कर्म ठूलो कि भाग्य ठूलो ? आज वादविवाद जाओस् । मेरो लेख आजको लागि यहि कुरामा गएर लेखिनेछ । तर्क छ भाग्य ठूलो, र म सायद आजभन्दा १३ साल अगाडी २०६३ सालतिरको मेरो भाग्यवादी साथीको प्रतिवाद गर्न गइरहेको छु । कक्षा ८ तिरको वादविवाद थियो त्यो । यो एउटा प्रतियोगिता हुने छैन । जीवनको यो मोडमा सो साथी कहाँ पुगेको छ मलाई थाहा छैन । यसको निर्णायक मलाई पढिरहनुभएका पाठकहरु हुनुहुनेछ ।
वैज्ञानिक स्टेफेन हकिङ्गले मर्न भन्दा अगाडी बोलेको अन्तिम शब्द थिए अरे, अबको बाँकी कुरा भगवानलाई थाहा होला । यहाँबाट सुरु गरौँ । उनले भगवानको अस्तित्वलाई अलि फरक तरिकाले स्वीकार्थे । डा.बाबुराम भट्टराईको एक लेखमा मैले पढेको थिएँ । हामी धेरैजसो औसत मानिसहरु केही सुरु गर्न अगाडी सब कुरा भगवानलाई थाहा छ भनेर बसिदिन्छौँ । तर महान वैज्ञानिकहरु भने यो कुरा आफ्नो मृत्यु हुन लाग्दा मात्र बोल्छन् । सार यस्तै थियो । भावालयमा श्रवण मुकारुङ्गको लेखसँगै पढेको थिएँ, स्टेफेन हकिङ्गलाई भगवानको बारेमा सोध्दा उनी भन्थे रे, भगवान छन् वा छैनन् वा थिए वा थिएनन् भन्ने कुरा भन्दा पनि यदि उनी छन् भने उनको दिमागको परिक्षण गर्न मलाई मन छ । उनको दिमागको क्षमता कति रहेछ भन्ने कुरा महत्वपुर्ण छ ? जबसम्म यो पृथ्वीमा मानिस नामको प्राणी रहिरहन्छ तबसम्म यो भगवानको अस्तित्वप्रति प्रश्न उठी नै रहनेछ । तर यति हुँदा हुँदै पनि हकिङ्गको आस्था वा अस्तिक बन्ने कुरा भगवानलाई पुजा गर्न भने थिएन, बरु स्वयम भगवानमा पनि उनी एक प्रयोग गर्न चाहन्थे ।
१३ साल अघि मेरो साथीको एउटा तर्क थियो । यदि कर्म ठूलो हो भने धेरै श्रम गर्ने भरिया किन गरिब छ ? धेरै श्रम गर्ने किसान किन गरिब छ ? पढेर पनि एक विद्यार्थी किन जागिर पाउँदैन ? त्यसदिन मसँग उत्तर थिएन न अध्ययन । त्यसदिन म छैठीले निधारमा लेखिदिएको भाग्यमा विश्वास गर्न बाध्य थिएँ । आज मसँग यसका खण्डनहरु छन् । एक भरिया भरिया मात्र हुनमा उसको भाग्यको दोष छैन ।
हो, भरिया गरिब हुनमा उसको मात्र दोष छैन । झ्याङ्ग यिमाओ निर्देशित फिल्म टु लिभको याद आउँछ । चीनको माओवादको सुरुवाती साइड इफेक्टलाई त्यहाँ प्रस्तुत गरिएको छ । त्यहाँ भएका धेरै दुर्घटनाहरु वा साना साना मानवीय जीवनमा त्यहाँको राजनैतिक व्यवस्थाले असर गरिरहेको हुन्छ तर मानिसहरु ती कुराहरुबाट अन्जान बनिदिन्छन् । जस्तो त्यहाँको प्रमुख पात्रकी छोरीको प्रसुति गराउन पर्ने हुन्छ तर त्यहाँका क्रान्तिकारी युवा चिकित्सकहरुले हस्पिटलका सम्पुर्ण पुराना चिकित्सकहरुलाई बन्दी बनाएका हुन्छन् । भोकले लखतारन एक बृद्ध अनुभवि डक्टर त आउँछ तर मुख्य पात्रले ल्याएको बन(एक प्रकारको चिनिया खाना) र पानी खाएर पेट फुलिएर आफैँ सिकिस्त हुन्छ । राजनैतिक व्यवस्थाले तय गरेको अनुभवहिन जनशक्तिको नियुक्तिले उनको छोरीको हस्पिटलमै ज्यान जान्छ । तर व्यस्वस्थासँग दब्दा दब्दा दबिसकेको आवाजले आफ्नो मरेको छोरीको चिहानमा गएर भन्छ, ‘‘दोष मेरो हो छोरी, मैले त्यो डक्टरलाई पानी नखुवाएको भए….. ।’’ एक भरिया किन भरिया भयो ? उसको वर्ण के हो ? उसको भौगोकिता के हो ? उ कति उमेरको भयो ? बाट सुरु गर्दा उपयुक्त हुन्छ । एक भरिया भरिया हुनमा उसको इतिहासको अध्ययन पनि सुक्ष्म तरिकाले हुन जरुरी छ । र उसकै इतिहाससँगै राजनैतिक इतिहास पनि जोड्न आवश्यक छ । मैले पाएका धेरै भरियाहरु विपन्न समुदायका छन् । त्यसमध्ये धेरै दलित र जनजाति छन् । उमेर हेर्ने हो भने ती उमेर समुह पैतालिस उमेर भन्दा माथि छन् । इतिहास आफैँमा एक साक्षी पनि हो । उनीहरु जुन समयबाट आए त्यो बेला छुवाछुत प्रथाको चरमता थियो । गाउँमा शिक्षाको अभाव थियो । शिक्षा सबैजनालाई पायक थिएन । केही मानिसहरु राजनैतिक आडमा हालिमुहाली गरेर बसेका थिए । वर्गिय र वर्णिय राजको कारण त्यहाँ वर्गको ठूलो खाडल तयार भयो । मेरो प्रश्न छ त्यसबेलाको समय र परिस्थितिहरुमा भरिया जन्मियो कि भरिया बनाइयो ? र यहाँबाट सुरु हुन्छ भरियाको कर्म र भाग्यको बहस ।
कृषक शब्द आफैँमा एक व्यङ्ग्य जस्तो छ, नेपालमा । डोर बहादुर विष्ट आफ्नो पुस्तक फेटालिजम् एन्ड डेभलपमेन्टमा भन्छन्, नेपालीहरु पढेपश्चायत खेतबारीमा जान चाहँदैनन् । यसमा हाम्रो भाग्यवादी मानसिक चिन्तनको कुरा आउँछ । उनी अझ थप्छन् । नेपालीहरुमाझ सुख भन्नाले काम नगरी ऐससँग मोज मज्जा गर्न पाउने अर्थ लाग्दछ । यस्तरी कर्म गर्नेलाई दुःखीको दर्जा दिइएको छ । अझै पनि हामीमाझ, अरुको काम गर्दा सघाउनु भन्ने अर्थ भन्दा ‘तँ त्यसको नोकर हो र अह«ाएको मान्नलाई….’ भन्ने अर्थ लाग्दछ । अह«ाउने र अह«ाएको गर्ने, एक हाइरार्की भाग्यवादी चिन्तनले जन्माएको छ । यसमा कर्म गर्ने कृषक मात्र किन र कर्म गर्ने हरेक मानिसहरुलाई तल्लो जात बनाइएको छ वा वर्गिय रुपबाट मुनि पारिएको छ । नेवारहरुमा कृषक काम गर्ने ज्यापुलाई तल्लो जातको बनाइएको छ । शिल्पको काम गर्ने मानिसहरुलाई दलित बनाइएको छ । कामको आधारमा बनाइएको वर्गहरुको विभेदलाई अब हामी कर्म मान्ने वा भाग्य ? स्वयम कृषि पढ्ने विद्यार्थी पनि जागिर नै चाहन्छ एउटा ऐसले भरिएको आरामको जिन्दगी । २० वर्ष आफ्नो उमेर आइ टी कम्पनीमा बिताएपछि सिंगापुरका माल्कोम ओन्गले माछापालन सुरु गरे र त्यसमा पारम्परिक माछापालनलाई उनले प्रविधिद्धारा नयाँपन दिए । माछाहरुको गन्ती, पानीको