपायका बारेमा ज्ञान प्रदान गरिएको थियो । तालिमकै अवसर पारेर वैदेशिक रोजगारीका शिलशिलामा युएईमा रहदा काम गरिएकाबारेमा तयार पारिएको एक वृतचित्र समेत देखाइएको थियो ।
आपतकालिन अवस्थामा अस्पताल लैजानु पूर्व गरिने प्राथमिक उपचार विधिकोबारेमा ज्ञान लिन जिल्लाका सर्वसाधारण, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित करीव डेढ सय जना सहभागी भई तालिम लिएका छन् । ‘योगदान राष्ट्रका लागि’ भन्ने मूलमन्त्रका साथ गत वर्षदेखि युएईबाट शुरु भएको निःशुल्क प्राथमिक उपचार तालिम दिने क्रममा हालसम्ममा इलाम सहित २४ जिल्लामा यो तालिम सम्पन्न गरी सकेको आयोजकले जानकारी दिएको छ ।
इलाम नगरपालिका वडा नम्बर ९ को भञ्ज्याङ्ग महिला समूह र गुराँस लाइफ इन्स्युरेन्स कम्पनिको सह आयोजनामा डिस्कभरी रोयल स्पोर्टस्ले सञ्चालन गरेको यस तालिममा उप्रेती सहित युएई र नेपालका गरी ८ जनाको टीम रहेको छ । निःशुल्क प्राथमिक उपचार तालिम इलाममा समेत भएकाले खुशी व्यक्त गर्दै जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले मजदुरी काम गरिरहेकाका लागि पनि यस्ता तालिम ल्याईदिनु पर्ने बताए । उनले जिल्लामा विभिन्न कारखानामा काम गरिरहेका मजदुरका लागि पनि यस्ता तालिम बहुउपयोगी हुने बताए ।
यो तालिम हालसम्म चितवन, धादिङ, कास्की, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपाल्चोक, काठमाण्डौ, स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, सर्लाही,सुनसरी, मोरङ, झापा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर लगायत २४ जिल्लामा सम्पन्न भइसकेको टोलिका रामप्रसाद ढुङ्गेलले जानकारी दिए । सामाजिक कार्यमा क्रियाशिल उप्रेतीले नेपालमा निःशुल्क प्राथमिक उपचार तालिम अभियान २०७४ साल चैत्र १ देखि चितवनबाट सुभाराम्भ गरेका थिए ।