सातौ पटक हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइदै

नयाँ बुलन्द

इलाम : इलाममा सातौ पटकको हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । आगामी फागुन १२, १३ र १४ गते हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइने भएको हो ।

जिल्ला जनस्वाथ्य कार्यालय इलामले हात्ती पाइले रोग निवारण कार्यक्रम सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा २ प्र्रतिशत भन्दा बढी रोगी परिक्षणमा भेटिएकाले अभियान सकिए पनि सातौं पटक औषधी खुवाउन लागिएको बताइएको छ ।

जिल्लामा दुई लाख ६६ हजार ८ सय ६८ जनालाई खुवाइने भएको छ । औषधी सुरक्षित भएकाले सबै नागरिकले औषधी सेवन गर्न जिल्ला जनस्वाथ्य कार्यलयका प्रमुख जीवनकुमार मल्लले आग्रह गरे । उनका अनुसार एक हजार ९ सय ४४ केन्द्रमा यत्ति नै संख्यामा महिला स्वाथ्य स्वयम सेविकाले औषधी खुवाउने कार्यलयले जनाएको छ ।

औषधी ६ वर्ष निरन्तर खानु पर्ने भएकोले अभियान सञ्चालन नभएको समयमा स्वाथ्य केन्द्रमा गई निशुल्क औषधी सेवन गर्नुपर्ने बताइएको छ । २ देखि ५ वर्ष उमेर समूहकाले एक चक्की, ६ देखि १४ वर्ष समूहकाले दुई चक्की र १५ वर्ष देखि माथिका उमेर समूहले तीन चक्की औषधी खानु पर्ने जनस्वाथ्य प्रमुख मल्लले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी १६ भन्दा बढी इलामका क्रियाशिल पत्रकारहरूले सामूहिक रुपमा एकैसाथ हात्तीपाइले रोग विरुद्धको औषधी खाँदै औषधी सुरक्षित रहेको जनाउदै , अब कुनै शंका नमानी खान हुने भएकाले सबै नागरिकलाई औषधी सेवन गर्न आग्रह समेत गरेका छन् । गर्भवती महिला, सात दिनसम्मको सुत्केरी, दुई वर्ष भन्दा कम उमेरको बच्चा र ७० वर्ष माथिकाले औषधी सेवन गर्न नहुँने कार्यलयले जनाएको छ ।

हात्ती पाइले रोग संक्रमित क्यूलेक्स जातको पोथी लामखुट्टेबाट सर्ने गर्छ । लामखुट्टेबाट बच्न रातीको समयमा झुल भित्र सुत्ने र लामखुट्टे नियन्त्रण गर्न प्रत्येक घर घरबाटै सरसफाई गर्न जरुरी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार