इलाम : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको बताएका छन् ।
आइतबार इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताए । ‘हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ’, राईले भने, ‘हामी नयाँ ढाँचामा काम गरेकाले केही समस्या आएको हो ।’
उनले सङ्घीयता विफल हुन कुनै पनि हालतमा नदिने विचार व्यक्त गरेका छन्। सङ्घीयताका कारण मात्रै समृद्धि घोषणा गर्न सकिने भएकाले यस्तो नयाँ संरचना अपनाइएकोसमेत जानकारी दिए ।
फरक प्रसङ्गमा मुख्यमन्त्री राईले प्रदेश नं १ लाई आत्मनिर्भर बनाउने अभियानमा रहेको बताएका छन् । उनले प्रदेशका पूर्वाधारलाई परिचालित गरेर प्रदेशमा सबै क्षेत्रमा आत्मनिर्भर बनाउने अभियान लागेको बताए ।
उनले प्रदेशले बजेटमात्र छुट्याएर नभई प्रविधितर्फ उन्मुख भएर प्रदेशलाई नमूना बनाउने अभियानमा लागेको जानकारी दिए ।
सूर्योदय पहिलो पर्यटकीय नगर
इलामको सुर्योदय नगरपालिका पर्यटकीय नगर घोषणा गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुर्योदयलाई प्रदेशकै पहिलो पर्यटकीय नगर घोषणा गरे । सुर्योदय नगरपालिकाको चौथो नगर सभा उद्घाटनका क्रममा मुख्यमन्त्री राईले पर्यटकीय घोषणा गरेका हुन् ।
जिल्लाकै एक प्रमुख पर्यटकीय क्षेत्र कन्याम, पशुपतिनगर, श्रीअन्तु जस्ता पर्यटकीय स्थलहरुको रहेका सुर्योदयलाई पर्यटकीय नगर घोषणा गरिएको हो । घोषणाकै अवसरमा पर्यटकीय नगर लेखिएको लेटरप््याड समेत विमोचन गरियो ।
सुर्योदय नगरपालिकालाई प्रदेश १ ले पनि पर्यटकीय नगरको सूचिमा राखेको थियो । संघीय सरकारले पनि एक सय पर्यटकीय क्षेत्रको सूचिमा सुर्योदय नगरपालिकालाई पनि राखेको थियो ।