
” बस्नुहोस,बस्नुहोस अब आइपुग्यो ।” ट्याक्सी डाइवरले आफ्नो ट्याक्सीका यात्रुलाई भन्दै थियो । एउटी अधबैंसे महिला आई पुगिन् ।
हामीले लामो समय पर्खेको यात्रु उनै रहिछन् । मेरो छेउमा ट्याक्सीको सेकेन्ड सिटमा उनलाई बसाएर ट्याक्सी इलामतिर हुइँकियो ।
बाटोमा उनले मेरो अनुहारतिर फर्किएर भनिन् । हजुरलाई असजिलो भयो कि ?मैले छोटो उत्तर दिएँ ” छैन, मलाई ठिक छ ।”
मेरो बोली सुनेपछि मेरो अनुहारमा हेर्दै प्रश्न गरीन् ” हजुर त निमेश सर होइन ?” मेरो नाम उच्चारण गरेपछि म अलिक अलमल्ल परें । उनको अनुहार र शरीर नियालेर हेरे तर चिन्न सकिन । मैले नचिने तर उनले चिनीन् । मैले प्रश्नको जवाफ दिएँ।” हो तर मैले चिन्न सकिन सायद भुलें होला ।”
म हजुरको विद्यार्थी हुँ।करिब १२/१३ बर्ष पहिले पढाउनु भएको थियो । बिर्सनु स्वाभाविक नै हो । उनले परिचय दिइन ” म निमिषा हुँ ।”
मलाई याद भयो । कक्षा ९ मा पढ्दा पढ्दै पोइल हिंड्ने भनेर स्कुलमा निकै चर्चा भएको थियो ।
निमिषा के गर्दैछौ ? मैले सोधे ।
“मेरो बेहाल छ, सर” उनले भनिन् ।
किन ? पुन जिज्ञासा राखें।
खै ? सर ! के भनौं । मैले कक्षा ९ मा पढ्दा नै बाटो बिराएँ । बिवाहा गरे तर हामीमा कुनै सीप थिएन,परिपक्वता थिएन । बेरोजगारीले गरिबी ल्यायो।गरीबीले दुई बर्षमा नै हामीमा कलह भयो । म साहुसँग ऋण लिएर बिदेशतिर लागे भन्दै निरासाको लामो सुस्केरा हालीन् ।
” वैदेशिक रोजगारीमा सबै गएका छन् , किन के भयो त ? मैले प्रष्ट हुन खोजें ।
होइन सर, मेरो कथा व्यथा अलिक फरक छ । म घरभित्र काम गर्न ओमान गएकी थिएँ । काम सजिलो थियो । तलब राम्रो थियो तर त्यो स्थायी हुन सकेन। एक दिन साहुको परिवार बाहिर गएका थिए । साहुको छोरा घरमा थियो। बेलुका दुई जना साथी लिएर आयो । खाना बनाएर राम्रोसँग खुवाए । उनीहरू रक्सी पिउन थालें । मलाई मासु चुरोट मगाए । मैले व्यवस्था गरी दिए । मलाई रक्सी पिउन भने मैले इन्कार गरे । उनीहरूको हाउभाउ अलिक फरक थियो । मलाई रक्सी पिउन कर गर्न थालेपछि म भान्सा कोठामा गए । मलाई पछ्याउँदै त्यही पुगेर जबर्जस्ति गर्न खोजे । मैले उनीहरूको हातबाट खुस्किएर मासु काट्ने कत्तिले तीन जनालाई काटी दिएँ । एक जना मरेछ ।
म थप उत्सुक बनेर सोधे ,अनि के भयो ?
म जेलमा सात बर्ष थुनिए । जबर्जस्ति करणीको मुद्दा भएकोले नेपाली दूतावासले सहयोग गरेर जेल मुक्त गराएर नेपाल पठायो । ओमानमा हुने नेपालीले केहि पैसा उठाएर दिएकोले गाउँ फर्किएर आउँदैछु । निकै भावुक स्वारमा भनिन् ।
बिगत भुलेर अब राम्रोसँग घरजम गरेर खानु , मैले आस्वस्त पार्न खोजे ।
खै? सर ! के घरजम भन्नू र ? हाम्रो आपसी मनमुटाव भएर म बिदेश गएपछि उनले अर्कै बिवाह गरेका छन् । मसँग कुनै सम्पर्क छैन । फोनमा सम्म गफगाफ हुँदैन। उता माइतीले पढ्दा पढ्दै मति सकेकि भनेर आजसम्म बोलाएका छैनन् । मलाई थाहा छैन, म गाउँमा पुगेर कुन घरमा जाने र के भनेर बास माग्ने हो ? तर जेलमा बस्दा यही गाउँ , छरछिमेकी र साथीभाइको याद आइरहन्थ्यो अनि आफ्नै कमजोरी संझेर आसु बगी रहन्थ्यो ।
निमिषाको कुराले म निकै भावुक बनेर उस्को मुहारतिर हेर्दा उस्का गालामा आसुको भल थियो । मैले अर्कोतिर फर्केर मेरा आसुका थोपा उसँग लुकाए ।
घनश्याम पौडेल
माइजोगमाई-१ नयाँबजार ,इलाम


















































