काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्रका ६ दलले पार्टी एकीकरणको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा ऐतिहासिक पार्टी एकीकरण कार्यक्रमको आयोजना गरी मोर्चाभित्रका उपेन्द्र यादवबाहेक अन्य ६ दलले पार्टी एकीकरणको घोषणा गरेको हा ।
तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकीकरण भई राजपाको घोषणा भएको हो ।
राष्ट्रिय जनता पार्टीले सामूहिक नेतृत्वको सिद्धान्तलाई अवलम्बन गर्दै अध्यक्ष मण्डलीय प्रणालीअनुसार चल्नेछ । अध्यक्ष मण्डलीय प्रणालीअनुसार राजपामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र यादव, अनिलकुमार झा र राजकिशोर अध्यक्ष रहेका छन् ।
अध्यक्ष मण्डल नै पार्टीको सर्वोच्च निकाय हुने र पार्टीको सबै राजनीतिक र सांगठनिक निर्णयहरु सामूहिक निर्णय प्रणालीबाट गर्ने विज्ञप्तिमा उल्लेख छ । अन्य सांगठनिक संरचना, पार्टी संचालनको कार्यविधि, पार्टीको विधान आदिको निर्णय अध्यक्ष मण्डलबाट हुने जनाइएको छ ।
अब संसदमा राजपाको २५ सिट भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको ११, सद्भावना पार्टी ६, तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीको ३/३, फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी एक एक सिट रहेका थिए ।
नेता कार्यकर्ता उत्साहित, भन्छन्- आपसी लडाइँको अन्त्य भयो
बुधबार मध्यरातमा ५ पार्टीका अध्यक्षहरुले एकता गर्ने र राष्ट्रिय जनता पार्टी बनाउने सहमति गरेका थिए, जसमा विहीबार अनिल झा पनि थपिएपछि ६ पार्टीका नेताले हस्ताक्षर गरेका छन् ।
दिउँसो पार्टी एकता घोषणा कार्यक्रममा उपस्थित नेता कार्यकर्ता निकै उत्साहित देखिए । एकता सभामा शीर्ष नेताहरुले एकै स्वरमा ‘मधेसी दलहरु मिल्नै सक्दैनन् भन्थे तर, एकता त गरेर देखायौं’ भनेका छन् ।
तत्कालीन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘मधेसी पार्टी एकता हुन सक्दैन भन्थे तर, आज त एकता भयो । हामीले आपसी लडाइँ जित्यौं ।’ तत्कालीन फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एकताबाट आफू निकै खुसी रहेको बताए ।
एकता प्रक्रियामा सामेल पार्टीका नेताहरुले पनि अब आफूहरु एक भएको र यो ६ पार्टीको एकता मात्र नभई मधेस विद्रोहको एकता भएको बताए । तराई मधेसका जनताले बारम्बार तिमीहरु मिलेर आऊ भनेको भन्दै उनीहरुले आफूहरुले जनताको चाहना अनुसार एकता गरेको बताए ।
नयाँ पार्टी चुनावप्रति नरम कि गरम ?
सरकारले बैशाख ३१ गतेको स्थानीय तह चुनाव जसरी पनि गर्ने भनिरहेका बेला मधेस केन्दि्रत ६ पार्टीबीच भएको एकतालाई अर्थपूर्ण मानिएको छ । किनकि उनीहरु संविधान संशोधन नभई चुनाव हुन नदिने अडानमा छन् ।
एकता प्रक्रियामा आएका दलहरुमात्रै मात्र होइन, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसहितको मधेसी मोर्चा समेत यो चुनाव बिथोल्ने आन्दोलनमा छ । तथापि यो एकताले तराई मधेसमा उनीहरुले गर्ने भनिएको आन्दोलनमा प्रभाव पार्ने देखिएको छ ।
यससँगै यो नयाँ पार्टी चुनावप्रति नरम हुन्छ कि गरम भन्ने प्रश्न जन्मिएको छ । नयाँ पार्टी घोषणा कार्यक्रमा राष्ट्रिय जनता पार्टीको छातामुनि एकीकृत भएका नेताहरुले संविधान संशोधन नभई चुनाव हुन नदिने संकेत दिएका छन् ।
यथास्थितिमा चुनावमा भाग नलिने संकेत गर्दै अध्यक्ष मण्डलका संयोजक एवं तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘३१ गतेको चुनावमा भाग लिनु भनेको वाकओभर दिनु भो । वाक ओभर दिन किन चुनावमा जाने ?’
अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारीले बैशाख ३१ गते चुनाव गरेर देखाउन चुनौती दिए । ‘हामी लोकतन्त्रवादी हो, चुनाव चाहन्छौं तर, वातावरण त हुनुपर्यो नि’ संविधान संशोधन गरेको भोलिपल्टै चुनावमा जान तयार रहेको भन्दै महतोले भने, ‘होइन भने थरुहट-मधेसमा चुनाव गरेर देखाओस् ।’
शरदसिंह भण्डारीले आफूहरुको माग संशोधन नभई देशभर चुनाव हुन नसक्ने बताए । ‘जहाँ चुनाव हुन्छ, त्यो नेपाल हुन्छ’ उनले भने, ‘जहाँ हुँदैन के हुन्छ ?’
शुक्रबार बालुवाटारमा फैसला हुने
चुनावबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई शुक्रबार बिहान साढे ८ बजे बालुवाटारमा बोलाएका छन् । त्यहाँ निणर्ायक छलफल हुने नेताहरुको दाबी छ ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा र विजय गच्छदार मात्रै होइन प्रतिपक्षी एमालेसमेत मधेसी मोर्चा सहभागी हुन्छ भने दुई चरणमा चुनाव गर्न तयार रहेका छन् । सम्भवतः प्रधानमन्त्रीले शुक्रबार मोर्चाका नेताहरुसँग यही प्रस्ताव राख्नेछन् ।
तर, मोर्चाका नेताहरुको प्रस्तावचाहिँ दोस्रो चरणको निर्वाचनमा भाग लिनका लागि पनि संविधान संशोधन हुनुपर्ने भन्ने रहेको छ । व्यवस्थापिका संसदमा दर्ता भएको पछिल्लो संशोधन प्रस्तावलाई मोर्चाले मानेको छैन । र, एमालेले पनि त्यसमा समर्थन गरेको छैन ।
सम्भवतः शुक्रबारको बैठकमा सहमतिको विन्दु यो हुन सक्छ कि संशोधन प्रस्तावलाई एमाले र मोर्चा दुबैले समर्थन गर्ने र त्यसलाई पारित गर्दै दुई चरणमा चुनावमा जाने ।