माङसेबुङमा मोबाइलबाट पढाइ !

इलाम : मोबाइलले विद्यार्थीको ध्यान अन्यत्र मोडिने र आदत विग्रने भन्दै अधिकांश विद्यालयमा लैजान मनाही छ । तर जिल्लाकै विकट मानिने माङसेवुङस्थित एक विद्यालयका विद्यार्थी भने कक्षा कोठामै मज्जाले मोबाइल चलाउँछन् । त्यही पनि विद्युत् सुविधा नपुगेको स्थानमा ।

माङसेवुङ ३ को जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीको विद्यालय अवधिको केही समय मोबाइलसँग बित्न थालेको छ । दक्षिण कोरियाको ह्याङडङ ग्लोवल युनिभर्सिटीको ग्लोवल प्रोजेक्टअन्तर्गत वाइरलेस इ–लाइब्रेरी सुरु भएपछि विद्यार्थीलाई मोबाइलमार्फत शिक्षण गर्न थालिएको हो ।

‘यस्तो वाइफाइ प्रविधि जडान गरिएको छ जसमा पुस्तकालयको एउटा साइट मात्र खुल्छ,’ प्रधानाध्यापक सुवास लिम्बूले भने, ‘अरू साइट नखुल्ने भएकाले विद्यार्थीको ध्यान पढाइमा नै केन्द्रित हुन्छ ।’ यो विद्यालय रहेको स्थान विकट रहेकाले विद्युत् सुविधा छैन । तर सौर्य ऊर्जाको प्रयोगले इ–लाइब्रेरी सम्भव भएको हो । सौर्य ऊर्जाबाट उत्पन्न करेन्टलाई पावर बैंकमा जम्मा गरिन्छ । अनि त्यही इन्धनको भरमा वाइफाइ उपकरण सञ्चालनमा आउँछ । यो उपकरण सञ्चालन भएपछि सवै एनरोइड फोनबाट विद्यार्थीले चाहेको विषयवस्तु खाजीखोजी पढ्न सक्छन् । शव्यदृश्यमार्फत विद्यार्थीले अध्ययन गर्न पाउने यो प्रविधिमार्फत एकपटक १ सय मोबाइल प्रयोगमा आउन सक्छन् ।

‘अहिले रहेका १३ वटा मोबाइल र शिक्षकको समेत मोबाइल प्रयोग गरेर सुविधा दिइएको छ,’शिक्षक एलिश राईले भने, ‘अरू बढी मोबाइलको प्रबन्ध भए एकै पटकमा धेरै विद्यार्थीलाई सुविधा दिन सकिन्थ्यो ।’ कक्षा ८ सम्म रहेको विद्यालयमा अहिले आलोपालो मोबाइलमार्फत अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । विद्यालयमा २ सय ५० विद्यार्थी छन् ।

‘विकट यो स्थानमा सामान्य लाइब्रेरीको समेत प्रयोग गर्न नपाइने अवस्थामा इ–लाइब्रेरीले विद्यार्थीलाई साँच्चै सहयोग मिलेको छ,’ ८ कक्षामा अध्ययनरत निरुता लिम्बूले भनिन् । चाहेको विषयसँग सम्बन्धित जानकारी सजिलै पाइने भएकाले हरेक दिन विद्यालय पुग्न मन लाग्ने कक्षा ७ का छात्र सन्दिप बुढाथोकीको अनुभव छ ।

यो प्रविधि सुरु भएपछि नियमित विद्यालय आउने विद्यार्थीको संख्यामा बृद्धि भएको विद्यालयले जनाएको छ । ‘परीक्षणका लागि भर्खरै मात्र सुरु गरिए पनि निक्कै फाइदाजनक देखियो,’ प्रधानाध्यापक लिम्बूले भने, ‘अहिले बर्खे बिदा भएकाले विद्यालय सञ्चालन भएपछि यसको थप उपयोगिता पुष्टि हुनेछ ।’ पाठ्यपुस्तकसमेत समयमा नपुग्ने र लाइब्रेरीको व्यवस्था हुन नसकेका क्षेत्रमा यो प्रविधि थप उपयोगी हुनेमा विद्यालय आशावादी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार