सुजता सुनुवार नयाँबुलन्द
इलाम : इलाममा चार दिने प्रस्तावना लेखन तालिम बुधबारबाट सुरु भएको छ ।
जिल्लाका विभिन्न स्थानमा उद्यमी भई स्वरोजगार बनी रहेका उद्यमी महिलाहरुलाई प्रस्तावना लेखनमा सक्षम बनाउनका लागी चार दिने तालिम दिन सुरु गरिएको हो ।
इलाम सदरमुकामा चार दिनसम्म चल्ने तालिमको सहजीकरण महिला उद्यमी महासंघ नेपालका महासचिव दर्शना श्रेष्ठले गरीरहनु भएको छ ।
एक सय ५० जना महिला उद्यमीहरुको सहभागीता रहेको तालिमको उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलको अध्यक्षता तथा घरेलु तथा साना उद्योग विकास समिति इलामका उद्योग अधिकृत सत्यनारायण राईको प्रमुख आतिथ्यतामा भएको महिला उद्यमी संघका अध्यक्ष सुशिला सापकोटाले जानकारी दिनु भयो ।
तालिमको उद्घाटन कार्यक्रममा घरेलु महासंघका अध्यक्ष दिनेश श्रेष्ठ , महिला जागरण संघका अध्यक्ष विष्णु दाहाल लिम्बु लगायतले शुभकामना दिनु भएको थियो ।

















































