पाँचथर : पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकपको सोमबारको खेलमा एलेभेन एरोज क्लब सुनसरी सेमिफाइनल प्रवेश गरेको छ । हिमालयन शेर्पा क्लब काठमाडौंलाई ३-० गोल अन्तरले पराजित गरेर सुनसरी अन्तिम चारमा पुगेको हो ।
जितका लागि सुनसरीका सामसिङले दुई र पिटरले एक गोल गरेका थिए । खेलको ३० औँ मिनेटमा हिमालयन शेर्पाका डिफेन्स कामागाटे डिबक्सभित्र लडेको मौकालाई सदुपयोग गर्दै सामसिङले पहिलो गोल गरे । ६८ औँ मिनेटमा पिटरले निकालेको पासलाई सदुपयोग गर्दै सामसिङले अर्को गोल थपे । ८३ औँ मिनेटमा सुनसरीका पिटरले एक गोल थपेर टिमलाई सेमिफाइनलमा स्थान पक्का गराएका हुन् ।
हिमालयन शेर्पाको कमजोर प्रदर्शनको फाइदा लिँदै सुनसरीले सानदार जित निकालेको हो । दुवै टिमबाट एडिभिजनका अनुभवि खेलाडी मैदानमा उत्रेका थिए । सोमबारको खेलमा सुनसरीका पिटर म्यान अफ दी म्याट घोषित भए ।
खेलमैदानको अनुभव नभएका कारण आफ्नो टिमले राम्रो खेल्न नसकेको हिमालयन शेर्पाका प्रशिक्षक विकास गौचनले बताए । ‘लामो समयपछि खेलमा सहभागी भएका क्लबका खेलाडीबिच तालमेल नमिलेकाले पनि टिमले हार बेहोर्नु परेको हो’ गौचनले भने । कारबाहीमा परेको चार वर्षपछि हिमालयन शेर्पा क्लबका खेलाडीहरु मैदानमा उत्रिएका हुन् ।
प्रतियोगितामा १० वटा टिम सहभागी भएकाले २ वटा टिम पहिलाे चरणबाटै सिधै सेमिफाइनल पुग्ने भएकाले एलेभेन एराेज सेमिफाइनलमा पुगेकाे हाे । क्वाटर फाइनलको खेल भने मंगलबारदेखि सुरु हुँदैछ । क्वाटरफाइनलको पहिलो खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर र फेन्स क्लब बिआसि भुटान अन्तिम चारका लागि भिँड्दैछन् ।