नयाँ बुलन्द
इलाम : २० औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस इलामसहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ सन्देशमूलक प्ले कार्डसहितको प्रभातफेरी र प्रवचन कार्यक्रम गरी इलाममा भुकम्प दिवस मनाइएको छ ।
सदरमुकामस्थित धोवीधारा कार्कीपार्कबाट सुरु भएको प्रभातफेरी नारायणस्थान, चोकबजार, हुँदै ठूलो टुँडिखेलछेउको नगरपालिकाको सभाहलमा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो । प्रवचनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले सुरक्षित भवन निर्माण गर्ने क्रममा भवन निर्माण आचारसंहिता पालना गर्न सकिए भूकम्पीय जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले नगरपालिकाले पनि नगर क्षेत्रभित्र भवन निर्माण आचारसंहिता पालना गराउन थालेको र अनाधिकृत रूपमा निर्माण भएमा कानुनी कारबाहीको दायरामा ल्याउन सुरु गरिएको बताए ।
कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख कुमारप्रसाद घिमिरेले नेपालमा बिगतका भूकम्प, तिनका क्षति, बर्तमान अवस्था र क्षति न्यूनीकरणका प्रयासबारे जानकारी गराएका थिए । उनले डिभिजन कर्यालय इलामबाट भइरहेको त्यससम्बन्धी कार्यको पनि चर्चा गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख, सरकारी कार्यालका प्रमुख, सुरक्षा निकायका प्रमुख सहित निर्माण व्यवसायी, मजदुरसमेतको उपस्थिति रहेको थियो ।
२ माघ १९९० मा गएको महाभूकम्पको दिनको सम्झनामा नेपाल सरकारले प्रत्येक वर्ष २ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा सरकारी तवरबाटै मनाउने निर्णय गरेको छ ।