तापक्रम, सम्पुर्ण कुराहरु जे जति कुराहरु डिजिटलाइज हुन सक्थे त्यसको म्यानेजमेन्ट डिजिटलाइज गराएदिए । अहिले सिंङ्गापुरका ठूला ठूला तारे होटलमा उनको व्यापार चलिहरको छ । हाम्रो सोचाई संयन्त्र यो दुःख गर्न किन चाहँदैन ? कर्मलाई दुःखसँग जोड्ने हाम्रो चिन्तनले कर्मको आनन्दलाई बुझेर पनि बुझ पचाएको छ । वा बुझ पचाउँदा पचाउँदै बुझ्न छाडेको छ । अर्को कुरा पनि छ, यो तर्कमा ल्याकत छ या छैन त्यो तर्क नै जानोस् तर यो कृषिप्रधान देशमा एउटा बैंकले सहरको घर फल्ने आनाको पचास साठी लाख भ्यालुएसन गर्न सक्छ तर कृषि कर्म भइरहेको रोपनीका रोपनी बारी, खेतको लाख पैसा पु¥याउन पनि खुट्टा कमाउँछ । तर छक्क लाग्दो कुरा यदि फेरी त्यही जग्गालाई प्लट गरिदिएमा त्यो माल भै हाल्छ । अब कुरा आउँछ त्यहाँ कृषकलाई विपन्न गरिब बनाइयो या ऊ भाग्यको कारणले गरिब भयो ?
कर्मको स्तुति मैले गर्नेवाला छैन । सिर्फ कर्मले मात्र हुनेवाला छैन । यसको कारण म अन्त्यमा खोल्नेछु । जापानीहरु विश्वमा सबैभन्दा धेरै काम गर्छन् । उनीहरुको वर्क कल्चरमा, यदि कसैलाई अफिस समय दश बजे भनिएको छ भने त्यो दश बजे हुन्न । त्यो नौ बजे वा दश बजे भन्दा आधा घण्टा अगाडी भन्ने हुन्छ । र पाँच बजे अफिस बिदा हुने समय भनिएको छ भने त्यो पाँच बजे हुन्न त्यो सात वा आठ बजे वा त्यो भन्दा बढि हुन आउँछ । काम बेगर बस्नु उनीहरुको संस्कार होइन । दोस्रो विश्वयुद्धमा तहसनहस भएको यो देशले आफैँलाई कर्मकै आधारमा उभ्याएको छ । विश्वका जुनै सभ्यता वा विकसित राष्ट्रलाई हेरौँ उनीहरुको विकासको जग भनेकै कर्म हो । जर्मनी, अमेरिका, चीन, मलेशीया, सिङ्गापुर सबै । औसत २४ घण्टा समय रहने हरेक मानिसहरुसँग उसले उपभोग गर्ने समयको सम्बन्ध सदैव रहन्छ । समयको उपभोग नै हरेक सफलता र असफलताको कसि हो ।
नेपालको मुलधारमा चलिरहेको भाग्यवादी दर्शनले भाग्यलाई अघिल्लो वा पछिल्लो जन्मसँग मात्र जोड्दैन । भाग्य बनाउन सकिने कुरा पनि हो भन्ने बनाउँछ । भगवानको चाकरी ग¥यो भने उनले हाम्रो भाग्य सुधार्नेछन् भन्ने विचारले हामीलाई कलिलो मानसिकताबाट नै ब्रेन वास गरिएको छ । चाकरीको यो शीलशीला आफ्नो मान्छे र अर्काको मान्छेबिचमा कर्मलाई नजरअन्दाज गरिदिन्छ । भाग्यवादको माइग्रेन भनुम् यस्लाई । नेपालको परिवेशमा यहाँ कर्म भन्दा पनि चाकरी र आफ्नो मान्छे चल्छ । राजन (मुकारुङ्ग) दाइले भन्नुभएको कुरा याद आउँछ, नेपालमा गणेशवाद छ । डोर बहादुर विष्टको चाकरीवादलाई वहाँ भने गणेशवाद भन्न रुचाउनुहुन्छ । वहाँ थप्नुहुन्छ, ‘‘वास्तवमा कर्म गर्ने त कुमार थियो नी । तर निर्णायकलाई नै चक्कर मारेको भरमा गणेशले बाजि हत्यायो ।’’आफ्नो गल्तीहरुलाई नेपालीहरु जहिल्यै पनि भाग्यवादीहरुले तर्काउने ठाउँहरु निकालिरहेका हुन्छन् । भगवानलाई पानी चढाउँदा पापमोचन हुन्छ । ओशो रजनिश त भन्ने गर्छन् धनीहरु गरिबहरुलाई पाप मोचनका लागि प्रयोग गरिरहेको हुन्छन् । आदि, इत्यादी । डोरबहादुर विष्टकै भाषामा भन्ने हो भने भ्रष्टचारको शीलशीला यहिँबाट सुरु हुन्छ । घुस लिने, आफ्नो मान्छे र अर्काको मान्छे छुट्याउने , चाकरी प्रथाको विकास गर्ने । मेरो देखाइ भनेको भाग्यवादी यस्ता चिन्तनले अर्काको मान्छे भन्ने नाममा उपयुक्त मान्छे बाइपास भएको छ । चाकरी प्रथाले गर्दा असल नेतृत्वहरु अल्पमतमा परेका छन् । कर्मप्रति नेपालीहरुको विश्वास उठ्न गएको छ ।
भर्खरै मैले एक फिल्म हेरेको थिएँ तुम्बाड । समृद्धिका देवीले जब १६ करोड देवदवीको जन्म दिइन् उनको कोख पृथ्वी थियो जहाँ अन्न अनि सुनको खानी थियो । हस्तर उनको पहिलो सन्तान थियो तर उसको लोभले गर्दा उसले पृथ्वीको सम्पुर्ण सुन चोरिदियो । जब उसको लोभ अन्नमाथि पनि प¥यो तब सम्पुर्ण १६ करोड देवदेवीले उमाथि आक्रमण गरिदिए । हस्तर मारियो । तर समृद्धिकी देवीको पहिलो सन्तान भएकोले उनले उनलाई फेरी आफ्नै कोखमा राखिन् । तुम्बाडका मानिसहरुले भने यहि हस्तरको मन्दिर बनाए । समृद्धिकी देवीको कोख त्यहि तुम्बड गाउँमा हुन्छ । खाना खान नपाएको हस्तर एकदमै भोको छ तर उनको पिठ्युँमा सुनको असर्फीले भरिएको थैली छ । अन्न छुन नसक्ने श्रापको कारण ऊ अन्नको पीठोले बनाएको घेराबिच आउन सक्दैन । तर हस्तरले छोएपछि मानिस घाउहरुसहित अमर हुनजान्छ जो आफ्नै कारणले मर्न सक्दैन । यस्तोमा उसलाई ढुङ्गा हालिएको पीठोको गुडियाको चारो लगाएर नछोइकिन समृद्धिको कोखबाट हस्तरको पिठ्युँको थैलीबाट पैसा चोर्न पात्रहरु गइरहन्छन् । र अन्त्यत मानिसहरुलाई उनीहरुकै लोभले मार्छ । यो कथा मीठो छ एकदमै मीठो जसको सार हुन्छ लोभले लाभ र लाभले विलाप । अर्को तर्क यो पनि हुन्छ चोर्नु भनेको पाप हो । तर यतिमाझ मेरो भने अर्कै तर्क छ यदि मुख्य पात्रले कोखसम्म जाने कर्म नगरेको भए उसले बाँच्ने जीवन दन्त्य कथा जस्तो अरेको भरमा हुन्थ्यो । उसले पैसा कमायो तर कहिलेसम्म कमाउनुपर्ने थियो भनेर सोचेन । उसको गल्ती यहि रह्यो । जापानीहरुको सामाजिक जीवन उनीहरुको वर्क कल्चरकै कारण ध्वस्त बनेको छ । धेरै जापानी मानिसहरु अविवाहित छन् । यो पाटो आफ्नो ठाउँमा रहन्छ तर यसमा हामीले कसरी भाग्यलाई दोष दिन सक्छौँ र ? हैन र ? साथै भाग्यवाद र नेपालको अन्तरसम्बन्ध जान्नका लागि डोरबहादुर विष्टको पुस्तक फेटालिजम एन्ड डेभलपमेन्ट पढ्न पनि अनुरोध गर्दै मैले मेरो कर्मपुर्ण लेखलाई अन्त्य गरिदिएँ ।