
इलाम : थामी समुदायको मौलिक ज्ञान, संस्कृति र परम्परालाई संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले प्रकाशित ‘सिलोके पालाखे (मुन्धुम)’ पुस्तकको विमोचन कार्यक्रम मङ्गलबार इलामको माइजोगमाई गाउँपालिका नयाँबजारमा सम्पन्न भएको छ ।
कोशी प्रदेश सरकारको आर्थिक सहयोग तथा नेपाल थामी समाज इलामको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल थामी समाज इलामका अध्यक्ष चित्र थामीको अध्यक्षता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि माइजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे रहेका थिए भने गाउँपालिका उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुनिता राई, नेपाल आदिवासी जनजाति महासंघ माइजोगमाईका अध्यक्ष लापासाङ एल्मो, नेपाल आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष कामी शेर्पा, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष रविन चेम्जोङ, किराँत राई यायोक्खाका अध्यक्ष रोशन राई लगायत विभिन्न जातीय तथा सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल थामी समाज माइजोगमाई गाउँ कार्यसमितिका अध्यक्ष ताराबीर थामीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पुस्तक प्रकाशन समितिका संयोजक भक्तबहादुर थामीले पुस्तक प्रकाशनको उद्देश्य तथा यसको महत्वबारे जानकारी गराएका थिए ।
त्यसैगरी, पुस्तकका सम्पादक सुखबीर थामीले ‘सिलोके पालाखे (मुन्धुम)’ पुस्तकको विषयवस्तु, संकलन प्रक्रिया र समुदायका लागि यसको महत्वबारे प्रकाश पारेका थिए । उनले थामी समुदायको मौखिक परम्परामा सीमित रहँदै आएको मुन्धुमलाई लिखित रूप दिँदै भावी पुस्ताका लागि सुरक्षित राख्ने प्रयासस्वरूप पुस्तक प्रकाशन गरिएको बताए ।
कार्यक्रममा वक्ताहरु शुभकामना मन्तव्य व्यक्त गर्दै थामी समुदायको भाषा, संस्कार, संस्कृति तथा मौलिक ज्ञानको संरक्षणमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले यस्ता सांस्कृतिक तथा अनुसन्धानमूलक प्रकाशनलाई आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा पुस्तकको औपचारिक विमोचन गरिएको थियो । साथै पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानपत्र, कदरपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
थामी समुदायका गुरुहरू, कलाकारहरू, समाजसेवी, सुरक्षाकर्मी तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सञ्चालन रञ्जु थामी र एन्जिला थामीले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले थामी समुदायको मौलिक पहिचान, भाषा, संस्कार र धार्मिक दर्शनलाई संरक्षण गर्न यस्ता दस्तावेजीकरण तथा प्रकाशन अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।















































